गृहपृष्ठ » अन्तर्वार्ताराजनीतिक दलको खोल ओढेर पत्रकारिता नगरौ

राजनीतिक दलको खोल ओढेर पत्रकारिता नगरौ

August 20, 2016२४४ पटक

प्रस्तुती : भूमिराज जोशी 

तपार्इंको पुरा परिचय पाउँ न ? 
नमस्कार म अर्जुन बि.क., मोफसलको लोकप्रिय अनलाईन उज्यालो लाल्टिन डटकमको प्रबन्ध निर्देशक । साथै म रेडियो देवदहमा पनि कार्यरत छु । जन्मघर पाल्पा, स्थायी बसोवास भन्नुपर्दा रुपन्देहीको देवदह, जसलाई हामीले भगवान गौतमबुद्धको मावली स्थल भनेर पनि चिन्ने गर्छौ ।

तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
म समाज परिवर्तन चाहने मान्छे, समाजलाई सचेत गराउन र लेखकिय माध्यमबाट पनि समाज परिवर्तनमा केही योगदान गर्न सकिन्छ कि भन्ने विचारले पनि मैले यो पेशा अंगालेको हुँ ।

कति समय भयो यस पेशामा लागेको ?
म पत्रकारिता पेशामा लागेको लगभग ६ वर्ष हुन लाग्यो । वि.सं २०६८ सालदेखि अहिले सम्म यो पेशामा निरन्तर लागिरहेको छु ।

 कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
मलाई मुख्यतया सामाजिक विटको पत्रकारिता गर्न मनपर्छ र सामाजिक विषयवस्तुमा कलम चलाउन पाउँदा मलाई एकदम आत्मसन्तुष्टि पनि मिल्ने गर्छ । त्यसबाहेक मनोरञ्जन, र राजनीतिक विषयबस्तुमा पनि कलम चलाउने गर्छु ।

पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ?
अब पत्रकारितामा सबै भन्दा ठुलो चुनौति भनेको आर्थिक नै हो । काम अनुसार दाम पाउन मुस्किल छ । काम अनुसारको दाम पाउनको लागि महिनौ कुर्नुपर्ने पनि हुन्छ । कहिलेकाही हाकिमहरुको भनाई सुन्नुपर्ने लेखेको समाचार पनि प्रकाशन प्रशारण नहुने, कुनै कुराको प्रर्दाफास ग¥र्यो भने समाचार हटाउन आदेश आउँछ । यस्ता अनेकौ किसिमका समस्या आउँछन् पत्रकारिता गर्दा ।

मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
छ धेरै समस्या छ । समस्या भन्ने हो भने हो भने बिम्व साप्ताहिक वेदनाको पोको विसाउने चौतारी वन्न सक्छ । एउटा मुख्य कुरा भन्नु पर्दा राजनीति नगर्ने हो भने पत्रकारिता गर्न पनि मुस्किल पर्छ । म संग आफ्नै घटना छ । केही वर्ष अघि मलाई कुनै पार्टीमा आउँनको लागि मेरो हाकीमले निम्तो दिनु भएको थियो र म जान मानिन । म जान नमानेपछि पत्रकार महासंघको सदस्यता लागि उहाँले गर्नुभएको सिफारिस रद्द गर्नुभएको थियो ।

मोफसलै भएपनि रुपन्देही जिल्लामा पत्रकारिताको बिकास कत्तिको भएको छ ? र यस जिल्लामा अरु जिल्लाको भन्दा बढी समस्याहरु के कस्ता छन ?
रुपन्देही जिल्लामा पछिल्लो वर्षमा पत्रकारिताको विकास एकदमै दु्रत गतिमा भैरहेको छ । हामिले हेर्ने हो भने रुपन्देहीमा दर्जनौ रेडियो, पत्रपत्रिका र केही टेलिभिजन संचालनमा रहेका छन् । यस क्षेत्रबाट पत्रकारिता सुरु गरेका पत्रकारहरु राजधानीमै गएर मिडिया हाउस संचालन गरेर पनि वसेका छन् । सरकारी तवरवाट संचालित रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत नीजि स्वामित्वमा रहेका मिडिया हाउसमा रुपन्देहीबाट पत्रकारिता सुरु गरेका पत्रकारहरुलाई देख्न सकिन्छ । दिन प्रतिदिन नयाँ नयाँ संचारमाध्यम खुलिरहेका छन् अझै खुल्ने तरखरमा पनि छन् । पक्कैपनि यो पत्रकारिताको विकास भएर नै हो जस्तो मलाई लाग्छ । र समस्याको कुरा गर्नुपर्दा अन्य जिल्लाको तुलनामा रुपन्देहीमा पनि खासै नौलो समस्या त नहोला । मुख्य रुपमा भन्नुपर्दा यस क्षेत्रका पत्रकारहरुको समस्या पनि अन्य जिल्लाको जस्तै नै छ । समयमा पारिश्रमिक नपाउँने, राजनीतिक दवाव ।

मोफसल पत्रकारिताका समस्या समाधानका लागि तपाँईको बिचारमा नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ?
केही वर्षयता आएर पत्रकारितामा एउटा बाढी आएको छ, जो पनि पत्रकार हुने प्रवृत्ति । घर वनाउने ठेकेदार देखि लिएर होटलको मालिक, जग्गाको दलाली गर्ने देखि लिएर मेनपावर चलाउने हाकीम जो पनि पत्रकार । र यस विषयमा नेपाल सरकारले पनि निश्चित मापदण्ड बनाएर गैर पत्रकारको आगमनलाई पत्रकारिता क्षेत्रमा आउनको निम्ति रोक्न निश्चित किसिमको कार्यक्रम ल्याउन पर्छ ।

तपाई आफै पनि पत्रकारिता पेशामा धेरै समयदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
जति हुनुपर्ने हो त्यो भएको छैन । हामिले हेर्ने हो भने रुपन्देहीमा दर्जनौ रेडियो, पत्रपत्रिका र केही टेलिभिजन संचालनमा रहेका छन् । त्यसमा आवद्ध सयौको हाराहारिमा पत्रकारहरु रहेका छन् । ती पत्रकारहरुले नत तलब पाएका छन् नत नियुक्ती पत्र । यस विषयमा नेपाल पत्रकार महासंघले अनुगमन गर्नुपर्ने देखिन्छ ।

सञ्चारकर्मीहरुका बैचारिक संगठनहरु (जस्तै ः प्रेस चौतारी, युनियन, क्रान्तिकारी) ले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
यो पत्रकारहरुरको संगठन भनेको राजनीतिक दलको भातृ संगठन जस्तै हो मेरो विचारमा । जुन पार्टीको पत्रकारलाई समस्या प¥र्यो त्यही पार्टीको पत्रकार संगठन आएर वकालत गर्छ । अन्य पत्रकारलाई परेको समस्याको निम्ती खासै चासो दिए जस्तो मलाई लाग्दैन । यदि केही समस्या भएर गएमा हाम्रो पार्टीमा आईज अनि जे गर्नु छ हामी गर्छौ भन्न पनि पछि पर्दैनन् यी संगठन ।

तपाइको विचारमा पत्रकारिता के हो ?
पत्रकारिता भनेको समाजको ऐना हो । जसले समाजमा लुकेर रहेका विविध कुराको पर्दाफास गरी सम्मुनत समाजको निर्माण गर्न मद्दत गर्छ ।

कति कमाउनु भयो त पत्रकारिता पेशावाट ?
जति कमाए नाम कमाए दामको त कुरै नगरौ ।

नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ र तपाँईको क्षेत्रतिर कस्तो छ ?
मैले अघि नै भनेको थिए पत्रकारितामा एउटा बाढी आएको छ, अहिले जो पनि पत्रकार हुने प्रवृत्ति । घर वनाउने ठेकेदार, जग्गाको दलाली गर्ने देखि लिएर मेनपावर चलाउने हाकीम जो पनि पत्रकार । पत्रकार आचार संहिताको पालना गर्न छाडिसके अहिलेका पत्रकार तथा संचार माध्यमहरुले । यो विषयमा बुटवल पनि यसबाट अछुतो रहन चाहि सकेको छैन ।

तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा !
यदि म त्यो कृयाकलापमा लागेको भए सायद बिम्व साप्ताहिकमा मेरो अन्र्तवार्ता आउँने थिएन होला । त्यसैले म पत्रकारिताको धर्म पुरा गरेर सधै पाठकको निम्ति निष्पक्ष समाचारमा सम्प्रेषण गर्न प्रतिवद्ध रहनेछु ।

यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
सर्वप्रथम जो पनि पत्रकार हुने प्रवृत्ति त्याग्न पर्छ । समाचार पत्रकारको काम हो समाजमा सही सुचना दिने कहिले काही गलत खबरले पनि ठुलो दुर्घना निम्त्याउन सक्छ, त्यसैले पत्रकारिता गर्नेले पत्रकार आचारसंहिता पालना गर्ने र आचारसंहिता लागु गराउन बसेका निकायले त्यसको पालन गराउन पहल गर्ने हो भने त्यसको समाधान हुन्छ ।

मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ?
अहिले मोफसलमा मिडया हाउस खुल्ने क्रम बढ्दो छ । ती मिडिया हाउसको आवश्यकता हो की नाई ? के दिनभर गित वजाउन कै लागि रेडियो खोल्न दिने ? के अनलाईनमा छापिएका समाचार कपि पेस्ट गर्न पत्रिका संचालन गर्न दिने ? यी यावत् कुराहरुमा सरकारले छिट्टै उचित कदम चाल्नुपर्ने हुन्छ । जति अहिले छन् त्यसको गुणस्तरमा सरकारले ध्यान दिनुपर्छ सरकारलले । सरकारको ढुकुटीमा पैसा त जम्मा होला संचारगृह संचालन गर्न अनुमति दिए वापत तर आवश्यकता हो की है त्यो पनि ध्यान दिन आवश्यक छ ।

अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ?
पत्रकार आचारसंहिताको पालना गरी मर्यादित तवरले पत्रकारीता गरौ । कुनै राजनीतिक संगठनको खोल ओढेर पत्रकारिता नगरौ । सहि समाचार सम्प्रेषण गर्न कहिल्यै पछि नपरौ भन्न चाहन्छु ।

समय र बिचारका लागि धन्यबाद । 

Bimbaबिम्व साप्ताहिकमा २०७३ श्रावण  ११  गते मंगलवार प्रकाशित

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण