ग्यास सिलिन्डरमा हालेर मदिराको तस्करी
भाद्र २२/बिहार। खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखान जिब्रोमै झुन्डिएको छ । यो उखान अहिले नेपालमा होइन छिमेकी भारतीय राज्य बिहारमा लागू भएको छ।
नीतिशकुमार नेतृत्वको सरकारले बिहारमा घरेलु तथा अन्य सबै किसिमका मदिरा किनबेचमा प्रतिबन्ध लगाएपछि मानिसहरुले तस्करी गर्न थालेका छन् ।
साधरण तरिकारले तस्करी गर्दा पक्राउ परिने डरले बिहारमा खाना पकाउने एलपीजी ग्यासमा राखेर मदिराको तस्करी सुरु भएको हो ।
बिहारमा प्रतिबन्धित भएपछि त्यहाँका धेरै नागरिक नेपाल आइरहेका छन् । अर्कातिर बिहारमै ल्याएर बिक्री गर्नका लागि झारखण्ड राज्यबाट ग्यास सिलिन्डरभित्र राखेर मदिराको तस्करी हुने गरेको खुलासा भएको छ ।
मदिरा नियन्त्रणमा रातदिन खटिइरहेको बिहार प्रहरीलाई चकित बनाउँदै ग्यास सिलिन्डरबाट तस्करी भइरहेपछि खाने मुखलाई जुँगाले नछेक्ने नेपाली उखान त्यहाँ चरितार्थ भएको हो ।
झारखण्डबाट ग्यास सिलिन्डरमा हालेर ल्याउँदै गरेको अवस्थामा बिहारस्थित गोविन्दपुर पुलिस चौकीले मदिरा बरामद गरेको हो । तस्करहरुले ग्यास सिलिन्डरको पिँध काटेर त्यहाँ मदिरा पोका भर्ने गरेको भेटिएको छ ।
झारखण्डबाट बिहारमा यही तरिकाबाट एक महिनादेखि मदिराको तस्करी भइरहेको खुलेको छ। गोप्य सूचनाका आधारमा पुलिसले यो कारबाही गरेको हो । त्यसपछि पुलिसले चेकजाँचलाई झनै कडा बनाएको छ ।
पुलिसले चेकजाँचका क्रममा ग्यास सिलिन्डरबाट १४५ पोका मदिरा बरामद गरेको छ। पुलिसले गाडी चेकजाँचका क्रममा सिलिन्डर बरामद गरेको थियो।
तस्कर यति चलाख देखिए, उनीहरुले सिलिन्डरको पिँधको भाग काटेर त्यसैलाई बिर्कोकारुपमा प्रयोग गरेका थिए ।
त्यही बिर्कोले छोपेर सिलिन्डरमा मदिरा राखिने गरिएको थियो । यस मामिलामा बिहार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । यी दुबै युवा बिहारको नवादास्थित मिर्जापुर टोलका रहेका बताइएको छ ।
समाचार अनुसार बिहारको रजौली चेकपोस्टमा पुलिसले चेकजाँचका क्रममा यो मदिरा मंगलवार बरामद गरेको थियो । यो गाडीमा भारत सरकारको नेम प्लेट हालिएको थियो ।
यसभन्दा अघि मदिरा भरिएका ग्यास सिलिन्डर यात्री बसमा राखेर ओसार्ने गरेका थिए । गाडीबाट मदिदा तस्करी खुलेपछि उनीहरुले साना चारपाङ्ग्रे गाडीमा राखेर मदिराको तस्करी थालेका थिए ।