उदयपुर को सदरमुकाम गाइघाट बजारमा प्रहरी को डीएसपी हु भन्दै ठगी गर्ने पक्राउ
खेमराज दाहाल
भाद्र २९ बुधबार २०७३
उदयपुर /उदयपुरको सदरमुकाम गाईघाट बजारमा लामो समयदेखि सर्वसाधारण, होटल, पसल र झगडा गर्ने पक्ष विपक्षसँग प्रहरी अधिकृतको हवाला दिदै कमिशन र घुस असुल्दै हिडेको आरोपमा त्रियुगा नगरपालिका–४ स्थित असारीका ४१ वर्षिय धु्रव बस्नेत भन्ने चुडामणि बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कहि कतै आफुलाई एसपी, डिएसपी बताउँदै बजारमा कमिशन र घुस लिदै हिडेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको हो । आरोपी बस्नेतलाई आईतबार साँझ गाईघाटस्थित नगर प्रहरी कार्यालयनजिकै रहेको परासर होटलमा एक सेवाग्राहीसँग दलाली गरिरहेका अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए । एसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखाका असई नरेश कटुवालको टोलीले रंगेहात पक्राउ गरेर उनीमाथि अनुसन्धान थालिएको छ ।
कटुवालका अनुसार बस्नेतको बारेमा पटक पटक सर्वसाधारणले गुनासो गर्ने गरेपछि प्रहरीले उनीमाथि निगरानी राख्न थालेको थियो । दुई महिनादेखि निगरानीमा रहेका उनी मादक पदार्थ सेवन गरी सेवाग्राहीसँग दलाली गर्दै गरेको प्रमाणसहित फेला पारेपछि घट्नास्थलबाटै नियन्त्रणमा लिइएको असई कटुवालले बताए ।बस्नेतमाथि बजारका विभिन्न व्यक्ति, होटल, पसल र सर्वसधारणसँग कतै एसपी हँु, डिएसपी हुँ भनेर अनावश्यक रवाफ दिने गरेको, कतै एसपी र डिएसपीसँग मेरो राम्रो सम्बन्ध छ भन्दै सर्वसाधारणलाई धम्की दिदै हिडेको तथा बिभिन्न काम मिलाईदिन्छु भन्दै कमिशन र घुस माग्ने, रक्सी र मासु खाएको पैसा तिराउने गरेको आरोप छ ।
झैझगडा परेका पक्ष विपक्ष बीच विचौलिया भएर प्रहरीको तर्फबाट पैसा माग्ने, खर्च गराउने, प्रहरीलाई दिनुपर्छ भन्दै मोटो रकम असुल्ने, मिल्न लागेको मुद्धा मिल्न नदिने, सर्वसाधारण र व्यापारीलाई विना कारण दुख दिनेजस्ता आरोप पनि उनीमाथि लागेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले प्रहरी अधिकृतको हवाला दिदै बिभिन्न व्यक्तिलाई धम्की दिदै लामो समयदेखि ठगी धन्दामा रहेको खुल्न आएपछि निगरानी राख्ने क्रममा उनी पक्राउ परेको बताए ।
निगरानीभित्र रहेका उनलाई सादा पोशाकका प्रहरीले पिछा गर्दै जाँदा सेवाग्राहीसँग कमिशनबारे दलाली गर्दै गरेको रंगेहात भेटेपछि पक्राउ गरी अनुसन्धान कार्य थालिएको एसपी केसीले बताए । सामान्य चिनजानको सम्बन्धलाई गलत तरिकाले प्रयोग गर्दै सर्वसाधारणलाई ठगेकाले बस्नेतमाथि ठगी मुद्धा चलाउने तयारी भईरहेको प्रहरीको भनाई छ ।