गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारकष्टकर मुग्लिनको बाटो, सधैं घण्टौं जाम

कष्टकर मुग्लिनको बाटो, सधैं घण्टौं जाम

September 20, 2016३४० पटक

काठमाडौं ४ असोज ।आसराम महतो माइक्रो चलाएर काठमाडौंतर्फ जाँदै थिए, पाँचकिलो भन्ने ठाउँमा जाममा परे । ठिक माथिबाट पहिरो खसिरहेको थियो । माइक्रो अघि बढाउन सकेनन् । पछि लैजान पनि मिलेन । ‘हतार–हतार बाहिर निस्किएँ । यात्रुलाई पनि निकालें र तुरुन्तै भगाएँ,’ बा४ख १११६ नम्बर माइक्रोका चालक आसरामले भने, ‘माइक्रो छोडेरै हिँडें । ढुंगाले गाडीमा लागेछ, केही क्षति पुगेको रहेछ । धन्न हामी जोगियौं ।’
त्यसयता उनलाई नारायणगढ–मुग्लिन खण्डमा गाडी चलाउन जिउ काँप्छ । ‘यात्रु पनि पहिरो देख्नासाथ डराएर कराउन, चिच्याउन थाल्छन् । कुन बेला कहाँ पहिरो खस्छ थाहा हुँदैन । यस रुटमा माइक्रो चलाउन थालेको १० वर्ष भयो । यति बेला जस्तो डर पहिला थिएन,’ उनले भने ।
देशलाई राजधानीसँग जोड्ने मुख्य राजमार्गको यस खण्डमा यात्रा गर्नु निकै जोखिमपूर्ण छ । दसैं मान्न घर जानेहरूका लागि यसको विकल्प पनि छैन । राजधानीका लागि विदेशबाट आउने सबै सामान आपूर्ति गर्ने सडक यही हो । तर, अवस्था यात्रा गर्न लायक छैन । तैपनि बाध्यताले चल्ने गाडीका कारण यहीँ घण्टौं जाम हुन्छ ।

mugling
समस्या १ : जाम
आसमती गुरुङले अचेल जाम नदेखेको क्षणै हुँदैन । सडक किनारमा उनको ‘झरना होटल’ छ । जलबिरे घुम्तीस्थित उनको खाना पसलमा ह्वारह्वार धुलो आउँछ । आँखा मिच्दै सडकतिर हेर्दा कहिलेकाहीं त गाडी त्रिशूलीतिर खसेको देखिन्छ । ‘एक घण्टाभन्दा बढ्ता जाम हुन्छ । खुल्न पाउँदैन, अर्को जाम सुरु हुन्छ,’ उनले सुनाइन्, ‘त्यसमाथि धुलोले मार्न लाग्यो, कसलाई भन्ने ?’
यस खण्डको सिमलतालमा करिब ५ घण्टादेखि जाममा परेका मिलन लामाले भने, ‘कहिलेकाहीं त २४ घण्टासम्म पनि परेको छु । ना१प १३५ नम्बर ट्रकका चालक मिलन सामान पुर्‍याएर काठमाडौंबाट वीरगन्ज फर्किइरहेका थिए । वीरगन्जै पुग्न लाग्ने समय एकै ठाउँको जामले खाइदिएको थियो । नारायणगढ नपुगुन्जेल त्यस्ता जाम दर्जनौं थिए ।

जामकै कारण राजधानीसम्म दसैंका सामान लैजान यसपालि गाह्रो परिरहेको छ । सामान लिएर राजधानीतिर जाने र यात्रु बोकेर बाहिरतिर लाग्ने सवारी साधनलाई दोहोरो पास हुन गाह्रो पर्दा धेरै किलोमिटरका जाम बन्ने गरेका छन् । दुवैतर्फ सवारी साधन थपिने क्रम बढदो छ । यसलाई व्यवस्थापन गर्न स्थानीय प्रशासन र ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले चाडको समयमा सडकको असहजताले राजधानीका लागि अत्यावश्यक सरसामान ढुवानी गर्न समस्या परेको बताए । विदेशबाट स्थलमार्ग भई आउने सम्पूर्ण सामान यही रुट भएर राजधानी लगिन्छ ।
‘जति आवश्यक पर्ने सामान हुन्, सबै यही बाटो भएर भित्रिन्छन्,’ प्रधानले भने, ‘चाडबाड नजिकिँदै गएकाले झन् बढी सामान पुर्‍याउनुपर्ने हुन्छ । बाटाको अवस्था यस्तो छ । यस खण्डको स्तरउन्नति पहिल्यै गर्नुपर्ने हो, यति बेला भइरहेको छ ।’
उनले लामो समय जाममा सवारी साधन अडकिँदा ढुवानी खर्च बढ्ने बताए । ‘त्यो सामान बजार पुग्दा महँगो पर्छ । त्यसलाई उपभोक्ताले बुझ्दैनन्,’ उनले भने, ‘मूल्य बढ्नुमा व्यापारीलाई मात्र दोष दिन्छन् । त्यसका लागि हाम्रो सडकको अवस्था कति जिम्मेवार छ भन्ने कसैले ध्यान दिँदैनन् ।’ प्रधानले समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिनुपर्ने सुझाव दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यातायातको सहज आवागमनका लागि के गर्न सकिन्छ भनेर मंगलबार सरोकारवाला निकायहरूको बैठक राखेको बताए । ‘ट्राफिक व्यवस्थापन कसरी गर्न सकिन्छ, सक्दो पहल हुनेछ,’ उनले भने, ‘सवारी साधन बढेका छन् । साना गाडीलाई कसरी पास गराउन सकिन्छ, सकेसम्म उपाय खोजिनेछ ।’
जिल्ला ट्राफिक प्रहरीका प्रमुख राजन भेटवालका अनुसार यो रुटमा दैनिक सरदर ७ हजार सवारी आवतजावत गर्छन् । दसैंका बेला यसको करिब दोब्बर हुन्छन् । ठूला–ठूला मालवाहक साधनसमेत गुड्ने भएकाले जाम झन् धेरै बढ्ने स्थिति छ । ‘साँघुरो बाटोमा थोत्रा सवारी बिग्रिएर जाम हुने गरेको छ । साथमा पहिरो र सडक मर्मतले समेत यो समस्या बढाएको छ,’ उनले भने ।

समस्या २ : पहिरो
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार यस खण्डमा ४८ ठाउँ पहिरो खस्ने गरेको छ । तीमध्ये ठूलाखाले ११ वटा छन् । ‘कुन बेला पहिरो खस्ने हो र ज्यान जाने हो, निश्चित छैन,’ चालकहरू भन्छन्, ‘ज्यानै जोखिममा राखेर हिँड्नुपर्ने अवस्था छ ।’
ना५ख ४७८४ नम्बरको प्रतिभा ट्राभल्स रात्रिबसका चालक कमलप्रसाद बाँस्तोलाले पानी पर्नासाथ माथिबाट ठूलठूला ढुंगा खस्ने बताए । पानी पर्ने समयको टुंगो हुँदैन । रातिको समय भएकाले नदेखिने र जोगिने उपाय लाउनसमेत नसकिने उनले सुनाए । ‘सडकमा खाल्डैखाल्डा छन् । फुत्त अघि बढौं भन्दा मिल्दैन । कछुवाको गतिमा हिँड्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि जामैजाम हुन्छ । पहिरो गयो वा ढुंगा लड्यो भने के गर्ने ? उपाय छैन ।’
इन्जिनियर खनालका अनुसार यस खण्डअन्तर्गत १८ किलोस्थित गाईघाट, २२ किलोस्थित केराबारी, २६ किलोस्थित जलबिरे र ३३ किलोस्थित कालीखोला बढी पहिरो प्रभावित क्षेत्रमा पर्छन् । त्यसमा पनि सबैभन्दा बढी प्रभावित जलबिरे र कालीखोला क्षेत्र हुन् । बढ्ता दुर्घटना त्यहीं भइरहेका छन् ।
प्रजिअ सिंहले निरन्तर खसिरहने पहिरो पानी नपरेको बेला तत्काल हटाउने व्यवस्था मिलाइएको बताए । पानी परिरहेको बेला भने हटाउन गाह्रो परिरहेको उनले जानकारी दिए ।

समस्या ३ : धुलो
पानी परेको बेला ठूला–ठूला आहाल बन्ने र घाम लाग्नासाथ आँखै नदेखिने गरी धुलो उड्ने समस्याले पनि दुर्घटनाको जोखिम बढाएको छ । सडक निर्माण गर्दा निस्किएको माटो व्यवस्थापन गर्न नसक्दा र पानी नहाल्दा यस्तो अवस्था आएको हो ।
आयोजनाका इन्जिनियर खनाल स्वयं धुलो ठूलो समस्या बनेको बताउँछन् । ‘धुलोले सडकको भिजिबिलिटी कम गराउँछ,’ उनले भने, ‘जसले गर्दा दुर्घट्नाको खतरा बढेको छ ।’ उनका अनुसार निर्माणको ठेक्का लिएको कम्पनीले ट्यांकरमार्फत पानी हालेर धुलो कम गराउने गरेको छ । तर, केही मिनेटमै सुक्ने गर्छ । पाँच मिटरको दूरीसम्म केही नदेखिने गरी धुलो उड्ने गरेको छ । एउटा गाडीले अर्को गाडी आएको थाहा पाउन मुस्किल पर्छ । जसले गर्दा दुर्घटना हुन्छ ।

समस्या ४ : कमजोर संरचना
नारायणगढ–मुग्लिनदेखि पृथ्वी राजमार्गको मौवा खोला सडकको ३८ स्थानलाई दुर्घटनाको जोखिम क्षेत्र घोषणा गरिएको छ । त्यसमध्ये जुगेडीदेखि मुग्लिनसम्म २५ किलोमिटरमै ३२ वटा त्यस्ता ठाउँ रहेको मध्यक्षेत्र प्रहरी प्रमुख पशुपति उपाध्यायले जानकारी दिए ।
यसको मुख्य कारण कमजोर एवं जोखिमपूर्ण सडक हो । यस खण्डमा १८ वटा पक्की पुल छन् । अधिकांश काम नलाग्ने छन् । छेउको रेलिङ छैन । पुलमाथि खाल्डाखुल्डी बनेर पानी जम्ने गरेको छ । ‘सबै पुल ०३६ सालमा बनाइएका हुन्,’ इन्जिनियर खनालले भने, ‘४ वटाको चाहिँ समानान्तर पुल बनाउने तयारी गरेका छौं ।’ कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण