गृहपृष्ठ » मुख्य समाचार, समचार, समाचारहरुनेपालको विशिष्ट धार्मिक धरोहर : त्रिवेणी धाम

नेपालको विशिष्ट धार्मिक धरोहर : त्रिवेणी धाम

July 22, 2016४८३ पटक
डा. ध्रुवप्रसाद भट्टराई

डा. ध्रुवप्रसाद भट्टराई

विषय प्रवेश
नेपालमा अनेकौँ धर्मावलम्वीहरू रहेका भए पनि हिन्दु धर्मावलम्वीहरूको अत्यधिक वर्चस्व रहेको छ । वि. सं. २०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु, ९.० प्रतिशत बौद्ध, ४.४ प्रतिशत इस्लाम ३.१ प्रतिशत किराँत, १.४ प्रतिशत क्रिस्चियन र ०.९ प्रतिशत अन्य धर्मावलम्वी रहेका छन् । जनगणनामा हिन्दु, बौद्ध र किराँतलाई अलग धर्ममा राखिए पनि यिनीहरूका बिच अत्यन्त नजिकको सम्बन्ध छ र उदभव र विकासमा नेपाली माटोको सुगन्ध छ । यिनीहरूलाई जोड्दा ९३.४ प्रतिशत नेपाली हिन्दु धर्मभन्दा टाढा छैनन् । यिनलाई प्रायः विद्वान्हरू एकै मूलका मान्छन् । यिनीहरू नदी तथा तलाउसँग आत्मैदेखि प्रेम भावको सम्बन्ध राख्छन् । यी तलाउ तथा नदीलाई शान्तिको विशिष्ट अनुभूति र पवित्र भावनाको निर्माणमा सहयोगी मान्छन् । यही शान्तिको विशिष्ट अनुभूति दिने र पवित्र भावनाको निर्माणमा सहयोगी मानिने नदीमध्ये काली गण्डकी एक हो । काली गण्डकीमा भगवान् नारायण शालग्रामका रूपमा रहनु भएकाले यस नदीलाई नारायणी नदी पनि भनिन्छ । यसै गण्डकी÷नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको सङ्गमले बनेको पवित्र त्रिवेणी धाम नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता गा. वि. स.को वडा नं.२ मा अवस्थित छ । यहीँ आदिकवि वाल्मीकि आश्रम, गजेन्द्र र गोहीको युद्धमा भक्तवत्सल नारायणले गजेन्द्रलाई रक्षा गरेको गजेन्द्रमोक्ष धाम लगायतका अनेकौँ महत्त्वपूर्ण तीर्थस्थल रहेकाले यो स्थल नेपाल, भारतलगायत विश्वका करोडौँ हिन्दुहरूको आस्थाको प्रतीकका रूपमा रहँदै आएको छ । यो क्षेत्र नेपाल र भारतको सीमानामा पर्ने भएकाले नेपाल र भारत दुवैतर्फका भक्तजन आउन पाइक पर्ने स्थानमा छ । यहाँ आउनका लागि परासीबाट र पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट त्रिवेणीसम्म नै सडकको व्यवस्था छ भने परासीको पश्चिम क्षेत्रबाट आउन विभिन्न मार्ग छन् । भारतको भैँसालोटनबाट गण्डक बाँध हुँदै त्रिवेणी आउन सकिन्छ । 

२नेपालकै विशिष्ट धार्मिक स्थलका रूपमा त्रिवेणी धाम
नेपालका अत्यन्त महत्त्वपूर्ण धार्मिक स्थलमध्ये त्रिवेणी धाम एक हो । यसलाई हरिहर क्षेत्र पनि भनिन्छ (खनाल, २०५५ ः ९६) । यस स्थानमा स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको सङ्गम रहेकाले यस स्थानलाई त्रिवेणी भनिएको हो । यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिएको पाइन्छ (गिरी, २०५९ ः ७२) । यो क्षेत्र त्रिकुट पर्वतको बिच भागमा अवस्थित छ । यी त्रिकुटमध्ये एउटा पर्वत स्वर्णस्वरूप, अर्को पर्वत ताम्रस्वरूप र अर्को लोह्यस्वरूपको मानिन्छ । त्यसैले स्वर्णस्वरूप पर्वतको काखबाट बहने नदीलाई स्वर्णभद्रा, ताम्रस्वरूप पर्वतको काखबाट बहने नदीलाई पूर्णभद्रा वा तमसा र लोह्यस्वरूप पर्वतको काखबाट बहने नदीलाई कृष्ण गण्डकी÷नारायणी नदी मानिन्छ (स्वामी कृष्णानन्दजी महाराज गजेन्द्रमोक्ष धाम) । त्यस पर्वतको प्रभाव त्यहाँको माटो र पानीमा पनि देख्न सकिन्छ । यसरी पर्वतका सन्दर्भबाट पनि यो क्षेत्र त्रिवेणी बन्न पुगेको छ । यसै गरी यो स्थल गण्डकी÷नारायणी जस्तो पवित्र नदी, शालग्राम पाइने स्थल र त्रिवेणीसमेत भएकाले धार्मिक उपलब्धिका हिसाबले पनि अपूर्व त्रिवेणी बनेको छ । यहीँ आदिकवि वाल्मीकिको पवित्र आध्यात्मिक धाम, गज र ग्राहको युद्धमा गजराजलाई भगवान् विष्णुले उद्धार गरेको दिव्य गजेन्द्रमोक्ष धाम र त्रिवेणी धाम पनि भएकाले यो क्षेत्र धामका दृष्टिले पनि त्रिवेणी बन्न पुगेको छ । यसै क्षेत्रमा शिलास्वरूपमा सबै भक्तजनलाई सबै प्रकारका दुख कष्टबाट मुक्ति दिलाउने शालग्राम भगवान् रहनु हुन्छ । त्यसैले यस क्षेत्रलाई मुक्तिक्षेत्र पनि भनिन्छ । मुक्तिनाथ भगवान् विष्णुको शिर दामोदर कुण्डलाई र चरणारविन्द सिद्धाश्रम हरिहर क्षेत्रलाई मानिन्छ (भट्टराई, २०६९ : ११) । त्यसैले यस क्षेत्रलाई मुक्तिनाथ भगवान् विष्णुको चरणारविन्द मानिन्छ । यस्तै यस क्षेत्रमा चारवटा शिवजीको मन्दिरको संयोग पनि परेको छ । यस्तो संयोग जुट्नुलाई चतुर्वर्गफल प्राप्तिको आधार मानिन्छ । यहाँ रहेका शिवका वासस्थान र यसको फलका सम्बन्धमा भनिएको छ।

नेपाले भक्तेश्वरदेवो सीतावने वाल्मीकीश्वरः
चम्पारणे जटेश्वरदेवो सङ्गमे च कमलेश्वरः ।
यत्र शम्भो चत्वारो चत्वारो मध्ये च सङ्गमः
चत्वारो फलमाप्नोति सत्यं सत्यं न संशयः ।

यसरी भक्तेश्वर, वाल्मीकिश्वर, कमलेश्वर र जटेश्वर महादेवको सङ्गम रहेकाले यहाँ भ्रमण गर्नाले धर्म, अर्थ, काम र मोक्ष गरी चारै प्रकारको फल पाउने कुरामा कुनै शङ्का नभएको बताइएको छ । यस त्रिवेणी धामलाई आधार बनाएर स्थापित भएका वाल्मीकि आश्रम, गजेन्द्रमोक्ष धाम, जटेश्वर महादेव, केवलानी देवी, राधाकृष्ण मन्दिर, नागाबाबा कुटी, बालपुरी आश्रम, रामजानकी मन्दिर, लक्ष्मी वैँकटेश मन्दिर, कोटीहोम, थारुकी आराध्यदेवी नरदेवी, हिन्दु तथा मुसलमान दुबैको आराध्य स्थल मदार बाबा लगायत अनेकौँ देवदेवीका मन्दिरले गर्दा यो क्षेत्र विशाल धार्मिक क्षेत्र बन्न पुगेको छ । त्यसैले यस धाममा पहिलेदेखि नै नेपाल र भारतका दर्शनार्थीहरूको घुइँचो लाग्छ । यो सधैँ पवित्र र इच्छित फल दिने क्षेत्र हो । यहाँ विशेष पर्वमा ठुलो मेला लाग्ने गर्छ । ती मेलामा माघे औँसी, श्रावण महिना, कार्तिकको हरिबोधनी एकादशी र चैतीवारनी प्रमुख छन् (पाण्डे, २०६५ ः ४८) । यस क्षेत्रमा लाग्ने मेलामध्ये माघे औँसीका दिन लाग्ने मेला सबैभन्दा ठुलो मेला हो । माघे औँसीमा स्नान गर्नका लागि भक्तहरू कृष्ण प्रतिपदादेखि नै कल्पवास बस्ने र औँसीका दिन स्नान र पूजा गरेर उनीहरूले व्रतको समापन गर्ने गर्दछन् । कल्पवास बस्न नसक्ने वा नभ्याउनेहरूको एकादशीदेखि मेलाका लागि ठुलो भिड लाग्ने गर्छ । यसै गरी यस क्षेत्रमा चार शिव मन्दिरको संयोग परेकाले साउन महिनामा शिवजीलाई जल चढाई पूजा गर्ने भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । साउन महिनाका आइतबारका दिन यहाँ आउने रातभर जाग्राम बस्ने र बिहान स्नान गरी जल लिई नेपाल तथा भारतका विभिन्न शिव मन्दिरमा जल चढाउन जाने र अन्य पवित्र स्थलबाट ल्याएको जल यहाँका शिव मन्दिरमा चढाउने चलन छ । यहाँबाट बढीमात्रामा नेपालको रुपन्देहीमा स्थित पर्रोहा मन्दिर र भारतको इटहियामा रहेको शिव मन्दिरमा जल चढाउन जल लिन आउनेको घुइँचो लाग्ने गरेको छ । यसै गरी यहाँ कात्र्तिक महिनाको हरिबोधनी एकादशीका दिन मेला लाग्ने गर्दछ । यस समयमा गाजाबाजाका साथ भजनकीर्तन गर्दै त्रिवेणी धामको परिक्रमा गरी यो पर्व मनाउने गरिएको छ । यस्तै यस स्थानमा चैत महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा भगवान् विष्णुले वराह अवतार लिई डुबेको पृथ्वीलाई माथि ल्याई समग्र प्राणीको रक्षा गरेको दिनको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । यस मेलालाई चैतीबारनी मेला भनिन्छ । यस समयमा यहाँ आई स्नान गरेमा मानिसले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश हुन्छन् भन्ने विश्वास भक्तजनमा रहेको पाइन्छ । यी विभिन्न सन्दर्भले त्रिवेणी धाम नेपालकै विशिष्ट धार्मिक स्थल हो भन्ने देखिन्छ ।

 ३ त्रिवेणी धामका प्रमुख धार्मिक आधारहरू
           ३.१ गण्डकी÷नारायणी नदी
गण्डकी नदीको सङ्गमले बनेको त्रिवेणी धाम नेपालकै विशिष्ट धार्मिक स्थल हो । यस नदीको मुहान मुक्तिक्षेत्र हो । यसको प्रमाण प्रत्यक्ष अवलोकन र विभिन्न पुराणमा आएको वर्णन हो । यस नदीको उत्पत्तिका सम्बन्धमा वराह पुराणमा बताइए अनुसार ‘‘प्राचीन समयमा विष्णु भगवान्ले लोक कल्याणको कामनाले देवताहरूद्वारा सेवित हिमालय पर्वतको रमणीय स्थलमा तपस्या गर्नुभयो । तपबाट एक तीव्र तेज प्रकट भयो । तेजको गर्मीले भगवान्का दुबै गालाबाट पसिनाको भल बग्यो । त्यही भलबाट सबै प्राणीको पाप नास गर्ने दिव्य नदी बगिन । यिनै भगवान् विष्णुको गण्ड अर्थात् गालाबाट उत्पत्ति भएकाले यस नदीलाई गण्डकी भनिन्छ्’’ (भट्टराई, २०६९ ः ७) । गण्डकी उत्पत्ति भएको यस घटनाले सबै दिशामा बस्ने देवताहरू आश्चर्यचकित हुनुभयो । उहाँहरूले विष्णुबाट गण्डकी उत्पत्ति हुनाको कारण ब्रह्मालाई सोध्नुभयो । ब्रह्माले पनि यसको रहस्य बताउन नसकेपछि सबै मिलेर शङ्कर कहाँ जानुभयो । शङ्करले ध्यानदृष्टिले गण्डकी उत्पत्ति भएको ठाउँ र यसको रहस्य पत्ता लगाई देवताहरूलाई लिएर विष्णुले तपस्या गरेको ठाउँमा जानुभयो । विष्णुसँग यस ठाउँमा यस नदीको उत्पत्तिको कारण सोद्धा विष्णुले हजुरको सामीप्य र लोककल्याणका लागि नदीका रूपमा आफू यस स्थानमा प्रकट भएको बताउनुभयो । तब शङ्कर भगवान्ले पनि लोककल्याणका लागि विष्णुले यस क्षेत्रलाई रोजेपछि ब्रह्मासहित हामी समस्त देवगण पनि सधै यही क्षेत्रमा रहने बताउनुभयो । यसपछि मेरो सान्निध्यले यो क्षेत्र अवश्य मुक्तिक्षेत्र हुनेछ । यस क्षेत्रको जसले दर्शन गर्छ, त्यसको मुक्ति हुनेछ । त्यसमा पनि कार्तिक महिनाभरि जसले यस नदीमा स्नान गर्नेछ, त्यसका सकल पाप नास हुनेछन् भनी विष्णुले बताउनुभएको छ (भट्टराई, २०६९। ८—९) । यस्तै स्कन्द पुराणको हिमवत् खण्डमा बताइए अनुसार निलकूट हिमालको दक्षिणपट्टि अत्रि ऋषिको आश्रममा जलदेवी गौरीको बायाँ पाउको पैतालाबाट अति निर्मल पसिना खस्यो । सो पसिनाबाट बनेको तलाउमा गण्ड नामका ऋषिले स्नान गरी देवीको आराधना गरेकाले देवी प्रशन्न भई जहाँ जहाँ मेरो पसिनाको थोपा खस्नेछ त्यहाँ त्यहाँ छिटो हिँड्ने नदीको मूर्तिद्वारा सातओटा धारा भएर प्रकट हुनेछन् । तिनलाई तिमी मेरै मूर्ति जान । त्यहाँ तिमीले सबैभन्दा पहिले स्नान गरेको हुनाले हे मुनि ! ती नदीहरू तिम्रै नामबाट प्रसिद्ध हुनेछन् (योगी, २०७१ ः १९१—१९२) । यसैले हालसम्म पनि यिनै गण्ड ऋषिको नामबाट यस नदीको नाम गण्डकी रहन गएको हो भन्ने मानिन्छ । यिनै काली गण्डकीको दर्शन, स्पर्शन, स्नान वा आचमनले मात्र पनि सबै मनोवाञ्छित फल पाइनेमा सम्पूर्ण हिन्दु धर्मावलम्वी विश्वस्त छन् । हिमवत् खण्डमा बताइएअनुसार ‘‘जो मानिस एकचित्त भएर घरबाट गण्डकीमा स्नान गर्न प्रस्थान गर्छ र त्यहाँ स्नान गरेपछि त्यसले पाइलापाइलामा अश्वमेध यज्ञ गरेको फल प्राप्त गर्नेछ र सबै पापबाट मुक्त हुनेछ । त्यस्तै जसले गण्डकीमा श्राद्ध गर्नेछ, त्यो अक्षय हुनेछ र जसले यसको तिरमा जप, होम, पूजा, दान गर्नेछ त्यो सबै पापबाट मुक्त भएर परम गतिमा पुग्नेछ (योगी ः २०७१, १९२) ।’’  यस गण्डकी नदीका किनारमा प्रमुख १५ तीर्थस्थल रहेको वराह पुराण र स्कन्द पुराणमा उल्लेख गरिएको छ । स्कन्द पुराणका विभिन्न सन्दर्भ र वराह पुराणमा वराह र पृथ्वीको संवादमा बताइएअनुसार गण्डकी किनारका पवित्र तीर्थस्थलमा १ दामोदर कुण्ड (कृष्णा नदीको उद्गम स्थल), २. मुक्तिनाथ (गण्डकीको उद्गम स्थल) ३. कालीहृद÷कागवेनी (कृष्णा र गण्डकीको सङ्गम तथा कागभुसुन्डीको तपस्या स्थल), ४. जलेश्वर त्रिवेणी (गलेश्वर पुलहाश्रम), ५. सर्वायुध (सहस्रधारा खनियाघाट), ६. विद्याधर (मादिवेनी, जैमिनीघाट—ज्यामिरे), ७. गन्धर्व (गुङ्दीघाट पूर्तिघाट), ८. शङ्खप्रभ (सेदिविनी शिला), ९. रुरु (रुरु कन्याको जन्म, हृषिकेश भगवान्को प्रकट भएको तथा और्व ऋषिको तपस्या स्थल), १०. देवप्रभ (राम्दीहुँगी), ११. विल्लप्रभ (केलादी), १२. विष्णुपद (रामघाट), १३. देवह्रद (देवघाट), १४ सिद्धाश्रम (भूषणधाम साँढघाट) र १५ हरिहर क्षेत्र (गजेन्द्रमोक्ष धाम, वाल्मीकि आश्रम, त्रिवेणीधाम) रहेको बताइएको छ (भट्टराई, २०६९ ः ११) । यी दामोदर कुण्डदेखि हरिहर क्षेत्र (त्रिवेणी धाम) सम्मका १५ वटै तीर्थस्थलहरू नेपालमा पर्छन् तापनि हरिहर क्षेत्र नेपाल र भारतको सीमानामा रहेकाले दुबैतर्फ मानिएको छ । यो सम्पूर्ण क्षेत्र नै भगवान् मुक्तिनाथको विराट स्वरूप हो (बाबा ः ३४) । यस मुक्तिनाथ भगवान्को विराट स्वरूपको शिर तथा शिखा, दामोदर कुण्ड, मुखारविन्द, मुक्तिनाथ धाम, कण्ठ ः पितृतीर्थ कागवेनी धाम, वक्षस्थल चक्रशिला गलेश्वर धाम, नाभि, सहस्र धारा, कम्मर, रुरु क्षेत्र, घुँडा , देवघाट धाम र चरणारविन्द हरिहर क्षेत्र (गजेन्द्रमोक्ष धाम, त्रिवेणी धाम, वाल्मीकि आश्रम) सम्मलाई मानिन्छ । वराह पुराणमा बताइएअनुसार मुक्तिनाथ क्षेत्रदेखि हरिहर क्षेत्रसम्मको नदीको लम्बाइ १२ योजन अर्थात् ४८ कोस छ (भट्टराई, २०६९ । ९) ।

३.२ शालग्राम
अनेकौँ स्थानमा त्रिवेणी अर्थात् तिन नदीको सङ्गम परेको पाइए पनि तीमध्ये यस त्रिवेणी धाम विशिष्ट धाम हुनुको महत्त्वपूर्ण कारणहरूमा संसारमै शालग्राम पाइने एकमात्र नदी गण्डकी हुनु, यसै गण्डकीमा स्वर्णभद्रा र पूर्णभद्राको अपूर्व सङ्गम हुनु, आदिकवि वाल्मीकिको आश्रम र सीताले वाल्मीकि आश्रममै जीवनको अन्तिम समयमा आश्रय लिनु तथा गजेन्द्रमोक्षका क्रममा श्री नारायण भगवान्ले अवतार लिएको स्थान हुनु आदि रहेका छन् । शालग्राम यसै नदीमा प्रादुर्भाव भएको वर्णन विभिन्न पुराणहरूमा गरिएको छ । त्यसमध्ये वराह पुराणमा वर्णन भएअनुसार गण्डकीको प्रादुर्भाव भएपछि गण्डकीले दस हजार वर्षसम्म नदीमा झरेका पातमात्र खाएर, दिव्य सय वर्षसम्म वायु अर्थात् हावामात्र खाएर विष्णुको घोर तपस्या गरिन् । गण्डकीको यो तपस्याबाट अत्यन्त प्रशन्न भई विष्णुले गण्डकीलाई वर माग्न आग्रह गर्नुभयो । तब नदीले हात जोडेर नम्र भाषामा ‘‘यदि हजुर मेरो तपस्याबाट खुसी हुनुहुन्छ भने मेरो गर्भमा आई मेरो पुत्र बन्नुहोस्’’ भनी आग्रह गरिन् । गण्डकीको यो आग्रह सुनेर भगवान् विष्णु खुसी हुँदै गण्डकीलाई भन्नुभयो ः ‘‘हे गण्डकी ! मुक्तिनाथ क्षेत्रदेखि त्रिवेणी÷हरिहर क्षेत्रसम्मका तिम्रा तटमा आफ्ना भक्तको कामना पुरा गर्ने उद्देश्यले शालग्रामका रूपमा म रहनेछु । यस महाक्षेत्रमा म स्वयम् शिला रूपमा रहने हुनाले मेरो भक्त स्नानका लागि जान्छ भने उसका प्रत्येक पाइलामा अश्वमेध यज्ञ गरेको फल मिल्नेछ । मेरो सान्निध्यले तिमी पनि नदीहरूमा श्रेष्ठ नदी हुनेछौ । यसै गरी तिम्रो दर्शन, स्पर्श, स्नान, आचमन, डुबुल्की वा यीमध्ये कुनै एक गर्नेका मन, वचन र कर्मले जानअन्जानमा गरिएका सबै पाप नास हुनेछन् । यसैगरी तिम्रो तटमा विधानपूर्वक पित्रृको तर्पण गरेमा पितृहरूको पनि उद्धार हुनेछ र ऊ पनि मेरो प्रिय भई ब्रह्मलोक प्राप्त गर्नेछ भनी बताइएको छ (भट्टराई, २०६९ ः ९—११) । यसरी गण्डकी नदीमा नारायण भगवान् पुत्रका रूपमा शालग्राम शिलाका रूपमा रहनु भएकाले गण्डकी नदीको महत्त्व रहेको मानिन्छ । यिनै शालग्रामको महत्त्वलाई स्कन्द, ब्रह्मवैवर्त, पद्म पुराण आदिमा बताइएको छ । यी कृतिमा सम्पूर्ण तीर्थमा स्नान तथा श्राद्ध, सबै यज्ञ, विभिन्न व्रत, चारै वेदको पाठ, दान, विभिन्न देवताको पूजा गरेको लाभ एउटै मेरो शालग्रामको अर्चना गरेबाट प्राप्त हुन्छ र शालग्राम, तुलसी, शङ्ख तथा यीमध्ये कुनै एकको रक्षा गर्ने व्यक्ति मेरो सबैभन्दा प्रिय भक्त हुनेछ भनी बताइएको छ (भट्टराई, २०६९ ः ९—११) । शालग्राम पनि विभिन्न आकारप्रकारका, रङ्गका, विनाचक्रका र एकदेखि अनेकौँ चक्रका पाइने बताइएको छ । तिनीहरूले विभिन्न फल दिन्छन् । यी सबै शालग्राम पूजनीय छन्, तिनमा पनि अमला आकारका अति सूक्ष्म चक्र लक्ष्मीनारायण स्वरूपका भएकाले गृहस्थीका लागि परमपूज्य छन् । शालग्राममा परब्रह्म स्वरूप परमात्माको नित्य वास हुनाले शालग्रामलाई प्राणप्रतिष्ठा र विसर्जन गर्नुपर्दैन (भट्टराई, २०६९ ः ९—११) । ।

३.३ गजेन्द्रमोक्ष धाम
त्रिवेणी क्षेत्रलाई श्रीहरि भगवान् विष्णुको अवतारभूमि पनि मानिन्छ । यस अवतारभूमिलाई गजेन्द्रमोक्ष धामका नामले चिनिन्छ । यो भूमि त्रिवेणी सङ्गमदेखि २.५ किलोमिटर उत्तरमा अवस्थित छ । यस स्थानमा स्वयम् भगवान् विष्णु अवतरित भई आफ्नो भक्त हात्तीको संरक्षण गर्नु भएकाले यस क्षेत्रलाई भक्तजनहरू अत्यन्त श्रद्धा गर्छन् । भगवान् विष्णुले हात्तीको संरक्षण गरेको सन्दर्भको वर्णन श्रीमद् भागवत्देखि विभिन्न पुराणहरूमा पाइन्छ । तिनै पुराणलाई आधार बनाएर श्री मुक्तिनाथ बाबा (स्वामी कमलनयनाचार्य) ले आफ्नो ‘अमोघ सङ्कल्प’ नामक पुस्तिकामा यस घटनाका बारेमा यसरी वर्णन गर्नुभएको छ।  ‘‘प्राचीन कालमा नारायणीमा जलविहार गरिरहेका गजराज हात्तीलाई अकस्मात् ग्राह (गोही) ले खुट्टा तान्न थाल्यो । लामो समयसम्म छुट्ने प्रयास गर्दा पनि केही उपाय नलागेपछि पूर्व प्रारब्धअनुसार विपत्बाट मुक्त हुनका लागि भगवान्को स्तुति गर्न थाल्यो । आफ्ना आर्त भक्तको पुकार सुनी तत्काल गरुडवाहन श्रीनारायण भगवान् श्रीहरि अवतारका रूपमा प्रकट भई चक्रद्वारा गोहीको शिरच्छेदन गरेर गजेन्द्रको उद्धार गर्नुभएको थियो । गजेन्द्रलाई भगवान्ले मोक्ष दिनुभएकाले यस स्थानको नाम गजेन्द्रमोक्ष धाम हुन गएको हो । गज र ग्राहको युद्धभूमि भएकाले यसलाई गजग्राह पनि भन्ने गरेको पाइन्छ । अहिले पनि यहाँ हात्तीका पदअङ्कित चिह्नहरू एवम् गोहीका आकारका पत्थरहरू देख्न पाइन्छ (बाबा, २५) ।’’ यसरी शालग्राम धारिणी गण्डकी नदीको किनारमा अवस्थित गजेन्द्रमोक्ष धाम पौराणिक कालदेखि नै पवित्र भूमि रहेको मानिन्छ । यो भूमि गण्डकी÷नारायणी, सोना र पञ्चा नदीको सङ्गमभूमि, महर्षि वाल्मीकिको तपोभूमि र लवकुशको जन्मभूमिसमेत रहेकाले यहाँ पहिलेदेखि नै नेपाल र भारतका विभिन्न स्थानबाट आउने भक्तजनको पर्व विशेषमा भिड नै लाग्ने गरेको छ र अन्य समयमा पनि यसको दर्शनका लागि भक्तजन आउने गरेको देखिन्छ । नेपालमा यस प्रकारको धार्मिक दृष्टिले विशिष्ट महत्त्व राख्ने स्थल भए पनि यसको समुचित विकास र प्रचारप्रसार नभएको देखी स्वामी कमलनयनाचार्यले २०४८ सालदेखि मुक्तिनाथबाट ल्याइएको दीपबाट त्रिवेणी धाममा अखण्डदीप प्रज्वलन गरी यस क्षेत्रलाई विश्वकै हिन्दुहरूको आस्थाको केन्द्र बनाउने उद्देश्य राखेर यसको विकास र प्रचारप्रसारका लागि व्यवस्थित किसिमले काम गर्न थालेको देखिन्छ । यसको विकासका लागि त्रिवेणी धामको उत्तरतर्फ गजेन्द्रमोक्ष धामलाई आधार बनाएर लगभग चालिस विघाको क्षेत्रफलमा गुरुयोजना बनाई २०५६ सालदेखि अनेकौँ विकास निर्माणका कार्य गरिएका छन् । यस कार्यका लागि अनेकौँ यज्ञअनुष्ठान र भक्तजनको दानदातव्य स्वरूप प्राप्त सहयोगलाई आर्थिक स्रोत जुटाउने मुख्य आधार बनाइएको देखिन्छ । यसै सहयोगको रकमबाट गज र ग्राहको युद्ध भएको क्षेत्र र मन्दिरको परिसरमा रहेको गण्डकी नदीमा तटबन्ध र स्नानका लागि घाटको निर्माण गरिएको छ । यस्तै यहाँ श्रीगजेन्द्रमोक्षहरि भगवान्को पाँच तले मन्दिर, विशाल हवनकुण्ड, पूजामण्डप, २ हजारभन्दा बढी व्यक्ति अटाउन सक्ने श्रीसभाहल, धर्मशाला, गौशाला, बागबगैँचा, छात्रावास सहितको श्रीमुक्तिनाथपीठ वेदविद्याश्रम, सर्पदंश अस्पताल, नेपाल र भारतका विभिन्न तीर्थस्थलको जलले पूर्ण पित्तलको विशाल कलशको स्थापना तथा शीश महल निर्माण भएका छन् भने गजेन्द्रमोक्षनारायण भगवान्को विशाल मन्दिर, पुस्तकालय र योगाश्रम आदि निर्माणका चरणमा छन् । यसरी व्यवस्थित किसिमले भएका विकास निर्माणका कार्यले यो क्षेत्र नेपालको धार्मिक पर्यटनको लागि महत्त्वपूर्ण स्थान बनेको छ । यद्यपि यस धार्मिक स्थललाई हाल आएर चितवन राष्ट््िरय निकुञ्जभित्र राखिएकाले यहाँ विकास निर्माणका काम गर्न समस्या देखिएको छ । धार्मिक पर्यटनका दृष्टिले यो क्षेत्र परिचित र विकासको गति निकै अगाडि बढेकाले नेपाल सरकारले यस समस्याको समाधानका लागि समुचित ध्यान दिनु पर्ने देखिन्छ ।

३.४ वाल्मीकि आश्रम
वाल्मीकि आश्रम यस हरिहर÷त्रिवेणी क्षेत्रको महत्त्वपूर्ण स्थल हो । यो आश्रम त्रिवेणीबाट लगभग ४ किलोमिटर पूर्व दक्षिणतर्फ भारतको सीमा नजिकै चितवन जिल्लामा पर्छ । यही स्थलमा आदिकवि वाल्मीकि आश्रमको खण्डहर रहेको छ (खनाल, २०५५ । ९६) । यहीँ वाल्मीकिले आद्यकाव्य रामायणको रचना गरेको, सीताको दोस्रो पटकको वनवास यहीँ भएको, लव र कुशको जन्म तथा शिक्षादीक्षा पनि यहीँ भएकाले यो क्षेत्र पवित्र धार्मिक क्षेत्रका रूपमा रहेको छ । यहाँ हालसम्म पनि वाल्मीकि आश्रमका अवशेषका रूपमा वाल्मीकि आश्रमको खण्डहर, सीता पाताल प्रवेश गरेको स्थल, लव र कुशले रामचन्द्रको घोडा बाँधेको विशाल स्तम्भ, प्राचीन मूर्तिहरू, हवनकुण्ड, इनार, इटा लगायतका प्राचीन सामग्रीहरू यत्रतत्र विदीर्ण अवस्थामा र केही संरक्षित अवस्थामा रहेका छन् । यसैले यो स्थल वाल्मीकि आश्रम हो भन्नुमा कुनै मतमतान्तर रहेको देखिँदैन । प्राचीन कालदेखि नै यस क्षेत्रलाई धार्मिक क्षेत्र मानिँदै आएको छ । धार्मिक क्षेत्र मानिनुको मुख्य कारणमा यसै स्थलमा गजेन्द्रमोक्ष धाम रहेको, शालग्राम वाहिनी नदीका साथै त्रिवेणी रहेको र यसै त्रिवेणीलाई आधार बनाएर वाल्मीकि आश्रम रहेकोलाई मानिन्छ । यहाँ रहेको वाल्मीकि आश्रमका सम्बन्धमा एउटा जनश्रुति रहेको छ । जनश्रुति अनुसार ः लव र कुशले वाल्मीकि ऋषिको आश्रममा शिक्षा लिइरहेको अवस्थामा रामचन्द्रले अश्वमेध यज्ञका लागि छोडेको घोडा यहाँ पनि आइपुग्छ । आश्रमको शान्त वातावरण खलबलाएको भन्दै त्यस घोडालाई लव र कुशले बाँधिदिन्छन् । बालकको त्यो हर्कत देखेर घोडाको संरक्षणमा आएका लक्ष्मण, हनुमान् र अन्य सेनाहरूले त्यो घोडा छोड्न आग्रह गर्छन् तर लव र कुशले घोडाले आफ्नो आश्रमको शान्त वातावरण खल्बल्याएकाले बाँधिदिएको बताउँछन् । घोडालाई आफूले त्यसै नछोड्ने तर गल्ती भएको स्वीकार गरी माफी मागेमा घोडा छोडिदिने बताउँछन् । ती साना बालकको त्यो हर्कत देखेर लक्ष्मण रिसले चुर हुन्छन् । उनले घोडा छाड्न नभएर ती घोडा आफै फुकाएर लाने बताउँछन् । लक्ष्मणका घमण्डयुक्त कुरा सुनेर लव र कुशले घोडा नछोड्ने बरु आफूहरू लड्न तयार रहेको बताएपछि दुबै पक्षबिच घमासान युद्ध हुन्छ । युद्धमा लव र कुशले महान् वीरता प्रदर्शन गर्छन् । यो युद्धको कुरा सीताले थाहा पाउँछिन् । युुद्ध भएको स्थानमा आएर सीताले सम्झाएपछि मात्र घोडा छोडिदिन्छन् । यसरी वाल्मीकिको आश्रम र लव र कुशले वीरता प्रदर्शन गरेको क्षेत्रका रूपमा यसलाई लिइन्छ । त्यसैले यस क्षेत्रको भ्रमण अवलोकनका लागि वर्सेनी हजारौँ तीर्थयात्रीहरू आउने गरेका छन् ।  यो क्षेत्र ऐतिहासिक र पुरातात्त्विक दृष्टिले पनि महत्त्वपूर्ण छ । ऐतिहासिक दृष्टिअनुसार प्राचीन ब्राह्मण कालमा यो भूभाग कौशल राज्यअन्तर्गत रहेको थियो भने पछि पौराणिक कालमा यहाँको प्राचीन सदानिरा हाल नारायणी नामले परिचित नदी कौशल र विदेहको सीमानाबाट बग्न थालेपछि यो क्षेत्र विदेह वा मिथिला राज्यमा पर्न गयो । पछि ऐतिहासिक कालमा यो विदेह वा मिथिला राज्य तिरभुक्ति वा तिरहुत राज्यका नामले परिचित भयो । एघारौँ शताब्दीतिर तिरहुत राज्यको राजधानी हुने श्रेयः सिम्रौनगढले प्राप्त ग¥यो । यसै बिच इ.सं. १३२४ मा दिल्लीका सुल्तान गयासुद्दिन तुगलकले आक्रमण गरी सिम्रौनगढलाई तहसनहस पारेपछि यसको उत्तरी भेग अर्थात् हालको चितवन क्षेत्र सुनसान हुन पुग्यो । यहाँका वस्ती तथा मठमन्दिर उजाड हुँदै गए (खनाल, २०५५ ः ९६—१०८) । यसै क्रममा पन्ध्रौँ शताब्दीमा पूर्वमा विजयपुर र दक्षिणमा गोरखपुरसम्मको एरिया पाल्पाली सेन राजाको अधीनमा गएपछि यो प्रान्त पनि सेनराज्यकै मातहत रहन गयो (गिरी, २०५९ ः १३८) । पछि नेपालको एकीकरणका क्रममा पाल्पा राज्य नेपालमा समायोजन हुँदा यो क्षेत्र पनि स्वतः नेपालको अधीनस्थ हुन पुग्यो । नेपाल र ब्रिटिस युद्धपछिको सुगौली सन्धीअनुसार यो वाल्मीकि आश्रम नेपालको सीमानामा परेको छ र हाल यो चितवन जिल्लामा अवस्थित छ ।
यस वाल्मीकि आश्रममा रहेका मठमन्दिर, मूर्ति तथा वस्तुहरू पुरातात्त्विक दृष्टिले पनि महत्त्वपूर्ण छन् । यस आश्रमका हरेक वस्तु वा मूर्तिलाई धार्मिक आँखाले वाल्मीकि कालीन मान्ने गरिए पनि यी वस्तु वा मूर्ति विभिन्न कालखण्डका मानिन्छन् । प्राचीन अवशेषका रूपमा रहेका वाल्मीकि आश्रम मानिएको स्थान सामान्य जमिनभन्दा लगभग चार मिटर उचो र ३०० मिटर वर्गमिटरमा फैलिएको छ । यस ठाउँमा इँटा र पाषाणखण्डको सिलसिलाबद्ध खण्डहर निकै परपरसम्म फैलिएका छन् (खनाल, २०५५ ः ९९) । यहाँ रहेका इनार, लवकुशको जन्मस्थल मानिने ठाउँ, हवनकुण्ड, सीता पाताल प्रवेश गरेको स्थल, घोडा बाँधिएको खम्बा, मन्दिरको अवशेष, पाषाण स्तम्भहरू आदिको भग्नावशेषले यी वाल्मीकि कालीन रहेको देखाएका छन् तर यहाँबाट प्राप्त गरिएका हरिहर, चतुर्भुज विष्णु, महिषमर्दिनी देवी, गणेश, नवग्रह, हनुमान्, ६ वटा ससाना देवल, शिवलिङ्ग, वराह मन्दिर आदिलाई पुरातत्त्वविद् मोहनप्रसाद खनालले यिनीहरूमध्ये वराहको मूर्तिलाई चौथो शताब्दीको र अन्य प्रायः मूर्तिलाई बाह्रौँदेखि चौधौँ शताब्दीसम्मका भएको मानेका छन् (खनाल, २०५५ । ९९—१०८) । यहाँ हालसालै मण्डपाकारमा सिमेन्टको मन्दिर बनाइएको छ ।  यसरी यो वाल्मीकि आश्रमका प्राचीन कालका कतिपय संरचना कालकवलित भए पनि यहाँ मन्दिर निर्माण गर्ने र विभिन्न समयमा देवी देवताका मूर्ति राख्ने कार्य गरिएको देखिन्छ । यसले यस क्षेत्रको धार्मिक महत्त्वलाई दर्साउँछ । यस प्रकारको धार्मिक र पुरातात्त्विक महत्त्वको क्षेत्र भएर पनि यसको समुचित सम्बद्र्धन र प्रचार प्रसार हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको छ ।

४ निष्कर्ष
हरिहर क्षेत्रका नामले समेत परिचित त्रिवेणी धाम नेपालका विभिन्न धार्मिक स्थलमध्ये एक विशिष्ट स्थल हो । दामोदर कुण्डदेखि आएकी गण्डकी नदी शालग्राम वाहिनी नदी भएकाले अन्य नदीका तुलनामा यी नदी विशिष्ट छन् । देवघाटमा त्रिशुली नदीसँग मिलेपछि गण्डकीलाई नारायणी नदीका नामले पुकारिएको छ । यिनै नारायणी नदीमा स्वर्णभद्रा र पूर्णभद्रा नदीको सङ्गम भएर बनेको विशिष्ट धार्मिक क्षेत्र हो त्रिवेणी । यहीँ गज र ग्राहको युद्धमा शरणागत हुन आएको गजको उद्धार गर्न श्रीहरि विष्णुको अवतार भूमि गजेन्द्रमोक्ष धाम रहेको, महर्षि वाल्मीकिको तपस्थल, लव,कुशको जन्मभूमि तथा सीताको आश्रय स्थल समेत रहेकाले पनि यस स्थलको महिमा बढेको देखिन्छ । यसका अतिरिक्त अनेकौँ देवीदेवताले यसै त्रिवेणीलाई आधार बनाएर आश्रय लिएको मानिएकाले यो धाम नेपालकै विशिष्ट धार्मिक धरोहरका रूपमा रहेको छ । यहाँ विभिन्न समयमा नेपाल र भारतका हजारौँ तीर्थ यात्रीहरू मेला भर्न तथा भ्रमण अवलोकनका लागि आउने गरेका छन् । यसैले यस क्षेत्रको व्यवस्थित किसिमको विकास र यसको महत्त्वलाई प्रचार प्रसार गर्न सके यस क्षेत्रलाई नेपालको विशिष्ट धार्मिक पर्यटकीय स्थल बनाउन सकिन्छ ।

सन्दर्भ सामग्री सूची
खनाल, मोहनप्रसाद (२०५५), पश्चिम नेपालका मूर्ति र स्थापत्य, काठमाडौँ , नेपाल र एसियाली अनुसन्धान केन्द्र । गिरी, गितु (२०५९), लुम्बिनी अञ्चलका सांस्कृतिक पर्यटकीय स्थलहरू, भैरहवा, लुम्बिनी युवा ग्रामीण विकास समाज ।  ज्ञवाली, हिमलाल (२०७१ चैत्र ०७२वैसाख), नजिकबाट नवलपरासी, लाली गुराँस, वर्ष, ३६, अङ्क ः ५ पृ. ११५—११९ । पाण्डे, नारायणप्रसाद (२०६५), श्री त्रिवेणी धाम  एक परिचय, नवलपरासी सन्देश, वर्ष , , अङ्क ः १, पृ. ४८—४९ । बाबा, मुक्तिनाथ ( ? ), अमोघ सङ्कल्प, काठमाडौँ  अखण्डज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्र्स्ट ।  भट्टराई, इन्द्रप्रसाद (२०६९), गण्डकी शालग्राम महात्म्य (दो. सं.), नवलपरासी लक्ष्मीदेवी भट्टराई ।
योगी, नरहरिनाथ (२०७१), हिमवत् खण्ड (द्वि. संस्क.), काठमाडौँ  नई प्रकाशन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण