बबरमहलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
३ भदौ, काठमाडौ । काठमाडौको बबरमहलमा बुधवार राति मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
तीनकुनेबाट माइतघरतर्फ गइरहेको बा ३ ख ६८३२ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा ५६ प ४५२० नम्बरको स्कुटरलाईलाई ठक्कर दिँदा स्कटर चालक काभ्रे बल्थलीका ३५ वर्षीय ध्रुव केसीको मृत्यु भएको हो ।
आफ्नै साइडबाट आइरहेको स्कुटरलाई सडकबीचमा बनाइएको बार भत्काएर मिनी ट्रकले विपरीत लाइनमा गई ठक्कर दिएको थियो । ट्रकले च्यापिएका केसीलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो । केसीले अस्पताल पुग्नासाथ मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाह पथले जनाएको छ ।
तीब्रगतिमा आएको मिनी ट्रकले विपरित दिशामा मोडिएर स्कुटरलाई ठक्कर दिएपछि माइतीघरतिरबाट आएको बा १२ च ९२९३ नम्बरको कार पुनः ट्रकमा ठोक्किएको थियो ।
बुधबार राति साढे नौ बजेतिर भएको उक्त घटनापछि प्रहरीले ठक्कर दिएको गाडी हटाउँन खोज्दा मिनी ट्रकको गम्भीर लापरबाही भन्दै अन्य सवारीका यात्रुले केहीबेर गाडी हटाउन नदिएर झण्डै एक घण्टा अवरोध गरेका थिए ।