रोल्पामा छ दिनकी सुत्केरी बेपत्ता
२छ भदौ, लिबाङ । रोल्पाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् ।
छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट भदौ १९ गतेदेखि बेपत्ता भएकी हुन् ।
उनी कहाँ र किन गइन् भन्ने बारेमा परिवालाई कुनै किसिमको जानकारी नभएको दिलकुमारीका श्रीमान् दिनेश बुढाले बताए ।
प्रसूति व्यथा लागेपछि भदौ ११ गते श्रीमतीलाई लिएर दिनेश जिल्ला अस्पताल रेउघा पुगेका थिए । त्यहाँ सहजरुपमा सुत्केरी हुने संभावना नदेखिएपछि दिलकुमारीलाई महेन्द्र उपक्षेत्रीय अस्पताल दाङ लगिएको थियो । भदौ १३ गते शल्यक्रिया गरी बच्चा जन्माएपछि दिलकुमारी शौडियारस्थित आफ्नै दाजुको घरमा जाएकी थिइन् ।
केही वर्षदेखि लिबाङमा डेरा गरी बस्दै आएका बुढा दम्पतीले तीन वर्ष अगाडी प्रेम बिबाह गरेका थिए । बेपत्ता हुनुअघि दिलकुमारीले आफ्नो मोबाइलमा ‘मेरो खोजी नगर्नु’ भन्ने म्यासेज पठाएको उनका श्रीमान दिनेशले बताएका छन् ।