गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्री रिसाउँदै बाहिरिएपछि शीर्ष बैठक भाँडियो

प्रधानमन्त्री रिसाउँदै बाहिरिएपछि शीर्ष बैठक भाँडियो

August 20, 2015१७३ पटक

काठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशील कोइराला रिसाएर हिंडेपछि सिमांकनसहित संविधानका बाँकी विषयमा सहमति जुटाउन बसेको प्रमुख दलका शीर्ष नेताको बैठक भाँडिएको छ ।

Sushil Koirala--621x414

सिंहदरबारमा बुधबार बैठक चलिरहेका बेला एमाओवादीले देशभर बढेको असन्तुष्टि सम्बोधन गर्न सात प्रदेशमा जान प्रस्ताव गरेपछि कोइराला झोक्किँदै बैठक छाडेर बाहिरिएका हुन् ।

दलहरुले मंगलबार निर्णायक छलफल हुने बताएका थिए ।  बैठकमा एमाओवादीले ६ प्रदेशले असन्तुष्टि बढाएको भन्दै काँग्रेस–एमालेले यसअघि ल्याएको सात प्रदेशको खाकामा सहमति खोज्न सकिने विकल्प अघि सारेको थियो ।

‘देश जटिल परिस्थितिमा जान लागेकाले हामीले गम्भीरतापूर्वक सात प्रदेशको प्रस्ताव गरेका हौं’, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘काँग्रेस–एमालेले प्रस्तावित गरेको सात प्रदेशमै जाऔं । रुकुमको केही भागसहित रोल्पा र प्यूठानलाई गण्डकसँग जोडेर राखौं भन्दा काँग्रेसले मानेन ।’

यस्तै एमाओवादीले कैलालीको थारु बाहुल्य क्षेत्रलाई मात्र भए पनि थारुवानमा राख्नुपर्ने प्रस्ताव बैठकमा गरेको छ ।

उसले काँग्रेस–एमालेबीच यसअघि भएको सात प्रदेशको सहमतिको कुरा झिकेपछि प्रधानमन्त्री कोइराला सँगै रहेका काँग्रेस उपसभापति रामभन्द्र पौडेलसँग रिसाएका थिए ।

‘तपाईं जथाभावी सही गर्दैं हिंडेर समस्यामा पार्ने ? भन्दै कोइराला बैठक कक्षबाट बाहिरिएको एक नेताले बताए ।

कोइराला बैठक छाडेर हिंडेपछि शीर्ष नेताले रोक्न खोजेका थिए । तर प्रधानमन्त्री कोइराला म हिंडे भन्दै बैठकस्थलबाट बाहिरिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण