ओखलढुंगामा एक गाउँ एक उत्पादन कार्यक्रम सुरु हुने ।।
०२ भदौ, ओखलढुंगा
ओखलढुंगा जिल्लामा एक गाउँ एक उत्पादन (ओभीओपी) कार्यक्रम सुरु हुने भएको छ । कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहयोगमा कार्यक्रम सुरु हुने भएको हो । ओभीओपी कार्यक्रमका लागि ओखलढुंगा उद्योग वाणिज्य संघले प्रारम्भिक चरणको काम थालेको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि सरोकारवाला निकायहरुसँगको अन्तक्रियाबाट आलु खेतीलाई प्राथमिकता दिएर छनोट गरिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिनुभयो । ओखलढुंगाको माथिल्लो लेकाली क्षेत्रमा आलु अत्यधिक उत्पादन हुने गरेको छ । शेर्पा समुदायको मुख्य वस्ती रहेको यस क्षेत्रमा आलुलाई मुख्य खाद्यबाली मानिन्छ । आलु खेती ओभीओपीका लागि पर्याप्त सम्भावना भएकाले छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले बताउनुभयो ।