गृहपृष्ठ » समाचारहरुम्याग्दीमा एकै मौसममा ३७ करोड मुल्यको १० हजार टन आलु उत्पादन १ म्याग्दी जिल्ला आलुखेतिमा आत्मनिर्भर ।

म्याग्दीमा एकै मौसममा ३७ करोड मुल्यको १० हजार टन आलु उत्पादन १ म्याग्दी जिल्ला आलुखेतिमा आत्मनिर्भर ।

August 20, 2015१८५ पटक

म्याग्दी भाद्र ३
म्याग्दी जिल्लामा यस सिजनको आलु उत्पादनबाट साढे ३६ करोड भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका अनुसार यस वर्षको बर्खे सिजनमा मात्र म्याग्दीमा ३६ करोड ५७ लाख ४० हजार रुपैया बराबरको आलु उत्पादन भएकोे हो ।
जिल्लाको करिव एक हजार २५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोमा अहिले १० हजार ५ सय ६ मेट्रिक्टन उत्पादन भएको कार्यालयका बागबानी विकास अधिकृत बासुदेव पौडेलले जानकारी दिनुभयो । कृषकहरुले बिक्री गरेको मूल्य अनुसार साढे ३६ करोड बराबरको आलु उत्पादन भएको देखिएको अधिकृत पौडेलको भनाई छ ।
म्याग्दीमा उत्पादन भएको आलु यो वर्ष ३० देखि ४० रुपैया प्रतिकिलोका दरले बिक्री भएको छ । पछिल्लो समयमा किसानहरु ब्यवसायीक बन्दै जानु, उन्नत जातका आलुका विउ भित्र्याउनु, आलु खेतिलाई आधुनीकरण तर्फ लैजानु, विउ आलुको भण्डार गृह निर्माण गर्नु जस्ता नयाँ विधिले पनि म्याग्दीमा आलु उत्पादनमा वृधि हुनुको अर्को कारण रहेको पाइएको छ । त्यससँगै आफूले उत्पादन गरेको आलुको उचित बजारको पहुँच विस्तार हुनु पनि त्यहाँका कृषकका लागि महत्वपूर्ण पक्ष बन्दै गएको छ । उता अन्य बालीको तुलनामा आलु खेति सजिलो र नगद आम्दानी हुने भएकाले आलु खेती तर्फ कृषकको आकर्षणसंगै उत्पादन बढ्दै गएको कृषि विकास कार्यालय म्याग्दीका अधिकृत पौडेलले बताउनुभयो ।
म्याग्दीको राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुईनेमंगले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्ली लगायत ३३ गाविसमा ब्यवसायीक आलु खेती हुने गरेको छ । कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी ८ सय ११ हेक्टर क्षेत्रफलमा आलु खेती भएको राम्चे गाबिसमा मात्रै दुई करोड ८३ लाख ८५ हजार रुपैया बराबरको आलु उत्पादन भएको देखिन्छ ।
यसरी म्याग्दीमा उत्पादन भएको धेरैजसो आलु बेनी, पोखरा र काठमाडौमा निकासी हुने गरेको छ । घरायसी उपभोग, आन्तरीक बजार, विउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । परम्परागत रुपमा अन्नबालीसंग आलु साट्ने प्रचलन रहेकोमा पछिल्लो समय सडक विस्तार भएपछि सहरी क्षेत्रमा आलु निकासी हुन थालेको कृषकहरुले बताएका छन् ।
मध्य पहाडी क्षेत्रको चिसो हावापानीमा प्राङगारीक तरिकाबाट उत्पादन भएको आलु स्वादीलो र गुणस्तरीय हुने भएकाले म्याग्दीको आलुको माग बढ्दै गएको छ । म्याग्दीबाट निकासी हुने कृषि उपजमा आलु पहिलो नम्बरमा पर्छ । जिल्लाभर करिब तिन हजार जना कृषक ब्यवसायीक आलु खेतीमा संलग्न भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण