भारतीय दूतावास अगााडि कालो झण्डा प्रदर्शन
काठमाण्डु, ३० साउन–ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावास अगाडि कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरेको छ ।
शनिबार भारतले ६९ औं स्वतन्त्रता दिवस मनाइरहेका बेलामा ग्रेटर नेपालले लिपुलेक संझौता खारेज हुनुपर्ने र सन् १९४७ अगष्ट १५ पछि भारतको अधीनमा रहेको सुगौली सन्धि पूर्वको नेपाली भूभागको स्वतन्त्रता हुनुपर्ने माग गर्दै कालो झण्डा प्रर्दशन गरेको हो ।
दूताबासभित्र भारतको ६९ औं स्वतन्त्रता दिवस मनाइरहँदा दूताबासको पूर्वी ढोका अगाडि ग्रेटर नेपालका कार्यकर्ता र समर्थकहरु नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर दूताबासको मुख्यद्धारमा कालो झण्डा देखाउन खाजेपनि प्रहरीले ग्रेटर नेपालका कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
मोर्चाले बिरोध गरीरहेका बेला उपराष्ट्रपति परमानन्द झालगायत नेपाल सरकारका मन्त्रीहरु र पार्टीका नेताहरु दूताबासबाट बाहिर निस्केका थिए ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा लैनचौरको खानी तथा भूगर्भ विभाग अगाडिबाट सुरु भएको जुलुस नारा लगाउँदै दूतावास अगाडि पूगेको थियो ।
कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँदा नेपाली भूभाग पनि स्वतन्त्र भएको हेक्का नराख्नु लाजमर्दाे कुरा भएको बताए । उनले भारत बिशाल भएता पनि नेपाली जनता भारतीय बिस्तारवाद विरुद्ध लडिरहने बताए ।