बोटबिरुवा रोपेर सहरलाई हराभरा बनाउने तयारी
काठमाण्डु, २ भदौ– सहरको प्रमुख केन्द्र मानिने विभिन्न स्थानको बाटो विस्तार भइसकेको र बोटबिरुवा नभएको स्थानमा बोटबिरुवा रोपिने तयारी रहेको काठमाण्डु महानगरपालिकाले जनाएको छ ।
काठमाण्डु महानगरपालिक वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरका अनुसार सार्क सम्मेलनका समयमा सजावटका लागि नगरपालिकाले विभिन्न स्थानमा लगाइएको बोटबिरुवाको राम्रोसँग संरक्षण हुन नसकेको र सबै स्थानमा आवश्यक पनि नभएकाले संरक्षित मानिने र प्रमुख स्थानमा सार्न लागेको हो ।
प्रमुख कुँवरका अनुसार अबको करिब १५ दिनपछि सहरका प्रमुख स्थानमा गमला राखी बोटबिरुवा रोप्ने काम सुरु हुनेछ । सार्क सम्मेलनको समयमा पनि नरोपिएको र मानिसको बढीमात्रामा आवतजावत रहने स्थान जस्तै कलङ्की चोक, कालिमाटी चोक, त्रिपुरेश्वर चोक, रत्नपार्क, सिंहदरबारको आसपास, लैनचउर चोकलगायतका स्थानमा सजावटका लागि बोटबिरुवा रोपिने तयारी रहेको कुँवरको भनाइ छ ।
केही दिनमा नै यो काम सुरु गर्ने तयारी रहेको भए पनि कति गमलामा बोटबिरुवा लगाउने यकिन भने भएको छैन । सार्क सम्मेलनका बेला प्रयोग भएका तर संरक्षण हुन नसकेका गमला र बोटबिरुवा पनि अन्यत्र स्थानमा सार्ने तयारीसमेत रहेको छ ।
सम्मेलनको समयमा काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा गरी ५०० वटा गमलामा ७०० वटा बोटबिरुवा रोपिएका थिए ।