गृहपृष्ठ » अन्तर्वार्ताकर्मचारी ठग हुन्छन् भन्ने परिभाषा बदल्छु

कर्मचारी ठग हुन्छन् भन्ने परिभाषा बदल्छु

September 9, 2016१७४ पटक
indu-ghimire

२४ भदौ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई कडा प्रशासकका रुपमा बुझ्ने गरिन्छ । नेपालका ७५ जिल्लामध्ये कपिलवस्तु मा इन्दु घिमिरे र तेह्रथुममा मुनका न्याैपाने महिला सिडिओ छन् । कोमलताका खानी मानिने महिलाहरुले चलाएको जिल्ला प्रशासन कस्तो होला ?
यसबारेमा प्रश्न गर्दा सहसचिव एवं कपिलवस्तुकी सिडिओ इन्दु घिमिरेले आफूले चलाएको जिल्ला प्रशासन कार्यालय हेर्न आउन आग्रह गरिन् । सिडिओको कुर्सीमा बस्दा आफूले महिला हुँ कि पुरुष भनेर नहेर्ने गरेको बताउँदै घिमिरेले महिलाहरु पुरुषको तुलनामा इमान्दार हुने जिकिर गरिन् । र, कर्मचारीहरु ठग हुन्छन् भन्ने मान्यतालाई बदलेर आफूले निजामती सेवालाई स्वच्छ बनाइछाड्ने प्रजिअ घिमिरेले प्रतिवद्धतासमेत जनाइन् ।

निजामती दिवसको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी घिमिरेसँग अनलाइनखबर संवाददाता पुष्प ढुंगानाले गरेको संक्षिप्त कुराकानीः

महिलाले सिडिओको जिम्मेवारी सम्हाल्दा सजिलो हुँदोरहेछ कि अप्ठेरो ?

यसक्रममा अनुभव केही समेटेकी छु । काम गर्ने, जिम्मेवारी लिने सवालमा महिला कमजोर छैनन् । तर, हरेक पदमा पुरुषलाई देखिरहेको समाजले महिलाको उपस्थितिलाई अलि असहज मानेको जस्तो महसुस हुन्छ बेलाबेलामा । महिलाका सन्दर्भमा जस्तो सामाजिक चिनारी बनेको छ, त्यो सोचले पनि थोरै अप्ठेरो आउँछ ।

म अहिलेसम्म लिखितबाटै आएकी हुँ, कसैको दयामायाले यो ठाउँमा आएकी होइन । कुनै जिम्मेवारीमा रहँदा जस्तो प्रकृतिको पद हो, र पुरुषले जस्ता चुनौतीको सामना गर्नुपर्छ, त्यो मैले पनि गर्नुपर्छ, जुन स्वभाविकै हो । तर, हामीले थप केही भिन्न समस्या, चुनौतीहरुको पनि सामना गर्नुपर्छ ।

जागिर खाएँ भन्दैमा घरपरिवार चटक्कै बिर्सेर हिँड्न, आफन्त, समाजबाट महिलाहरु टाढा रहन गाह्रो हुन्छ । यी कुराहरु एउटा पाटो हुन् । पुरुषलाई भन्दा अलिकति बढी लोड र बोझ हुन्छ ।

पुरुषले एक दुई वर्ष अध्ययन गर्छु भन्दा परिवारबाट अलग हुन सक्छ, तर हामीले पाउँदैनौँ । महिला र पुरुषवीच प्रतिस्पर्धामा कुनै सहुलियत छैन ।

सुरुमा तपाईलाई सिडिओ बनेर जिल्लामा जान सक्नुहुन्न भन्ने प्रतिक्रिया आए कि आएनन् ?

सहसचिव भएपछि म सामान्य मन्त्रालयमा हाजिर भएँ । त्यसक्रममा केही साथीहरुले कर्मचारीमा महिलाको संख्या वृद्धि भयो, सधैँ कहाँ रोजेको ठाउँमात्र दिन सकिन्छ र, सधैँ भनेको ठाउँ दिन सकिन्न भनेका थिए । महिलाहरुले अब त चुनौतीहरु पनि मोल्नुपर्‍यो भन्नेकुराहरु पनि आए । मलाई पनि चुनौतीको सामना गर्छु भन्ने सोच थियो । मसँग त्यसअघि स्थानीय विकास अधिकारी भएर काम गरेको अनुभव पनि थियो ।

महिलाहरु पनि पुरुषसरह, अझै त्योभन्दा राम्रोसँग काम गर्न सक्छन् भन्ने कुरा उदाहरणबाटै देखाउनु थियो । आफैंमा पनि महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ भनेर मैले गृह मन्त्रालय सरुवा मागेको हुँ ।

तर, प्रमुख जिल्ला अधिकारी भएर जाँदा मैले महिला भएकै कारण भिन्नखालको त्यस्तो कुनै समस्या भोगिनँ । गृह प्रशासनमा आएपछि सुरक्षाको समन्वयन, व्यवस्थापनको थप मुख्य काम हो । बाँकी कामहरु मैले पहिले नै गरिसकेकी थिएँ ।

सिडिओ सा’बलाई परिवार र आफन्तबाट कस्तो प्रतिक्रिया आयो ?

मन्त्रालयमा केही महिला साथीहरुले चाँहि तपाईले सक्नुहुन्छ र म्याडम ? सम्म भने । तर, त्यो भन्दा अरु कसैले कमजोर बनाउने गरी ‘सक्छौ र ?’ भनेनन् ।

जहाँसम्म घरपरिवारको कुरा हो, बच्चाहरु हुर्किइसकेका छन् । जिल्ला बाहिर गएर काम गर्ने मेरो चाहनामा परिवारका सदस्य, आफन्त एकदम सकारात्मक हुनुहुन्छ । तिमीले सक्दैनौ कि भन्ने प्रश्न आएन ।

प्रशासन भ्रष्ट, विकृत भएकाले महिलाहरुलाई अगाडि बढायो भने केही व्यवस्थित हुन्छ कि भन्नेहरु पनि छन्, के यो सत्य हो ?

यो मैले भन्ने कुरा होइन । समाजले, व्यवस्थापनले पनि महिलाले गरेको कामलाई नजिकबाट हेरिरहेको हुन्छ । हामीलाई अलिकति बद्नाम हुन्छु कि भन्ने डर बढी हुन्छ । हामी महिलाहरु आफ्नो प्रतिष्ठाप्रति निकै संवेदनशील हुन्छौँ ।

अर्को कुरा, नियमसंगत तरिकाले काम गर्नुपर्छ । सबै नियममा बस्नुपर्छ भन्ने भावना पनि हामीभित्र हुन्छ । यस्तै अनैतिक कामहरुमा हाम्रो ध्यानै जाँदैन । यस्तै एउटा महिलाले गरेको गल्तीले समग्र महिलालाई असर पर्छ । यी पाटोहरुले गर्दा महिलाहरु बढी इमान्दार र सर्तक हुन्छन्, सत्य हो ।

एलडीओ वा सिडिओ भएर काम गर्दा पुरुषले भन्दा मैले राम्रो गरेँ भन्ने केही दृष्टान्त दिन सक्नुहुन्छ ?

पहिलो कुरा ऐन कानुन नियम कार्यान्वयनका सवालमा मभित्र लचकतापन छैन । कानुनले प्रष्ट तोकेको कुरामा लचक हुनुपर्छ भन्ने म मान्दैमान्दिनँ । तपाईले पत्याउन गाह्रो पर्ला म निकै कडा रुपमा कानुनको पालना गराउँछु । नत्र व्यवस्था कमजोर हुन्छ भन्नेमा म जानकार छु ।

अर्को कुरा म अहिले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी छु । म यहाँ आएपछि यहाँको सदरमुकाम, कार्यालय हेर्न अनुरोध गर्छु । प्रत्येक मान्छेले महसुस गर्ने गरी सरसफाइमा ध्यान पुर्‍याएकी छु । कार्यालय व्यवस्थित छ । प्रक्रिया पुर्‍याएर आएको कोही सेवाग्राही मेरो कार्यालयबाट काम नगरी र्फकनुपर्दैन ।

Munaka-Neupane

तेह्रथुम प्रजिअ मुनका न्याैपाने

 

यहाँ त महिलाहरुलाई श्रीमानले कुट्दा महिला सिडिओ छन्, म भन्दिन्छु भनेर गुनासो गर्न आउनेहरुको संख्या बढेको छ । महिला हिंसामा कमी आएको छ । शौचालयको समेत व्यवस्था रहेन छ, मैले महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाएँ । कार्यालयमा आउनेलाई खानेपानी र आरामले बस्ने व्यवस्था मिलाएकी छु ।

यस्तै स्याङजामा हुँदा सार्वजनिक कार्यालयको जग्गा तारबार गरेर अतिक्रमणबाट जोगाएँ । सदरमुकाममै सरकारी कार्यालय रहेको जग्गा बजारले अतिक्रमण गरेको थियो, त्यो फिर्ता गराएँ । जिल्ला प्रशासन कार्यालयभित्र लेखनदासका रुपमा बसेर ठग्ने लेखनदासहरुलाई कार्यालयबाट बाहिर निकालेँ । र, सम्पूर्ण निवेदनका फम्र्याटहरु बनाएर कार्यालयकै पैसामा त्यहाँ राखिदिएँ । ती निवेदनका फारमहरु भर्न कर्मचारी राखिदिएँ । त्यसले सेवाग्राहीलाई सहज बनाइदियो ।

कपिलवस्तुमा पनि त्यस्तै गरेँ । हरेक शुक्रबार सरकारी कार्यालय सफाइ गर्नुपर्ने व्यवस्था गर्दिएकी छु । अहिले यहाँको सरसफाइले त्यो कुरा देखाउँछ । यस्तै खानेपानीको व्यवस्था गरेकी छु । मैथली र नेपाली भाषामा अडियो बडापत्र राखेँ ।

निजामती सेवाको सुधारका लागि थप सपना के छन् ?

हाम्रो निजामती प्रशासन बदनाम भइरहेको छ । त्यो पनि हाम्रै कारणले । कर्मचारीहरु घुस्याहा, काम नगर्ने ठगहरु हुन् भन्ने जुन सामाजिक चिनारी बनिरहेको छ, त्यो आरोपबाट निजामति सेवालाई मुक्त पार्ने मसँग महत्वाकांक्षी सपना छ । यसका लागि केही गर्नुपर्दैन, जनतालाई सकेसम्म चाँडो सहजरुपमा सेवा दिनुपर्‍यो । नागरिकसँग बोल्न गाह्रो मान्ने, त्यही सुटबुट मान्छे आयो भने मख्ख परेर बोल्ने कर्मचारीको जुन संस्कार छ, त्यो पक्ष सुधार गर्नुपर्छ ।

हामीमाथि लागेका सामाजिक आरोप ठग्ने र सेवाग्राहीलाई सम्मान नगर्ने हामी कर्मचारीको व्यवहारले गर्दा हो । त्यसैले सच्चिनुपर्छ । कुनै पनि प्रक्रिया पुगेको काम कर्मचारीले गर्छन, उनीहरु हाम्रो सेवक हुन् भन्ने सोच नागरिकमा ल्याउनुपर्छ, त्यस्तो प्रशासन मेरो मुख्य सपना हो ।

सिडिओका रुपमा काम गरिरहँदा महिला भएकै कारण कुनै समस्या भोग्नुपरेको छैन ?

खै, त्यस्तो महसुस भएन । हेर्नुस, मलाई देख्दा महिला देखिन्छ । तर, मैले महिला हुँ कि पुरुष हुँ भन्ने भावनाले कहिले काम गरिनँ । त्यस्तो यादै भएन । सिडिओ हुँ, सिडिओको कुर्सीमा बसेर गर्ने कामहरु सबै गर्छु । कुनै जिम्मेवारी निर्वाहमा कमजोरी गरेको जस्तो लाग्दैन । कुनै पनि निर्णय गर्दा वा काम गर्दा म महिला हुँ भन्ने भावना मभित्र आउँदैन । म आफैँलाई बिर्सन्छु, पद र हैसियतलाई मात्र सम्झन्छु ।

बाहिरबाट कसरी देख्छन्, समाजले त्यसरी हेर्छ होला । तर, मैले आजसम्म महिला भएकै कारण फरक व्यवहार महसुस गर्नु परेको छैन । म महिला हुँ, तर मैले कसैसँग वार्ता छलफल गर्दा कहिल्यै कमजोर रुपमा प्रस्तुत हुन्न ।

निजामती सेवामा महिलाको प्रतिनिधित्व सामान्यतः बढेको देखिए पनि महत्वपूर्ण पदमा उपस्थिति अझै कमजोर छ, किन होला ?

आरणक्षको व्यवस्थाले सार्वजनिक प्रशासनमा महिलाको संख्यामा बृद्धि भएको हो । हरेक तहमा संख्या बढ्दो छ । तर, सेवा प्रवेशपछि महिलालाई अवसरमा प्राथमिकता दिने व्यवस्था छैन । यस्तो व्यवस्था नहुँदासम्म अवस्थामा परिवर्तन नआउँदो रहेछ । अहिले हामी पुरुषसँग समान प्रतिस्पर्धा गरेर काम गरिरहेका छौँ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण