सीमांकनको विरोधमा बन्द, देशभरको जनजीवन प्रभावित
३१ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । बन्दकर्ताले बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् ।
सडकमा निजी मोटरसाइकल निकै कम चलेका छन् ।
जबरजस्ती बन्दै गराउँदै हिडेका बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटी बल्खु क्षेत्रबाट १४ जना, कोटेश्वरबाट ६ जना र रत्नपार्क क्षेत्रबाट ५ जना पक्राउ परेका छन् ।
बन्दका कारण देशका विभिन्न स्थानको जनजीजन प्रभावित भएको छ ।
सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले आज र भोलि बन्द आह्वान गरेका छन् ।
तराईका जिल्लाहरुमा भने दोहोरो बन्द परेको छ । थरुहट तराई संघर्ष समितिले एक हप्तादेखि लगातार बन्द गर्दै आएको छ । लगातारको बन्दले थारु बाहुल्यता रहेको कैलाली, बाँके, बर्दिया, नवलपरासी लगायतको जनजीवन कष्टकर बनेको छ ।