ड्राइभरले मोबाइलमा बोल्दा २१ जनाको ज्यान गयो
२४ भाद्र, नयाँदिल्ली: भारतको ओडिसा राज्यको अङ्गुल जिल्लामा शुक्रवार बिहान एउटा यात्रुबस पुलबाट करिब ५० फिट तल खस्दा कम्तिमा पनि २१ जना यात्रुको ज्यान गएको छ ।
पुलबाट साइकलमा गइरहेका एक बालकलाई जोगाएर बसलाई अघि बढाउने क्रममा नियन्त्रण गुमाएपछि यो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुलाई अङ्गुल र कटकको अस्पतालमा भर्ना गरिएको छ । समाचार अनुसार बौद्ध जिल्लाबाट अङ्गुल जिल्लाको अथामाल्लिक गइरहेको बस बस १० वर्ष पुरानो थियो ।
प्रत्यक्षदर्शी अरुण बेहरालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बस पुरानो मानित्री पुलबाट अघि बढिरहेको थियो ।
यो घटना हुँदा बसका ड्राइभर मोबाइल फोनमा बोलिरहेका थिए । त्यहीबेला साइकलमा आइरहेका बच्चा बसको अगाडि आइपुग्दा ड्राइभरले नियन्त्रण गुमाएका थिए ।
सामुन्ने आएका बालकलाई बचाउने कोशिसमा लाग्दा ड्राइभरले नियन्त्रण गुमाएपछि बस सिधै पुलमुन खसेको बताइएको छ।
दुर्घटनामा परेर १४ जनाको घटनास्थलमै ज्यान गयो भने सातजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो । ज्यान गुमाउनेहरुमा केही महिला र कलेजका विद्यार्थ पनि छन् ।
जिल्लाका कलेक्टर अनिल सैमलले यो दुर्घटनामा बस पुरा क्षतिग्रस्त भएको बताए ।