गृहपृष्ठ » देवदह विशेषएसिड आक्रमणमा परेकी दिदिलाई न्याय दिलाउँ ।

एसिड आक्रमणमा परेकी दिदिलाई न्याय दिलाउँ ।

August 13, 2015३०१ पटक

साइप्रस बाट नेपाली चेलिको अनुरोध 11846486_512331458930913_708614696_nसुसान आचार्य /उज्यालो लालटिन मलेसिया
साउन २६
याङ्की हेल्मो साइप्रस
मेरो नाम याङ्की हेल्मो हो। उमेर ३५ बर्षको भयो। पुर्खौली घर चाहिँ सिन्धुपलाञ्चोक छिमी हो। तर, जन्म काठमाडौमा। मेरा आमाबाबा हाल क्यानाडामा हुनुहुन्छ। सम्पन्न परिवारमा मेरो जन्म भए पनि आफ्नो उदेश्य र सपनाले गर्दा म सधैं आफैँ आफ्नो खुट्टामा उभिन चाहान्थें। आफ्नो पहिचान आफैँ बनाउँन चाहान्थें। केही गरेर देखाउने सपना थियो । त्यही सपना बोकेर बि.सं.०५१ तिर विदेश पलायन भएँ।

सबैजनालाई एउटा उदेश्य र सपना बोकेको बिदेशिएको मेरो कथा र विदेशले परिबर्तन गराएको मेरो उदेश्य र सपनाको कथा ब्यक्त गर्न चाहान्छु।
बैदेशिक यात्रा मेरो हङ्कङ्बाट शुरु भयो। त्यहाँ घरेलु काम शुरु गरें। एक बृद्द आमालाई हेरचाह गर्नुपर्ने काम थियो। जिन्दगीमा मेरो उदेश्य पैसा कमाउनु मात्र थिएन, त्यसैले मन मानेन ।

घरबाट बिस्तारै बाहिर निस्कन शुरु गरें। नेपालीहरुसँग घुलमिल हुन थालें, भेट्न थालें। काम परिबर्तन गर्न उनीहरुलाई ठूलो समस्या रहेछ। बिस्तारै चिनजानका मान्छेहरु बनाउँदै, समस्यामा परेकाहरुलाई सहयोग गर्न शुरु गरें। नेपालीहरुको दुख सुखमा साथ दिने मौका मिल्दै गयो।

नयाँ अध्याय शुरु भयो। काम परिबर्तन गर्ने, सहयोग गर्ने काम गर्दागर्दै आखिर त्यतैतिर जागिर खाने अवसर मिल्यो। अफिसमा काम गर्न थालें। कहिलेकाहिँ काम बिशेषले चाइना पनि जानुपर्ने हुन्थ्यो। नेपालीहरुका कागजपत्र र कामले दिन बितेको पत्तो हुदैनथ्यो।

समस्याको समाधान हुँदा, धेरै नेपाली दिदीबहिनीहरु, दाजुभाइहरु खुशी हुन्थे। अरुको खुशीमा आफैलाई आनन्द लाग्थ्यो ,,विदेशको ४ बर्ष यात्रा टुङ्गाउँदै नेपाल फर्किएँ। जीवनले नयाँ मोड लियो। बिस्तारै आफुलाई पनि सम्हालें। बैबाहिक जीवनमा पनि बाँधिन पुगें। फेरि अर्को १२ बर्षसम्मको यात्रा स्वदेशमा नै बित्यो। बिस्तारै समय परिस्थितिसँगै विदेश आउने निर्णय लिएँ। केही समय अमेरिका जाने कोशिस गरें । तर, सफल भइँन।

जिन्दगीको गोरेटोले साईप्रसमा ल्याइपुर्यायो। यहाँ आएपछि पनि नेपाल र हङ्कङ् बस्दा आफुले सिकेका जिन्दगीका अनुभवहरु साट्ने कोशिस गरें। तर ६ महिना सम्म त घरबाट बाहिर कतै निस्कन मिलेन। एउटी बृद्द आमा र बाबालाई हेर्ने काम गर्थें। मैले हेर्ने आमालाई बिसन्चो भएका कारण पटक-पटक अस्पताल लैजानु पर्थ्यो । राम्रोसँग हेरचार गरेको देखेर मलाई उनीहरुले साह्रै मन पराए।

उनीहरु मजस्तै कामदारको माग गर्थे, जसले मलाई धेरै नै खुशी बनाउथ्यो। कता कता काम गर्दाको सन्तुष्टि जस्तो पनि। तर, ती आमाको केही समयपछि देहान्त भयो। त्यसपछि एक्ला बृद्द बाबाको हेरेचार गर्दै अहिलेसम्म सोही काम गर्दै आएकी छु। उहाँले मलाई छोरीजस्तै ब्यवहार गर्नुहुन्छ।

काम गरेको ७ महिनापछि म एक दिन साइप्रसको पाफोसको सितापार्क भन्ने ठाँउमा पुगें। त्यहाँ मैले पहिलोपटक नेपालीहरुसँग भेट्ने मौका पाएँ। दुख सुख साट्ने मौका पाएँ।

उनीहरुसँग भेट हुँदा नेपाल नै पुगेजस्तो अनुभव भयो। मन खुशी भयो, प्रफुल्ल भयो। तर, उनीहरुको दुख पीडा सुन्दा मन रोएर आउँछ। आँखाबाट आँशुका धाराहरु बग्दछन् । निद्रा लाग्दैन। मन भक्कानिन्छ।

यहाँका दिदी बहिनीहरुको घरमा काम गर्नुपर्ने हुँदा प्राय जसो दुर्ब्यवहारको चपेटामा परेका छन्। घरेलु हिँसाबाट पीडित थुप्रै महिलाहरुले मलाई पटकपटक सम्पर्क गर्नुहुन्छ। कतिपयलाई उद्धार गरेर राम्रो ठाँउमा काम लगाइदिने मेरो कोशिस सदैब रहन्छ। तर, नेपाली संघ संस्थाहरुले यसमा अझ बढी चासो दिन जरुरी छ। उनीहरुको पीडालाई बुझ्न जरुरी छ। जरैदेखि समस्याको समाधान गर्न सम्बन्धित निकायले चासो राख्न जरुरी छ।

आजभोलि कसैलाई पीडा परेमा एक चेलीको नाताले दिदी बहिनीहरुले मलाई फोन गर्नु हुन्छ। सम्बन्धित निकायभन्दा पनि पहिले आफुलाई घटनाबारे जानकारी दिँदा दिन प्रतिदिन जिम्मेबारी बढेको महसुस गर्छु। तर, यहाँ पीडालाई सरकारी निकायले बुझ्न जरुरी छ।

पछिल्लो क्रममा एक एसिड आक्रमणमा पर्नुभएकी नेपाली चेली सीता भट्टराईको पीडाले साह्रै दुखित बनायो। उहाँ एक महिनादेखि अहिले पनि मसँगै हुनुहुन्छ। स्थानीय पुलिसमा उजुरी दिएकी दिदीलाई पुलिसले पटक-पटक बयानका लागि बोलाइराखेको छ। खुट्टाको ड्रेसिंङ्ग गर्न दिन बिराएर अस्पताल लिएर जानुपर्छ। यसमा मेरो पूर्ण साथ रहेको छ।

तर, दिदीलाई उहाँको पीडामा साथ दिन कति नेपाली एकजुट हुन सक्यौं ? यो दिदीको मात्र पीडा होइन, हामी सबै नेपाली चेलीहरुको पीडा हो। होला, कसैलाई राम्रो घर परेर समस्यामा हुनु हुन्न, तर कसैलाई समस्या परेको छ भने त्यसमा सबै मिलेर साथ दिन जरुरी छ।

घर साहुले जानाजान खुट्टामा एसिड पार्दै घाइते बन्नुभएकी चेलीको पीडामा म आफु पनि धेरैपटक रोएकी छु। उहाँको आफ्नो परिबार छ। आफन्त छन्। उहाँलाई न्याय दिलाउन सम्बन्धित ठाँउहरुमा ढोका ढक्ढकाएका छौ। तर, अझै न्यायको लडाइँ लडिरहनुभएको छ। यसमा तपाई हाम्रो साथको जरुरी छ। मायाको खाँचो छ। घटनालाई मोडेर टीका टिप्पणी होइन, सबैको एक आबाज बनाएर लड्न जरुरी छ। दोषीलाई कडा कार्बाही गर्न जरुरी छ। ता कि अर्को नेपाली चेलीलाई कसैले यस्तै दुर्ब्यबार गर्न नसकोस्

तर, यहाँ स्थित नेपाली संघ संस्थाहरु र सम्बन्धित निकाय उहाँको साथमा एकजुट नहुँदा, उहाँको न्यायको लडाइँमा साथ नदिँदा र खासै पहल नगरिदिँदा मन दुखेको छ। चेलीका साथमा एउटी चेलीको साथ भन्दा ठूलो, संस्थागत साथ ठूलो हुन सक्थ्यो। यसलाई साइप्रसको नेपाली समुदायले सोच्न जरुरी छ । बुझ्न जरुरी छ भन्दै उहाले उद्दार को लागि पहल गरिदिन आम नेपाली हरुमा अनुरोध गर्नु भएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण