गायक सुनील बर्देवाको निधन
गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार निधन भएको छ। गीतकार नरेशदेव पन्तका अनुसार जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको गीतकार पन्तले जानकारी दिए।
‘मैले सुनेअनुसार बिहान खाना खाँदासम्म ठिकै थिए रे, दिउँसो अचानक रगत वान्ता गरेपछि अस्पताल ल्याइएको थियो,’ पन्तले सेतोपाटीसँग भने। पन्त सुनीलले गाएको गोरेटो अनि गल्ली गीतका गीतकार हुन्।
जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए। तर उनी गायन र संगीतबाट चिनिएका थिए। थुप्रै गीतमा शब्द, संगीत, गितारवादन, एरेन्ज दिएका बर्देवा पछिल्लो समय नयाँ एल्बमको तयारीमा थिए। पन्तका अनुसार ‘मेट्रिक्स’ नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले साठीको दशकमा चर्चित नवीन के भट्टराई, निमा रुम्बालगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए।