प्रधानमन्त्री दाहाल भोलि चार दिने भारत भ्रमणमा जाँदै
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबारदेखि चार दिने भारत भ्रमणमा जान लागेको सन्दर्भमा सो बारे आज व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुनै पनि राष्ट्रिय हित विपरितका सन्धी सम्झौता नहुने स्पष्ट पार्दै आफ्नो भ्रमणका पहिले भएका सन्धि सम्झौताहरुको कार्यान्वयनमा केन्द्रीत रहने जानकारी दिए ।
भोलि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत जाने प्रचण्ड त्यहाँ रहँदा प्रधानमन्त्री भारत सरकारको विशिष्ठ अतिथिका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नेछन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा महत, व्यवस्थापिका–संसद्का केही सांसद, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा व्यवसायीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत पुगेलगत्तै ३० गते नै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । त्यसपछि उनले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी भएर उनी महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यही दिन अर्थात् भदौ ३१ गते प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नेछन्।
यस्तै, प्रधानमन्त्री दाहालले असोज १ गते हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्नेछन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गरेर उनी असोज २ गते स्वदेश फर्किनेछन् ।