अमरेश सिंहलाई पार्टीबाट निष्काशन गर्न माग
आइतबार ३१ श्रावण, २०७२
धनगढी–नेपाली कांग्रेस कैलालीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सभासद अमरेशकुमार सिंहलाई पार्टीबाट निष्कासन गर्न माग गरेको छ । नेपाली कांग्रेस कैलालीका सचिव प्रकाशबहादुर बमले आइतबार विज्ञप्ति प्रकाशित गरी सभासद सिंहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै पार्टीबाट निष्काशन गर्न माग गरेका हुन्।
साउन २८ गते टिकापुरमा आयोजित आमसभामा सभासद सिंहले हतियार उठाउने र मधेसलाई नेपालबाट टुक्राउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरिएको हो । ‘सुदूरपश्चिमका जनताको भावना बिपरित सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ति दिने सभासद अमरेशकुमार सिंहलाई तत्काल सभासद पदबाट बर्खास्त गर्न तथा कांग्रेसको विधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरी साधारण सदस्यबाट समेत हटाउन कांग्रेस केन्द्रीय कार्यसमिति समक्ष जोडदार माग गर्दछौ,’ बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा कैलालीलगायत सुदूरपश्चिममा रहेको अभूतपुर्ब सामाजिक एकता र सद्भावमाथि प्रहार गर्ने र थारु तथा पहाडी समुदायबीचको न्यानो अन्तर सम्बन्ध खल्बल्याउने दुस्प्रयासका रुपमा सभासद सिंहको अभिव्यक्ति आएको उल्लेख गरिएको छ । समाज र राष्ट्र विरोधी अभिव्यक्ति दिने सिंहलाई नेपाल सरकारको कानून अनुसार कडा कारबाही गर्न बिज्ञप्तिमा माग गरिएको छ ।
