गृहपृष्ठ » समचारदशैंमा घर वा फर्निचर रंगाउँदै हुनुुहन्छ ? घातक लिडबाट बच्नुस्

दशैंमा घर वा फर्निचर रंगाउँदै हुनुुहन्छ ? घातक लिडबाट बच्नुस्

September 25, 2016१८० पटक

९ असोज, काठमाडौं । दशैं तथा तिहारमा घरका झ्याल, ढोका, दराज लगायतका फर्निचर इनामेलले रंग्याउँदै हुनुहुन्छ ? होस् गर्नुहोस्, तपाईंले प्रयोग गर्ने इनामेलले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । किनकी इनामेलमा मानव स्वास्थ्यमा घातक मानिने लिडको मात्रा अत्याधिक मात्रामा भेटिन थालेको छ ।

colours

इनामेल रंगमा प्रयोग हुने लिडको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्छ । परीक्षणको क्रममा नेपालमै इनामेल उत्पादन गर्न उद्योगहरुले सरकारले तोकेको मापदण्ड भन्दा सयौं गुणा बढी प्रयोग गरिरहेको पाइएको छ ।

तर, घर रंग्याउने पेन्ट्स कलर उत्पादक कम्पनीले भने लिडको मात्रा क्रमिक रुपमा घटाउँदै लगेका छन् ।

सरकारले रंग उत्पादन गर्ने उद्योगले ९९ पिपिएमभन्दा बढी लिड प्रयोग गर्न नपाउने गरी मापदण्ड लागू गरेको छ । तर, मापदण्ड विपरित इनामेलमा भने लिडको मात्रा घटेको छैन ।

घर तथा अफिसमा नयाँ फर्निचर सेट गरेको लामो समयम्म स्वास्थ्य प्रतिकुल हुने किसिमबाट गन्ध आउँछ भने त्यसमा धेरै धेरै लिड छ भन्ने बुझ्नुपर्छ ।

इनामेल रंगमा मापदण्डभन्दा बढी लिड प्रयोग भएमा फर्निचर, भित्ता, झ्याल ढोकामा रंग लगाएपछि लामो समयसम्म असहज हुने गरी गन्ध आउने नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् ।

विभागले पछिल्लोपटक २०७३ सालको वैशाख महिनामा इनामेल रंगको ल्याव परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार हामीले सजावटका लागि प्रयोग गरेको इनामेल रंगमा स्वास्थ्यका लागि घातक रहेको देखिएको छ ।

त्यसैकारण फर्निचर रंग्याउन प्रयोग गरिने इनामेल रंगले मानव स्वास्थ्यमा भने प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

इनामेलमा अत्यधिक लिड

विभागले गरेको इनामेल रंगको परीक्षणमा ९९ पिपिएमभन्दा बढी लिडको मात्रा प्रयोग गर्न नपाइने भएपनि ४२ सय पिपिएमसम्म लिड प्रयोग भएको फेला परेको महानिर्देशक पुडासैनीले बताए ।

वैशाखमा ल्याव परीक्षण गरी सार्वजनिक गरेको रिपोर्टमा सबैभन्दा बढी लिड जस्मिन पेन्ट इन्डष्ट्रिज चितवनले उत्पादन गर्ने इनामेलमा देखिएको छ । कम्पनीले उत्पादन गर्ने इनामेल रंगमा ३६ सयदेखि ४२ सय पिपिएमसम्म लिड प्रयोग छ ।

यसैगरी एपोलो पेन्ट्स चितवनले उत्पादन गर्ने इनामेलमा पनि मापदण्डभन्दा सयौं गुणा बढी लिड प्रयोग भएको फेला परेको थियो ।

यसैगरी रिलायन्स पेन्ट ईन्डष्ट्रिज काठमाडौं पनि सरकारले तोकेको मापदण्ड उल्लंघन गर्दै १८ सयदेखि ४ हजार पिपिएमसम्म लिड प्रयोग गर्ने गरेको फेला परेको महानिर्देशक पुडासैनीले बताए ।

विभागले गरेको परीक्षणमा काठमाडौंको रुकमिनी केमिकल्स ईन्डष्ट्रिजले उत्पादन गर्ने इनामेलमा भने केही मात्रामा थोरैमात्र बढी लिड प्रयोग गरेको फेला परेको रिपोर्ट सार्वजनिक गरेको थियो । यो उद्योगले उत्पादन गर्ने इनामेलमा भने १ सय ४० पिपिएमभन्दा बढी लिडको प्रयोग भएको थियो ।

‘अन्य इनामेल उत्पादन गर्ने उद्योगले भन्दा रुकमिनी केमिकल्स ईन्डष्ट्रिजले उत्पादन गर्ने इनामेलमा कम मात्रमा लिड प्रयोग भएको छ’, पुडासैनीले भने, ‘पेन्टसमा लिडको मात्रा कम गरे पनि उद्योगहरुले इनामेलमा बढी लिड प्रयोग गर्दा यसको असर सबैभन्दा बढी बालबच्चामा परेको छ ।’

तर विभागले परीक्षण गरेको केही पेन्ट्समा भने सरकारले तोकेको मापदण्डभन्दा कम लिड पेला पेरेको छ । ल्याब परीक्षणमा बर्जर, जोन्सन एण्ड निकोल्सन, एशियन पेन्टहरुमा ९० पिपिएमभन्दा कम लिडको मात्रा फेला परेको पुडासैनीले जानकारी दिए ।

‘नेपालमा उत्पादित रंगभन्दा विदेशी रंग सस्तो छ’ उनले भने, ‘लिड मापनको मापदण्डका कारण नेपालमा विदेशी पेन्ट्सले बजार लिन सक्ने र नेपाली उत्पादनले भने घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।’

लिडको असर

पेन्टस, इनामेल, कस्मेटिक आदिमा लिड प्रयोग गरिएको हुन्छ । लिड गहिरो खैरो-खैरो खरानी रंगको रसायन धातु हो । यसका यौगिकहरु हाम्रो शरीरलाई विषालू हुने विज्ञहरु बताउँछन् ।

रंग रोगन, ग्लास पोलिस, पि्रन्टिङ सामग्री, कपाल रंगाउने उत्पादन, कस्मेटिक्स उत्पादन, इनामेल, ग्लासब्लो आदि लिडका प्रत्यक्ष स्रोत हुन् ।

घर सजावटका लागि प्रयोग गर्ने इनामेल पेन्टस, फलामको पाइपबाट आउने पानी र प्लास्टिकका झोलामा प्याक गरिएका खानेकुराबाट लिड हाम्रो शरीरमा पुग्न सक्छ ।

यसैगरी पित्तल वा तामाको भाँडामा स्टोर गरिएको घ्यूमा पनि लिडको मात्रा बढी हुने गरेको छ ।

लिडको तत्काल देखिने र प्रायः देखापर्ने असर रक्तअल्पता हो । लिडकै कारण अनुहारमा फिक्कापन आउँछ भने क्रमिक रुपमा पूरा शरीर निस्तेज देखिन्छ ।

शरीरमा चिडचिड हुने, शरीर सुक्दै जाने, टाउको दुख्ने, चक्कर लाग्ने, आलस्य आउने जस्ता लक्षण देखा पर्ने गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले जनाएको छ ।

यसैगरी वाकवाकी लाग्ने, कब्जियत हुने, आन्द्रा , मुत्रनली, पाठेघर र रक्तनलीहरु दुख्ने लक्षण देखा पर्छ । क्रमिक रुपमा लिडको मात्रा शरीरमा अझ थुपि्रँदै गएपछि अंगहरु विस्तारै काँप्ने, झमझमाउने, छाला लाटो हुने, मांशपेशी दुख्ने हुँदै कालान्तरमा हातखुट्टा उठाउन गाह्रो हुने र कुनै भाग चलाउन नसक्ने अवस्थामा पुग्ने विभागले जनाएको छ ।

रोग बढ्दै गएपछि लिडको कारण बेहोस हुने, छारे रोगझैं काँप्ने, अचेत भई ‘लीड इन्केफलोप्याथी’ हुन्न सक्ने प्रयोगशालाका विज्ञ बताउँछन् ।

लिडकै कारण क्यान्सर भई अकालमा ज्यान जाने सक्ने विभागका महानिर्देशक पुडासैनीको भनाइ छ । सानै बालबालिकालाई क्यान्सर तथा टिबी देखा पर्नुको प्रमुख कारण लिड पनि भएको उनले बताए ।

जथाभावी गर्नेलाई कारबाही के ?

वातावरण संरक्षण ऐनले समेत बढी लिड प्रयोग गर्ने उद्योग बन्द गराउने अधिकार दिएको छैन । सामान जफतको विषयमा स्पष्ट किटानी नगर्दा समस्या रहेको पुडासैनीको भनाइ छ ।

उनकाअनुसार बढी लिड प्रयोग गर्ने उद्योगीलाई बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण