गृहपृष्ठ » अार्थिकमुलुकमा सामाजिक सुरक्षा सेवा लिनेको सङ्ख्या तीस लाखभन्दा बढी

मुलुकमा सामाजिक सुरक्षा सेवा लिनेको सङ्ख्या तीस लाखभन्दा बढी

August 14, 2015२८७ पटक

Moneyकाठमाडौं, २९ साउन । आर्थिक वर्ष २०७१/७२ मा सामाजिक सुरक्षा कार्यक्रमको सेवा लिनेको सङ्ख्या ३० लाख ६८ हजार १०० रहेका छन् ।

गरिबी न्यूनीकरण गर्ने, बेरोजगारी, सामाजिक बहिष्करण, रोग ब्याधि, अपाङ्गता तथा वृद्धावस्थाका कारण नागरिकसामु आर्थिक तथा सामाजिक रुपमा उत्पन्न जोखिम व्यवस्थापन गर्न सघाउ पुर्याउने उद्देश्यले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको पञ्जीकरण विभागका निर्देशक शालिग्राम रिजालले जानकारी दिए ।

moneyउनले भने, ‘पहिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पञ्जीकरण शाखाबाट सामाजिक सुरक्षाभत्ता वितरण गथ्र्यौँ । गत वर्षदेखि छुट्टै विभाग बनाएर वितरण गरेका छौँ ।’

आव २०७१/७२ मा ६० वर्ष नाघेका दलित र कर्णालीका दुई लाख ६२ हजार ४८९ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् । सत्तरी वर्ष नाघेका सामाजिक भत्ता लिनेमा छ लाख ८९ हजार ५८६ जना रहेका छन् । यस्तै, ७० वर्ष नाघेका आठ लाख ८३ हजार ४१६ ज्येष्ठ नागरिकले उपचार खर्च पाएका छन् ।

साठी वर्ष नाघेका एकल महिलामा दुई लाख ३१ हजार ३५२ रहेका छन् भने चार लाख १५ हजार २५३ विधवा महिलाले सुरक्षा भत्ता लिएका छन् । लोपोन्मुख आदिवासी २२ हजार २५६ तथा पूर्ण अपाङ्गता भएका रातो कार्ड प्राप्त २७ हजार २०३ जनाले पनि यो सुविधा लिएका छन् ।

दलित तथा कर्णाली क्षेत्रका पाँच वर्षमुनिका पाँच लाख सात हजार ७१८ एकल आमाका दुई सन्तानसम्मले सेवा लिएका छन् । यस्तै २८ हजार ८२७ निलो कार्ड लिएका अपाङ्गले पनि यो सेवा पाएका छन् ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारका पालामा वृद्धवृद्वा भत्ताका रुपमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । पछि नयाँ कार्यक्रम थप गरिएको निर्देशक रिजाल बताउँछन् ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि आव २०७१/७२ मा १२ अर्ब ५७ करोड ३४ लाख ८१ हजार ३६० रकम विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भत्ताका नाममा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई ५०० र ६० वर्ष नाघेका दलित, एकल तथा कर्णाली अञ्चलका बासिन्दा तथा जुनसुकै उमेरका एकल महिलालाई पाँच/पाँच सय, पूर्ण अशक्त अपाङ्ग र लोपोन्मुख आदिवासी जनजातिलाई एक/एक हजार, अति अशक्त अपाङ्गलाई ३०० तथा कर्णाली तथा दलित परिवारका पाँच वर्षमुनिका बालबालिकालाई २०० प्रदान गर्दै आएको उनले बताए ।

सामाजिक सुरक्षा भत्ताका नाममा यो आवदेखि ७० वर्ष उमेर नाघेका वृद्धको उपचार खर्च २०० बाट बढाएर ५०० पुर्याइएको विभागका शाखा अधिकृत हेमकुमार अधिकारीले बताए । उनले सामाजिक सुरक्षा भत्ताका लागि योग्य नागरिकले चालु आवको साउन १ गतेदेखि मङ्सिर १५ गतेसम्म नाम दर्ता गर्न सकिने र नवीकरण सम्बन्धित गाविस र नगरपालिकाबाट गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धित गाविस र नगरपालिका प्रतिनिधिबाट प्रथम चौमासिक असोज १, दोस्रो चौमासिक माघ १२ र तेस्रो चौमासिक जेठ १५ मा प्रदान गर्दै आएको अधिकारी बताउँछन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण