गृहपृष्ठ » समाचारहरुकार्यकर्ता हत्याको आरोपमा काँग्रेस नेता पक्राउ

कार्यकर्ता हत्याको आरोपमा काँग्रेस नेता पक्राउ

August 15, 2015१९० पटक

कास्की, ३० साउन– प्रहरीले काँग्रेसका स्थानीय नेता रामजी पौडेल ‘बादल’ हत्यामा संलग्न रहेको आरोपमा काँग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरेको छ ।

 

rajendra mani lamichhane

पौडेलका परिवारको किटानी जाहेरीका आधारमा लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए ।
लामिछानेको निर्देशनमा पोडेलको हत्या भएको दाबी परिवारको छ । हत्यामा संलग्न रहेको आशंकामा काँग्रेस लेखनाथ–१६ का इकाई सभापति राजु रानाभाटलाई शुक्रबारै पक्राउ गरेको थियो ।
लेखनाथ–१२ गगनगौडाका स्थायी बासिन्दा पोडेलको शव शुक्रबार बिहान घरदेखि केहीपर पृथ्वी राजमार्गमुनि भीरमा फेला परेको थियो ।
हत्यामा संलग्न रहेको आरोप लागेका तरुण दल नेता विश्वास गौतम र दिनेश केसी तथा काँग्रेस सम्वद्ध जनजाति संगठनका कास्की नगर सभापति प्रकाश गुरुङ फरार छन् । उनीहरुको खोजी भइरहेको एपसी पालले बताए ।
काँग्रेसको लेखनाथ नगर अधिवेशन नजिँकिँदै गर्दा वरिष्ठ नेता शेरबहादुर देउवा निकट सभापतिका उम्मेदवार पौडेलको प्रधानमन्त्रीसमेत रहेका सभापति सुशील कोइराला समर्थकद्वारा हत्या भएको हो ।
यसैबीच काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले हत्यामा संलग्न र योजनाकार कसैलाई नछाडिने चेतावनी दिएका छन् । पौडेलप्रति अन्तिम श्रद्धाञ्जली दिएपछि देउवाले हत्याराले उन्मुक्ति नपाउने बताए ।
देउवाले पौडेलको हत्याबाट आफ्नो दाहिने हात भाँचिएको टिप्पणी गरे । ‘पार्टी कामप्रति कर्तव्यनिष्ठ र इमान्दार कार्यकर्ताको हत्याले काँग्रेसलाई ठूलो क्षति भएको छ’, देउवाले भने, ‘मेरो त झन् दाहिने हात नै भाँचिएको छ ।’
उनले बादलको हत्याले आफू मर्माहत भएको बताए । काँग्रेस महामन्त्री एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले पनि हत्यारालाई कुनै हालतमा उन्मुक्ति नदिइने उल्लेख गरे ।
देउवा र सिंहले मृतक पौडेलका परिवारलाई गगनगौडास्थित निवासमा पुगेर सान्त्वना दिएका थिए । यसैबीच पौडेलको शनिबार अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण