आशंकित राष्ट्रपति, दृढ दलहरु
काठमाडौं, साउन ३१ – संविधानको मस्यौदालेखन अन्तिम चरणमा पुगेका बेला राष्ट्रपति डा. रामवरण यादवले आफू नयाँ संविधानमा हस्ताक्षर गर्न तयार रहेको प्रतिवद्दता जनाए पनि जनताको चासो र चिन्ताको सम्बोधन हुनुपर्ने स्पष्ट पारेका छन् । चार दलका शीर्ष नेताहरुलाई शनिबार साँझ डिनरमा बोलाएका राष्ट्रपतिले नयाँ संविधानमा जनताका माग सम्बोधन हुनुपर्ने उल्लेख गरेका हुन् ।
उनले नेताहरुसँग भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘म संविधानमा हस्ताक्षर गर्छु तर जनताको माग सम्बोधन हुनुपर्छ ।’ राष्ट्रपतिले तपाईंहरुले ल्याएमा म खाली पेपरमा पनि हस्ताक्षर गर्न तयार छु तर, जनताको मागमा के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिलाई भने,‘तपाईं नयाँ संविधानमा हस्ताक्षर गर्न तयार भएर बस्नुहोस् । हस्ताक्षरका लागि चाडै संविधान शीतलनिवास आउँदैछ ।’
राष्ट्रपतिले फेरि ओलीलाई सम्झाए,‘मलाई हस्ताक्षर गर्न गाह्रो छैन, तर तपाईंहरु मेरो ठाउँमा बसेर हेर्नुहोस् ।’ तत्कालै एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले धेरै कुरा त्यागेर भए पनि मुलुकलाई निकास दिन संविधान जारी गर्न सहमति गरेको भन्दै छिट्टै संविधान जारी हुने बताए , आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।