नेपालीलाई कडाइ गर्दै मलेसियाले भारतबाट लाने भयो सेक्युरिटी गार्ड
काठमाण्डु, ३ भदौ– मलेसियाले सेक्युरिटी गार्डमा नेपालीलाई थप कडाइ गर्ने भएको छ । नेपाली कामदारलाई कडाइ गर्नका लागि मलेसियाले भारतबाट समेत सेक्युरिटी गार्डमा कामदार लिने भएको छ ।
यसभन्दा अघि मलेसियाले १४ मुलुकबाट कामदार लिए पनि सेक्युरिटी गार्डमा भने नेपालबाट मात्र कामदार लिँदै आएको छ ।
मलेसियाका सञ्चारमाध्यमका अनुसार भारतको पञ्जाब, महाराष्ट्र र गुजरात राज्यका बासिन्दालाई सेक्युरिटी गार्डमा लिइनेछ ।
श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले मलेसियाले अन्य मुलुकबाट पनि कामदार लिन चाहनु उसको अधिकारको विषय भएको बताए ।
मलेसियाले नेपाली कामदार ल्याउन महँगो परेपछि अन्यत्रबाट सेक्युरिटी गार्ड लिन चाहेको श्रम मन्त्रालय श्रोतले बतायो ।
नेपालबाट वार्षिक रुपमा ३० देखि ५० हजार सेक्युरिटी गार्डमा मलेसिया जाने गरेको व्यवसायीको अनुमान छ । सेक्युरिटी गार्डमा जाने कामदारले एक लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म म्यान पावर व्यवसायीलाई बुझाउने गर्छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले नेपाली कामदार महंगोमा गएकाले मलेसियाले सेक्युरिटी गार्डमा कटौती गरेको भनाइमा सत्यता नरहेको बताए ।
उनले पछिल्लो समयमा नेपालमा निःशुल्क भिसा र हवाई टिकटको सरकारी निर्णयले रोजगार कोटा भारततर्फ गएको जिकिर गरे ।
नयाँ पत्रिकाबाट