गृहपृष्ठ » देवदह-रत्ननिष्ठाका अग्ला व्यक्तित्व जीवलाल पराजुली

निष्ठाका अग्ला व्यक्तित्व जीवलाल पराजुली

September 28, 2016८१ पटक
binod

विनोद उदय

– विनोद उदय

भदौरे घाम, त्यो पनि ठिक एघार बजेको । भाई सन्तोष स्वप्निल र म साइकलमा सवार छौ । घरि म चालक ऊ यात्रु, घरि ऊ चालक, म यात्रु । उखरमाउलो घाम र कालोपत्रे सडक । असिनपसिन छौ । देवदहको भवानीपुरबाट सुरु भएको हाम्रो यात्रा देवदहको गुरुङ्गटोला आइपुगेको छ। ठिक यसैबेला मेरो सेलफोन बज्छ, भन्छु “बुवा हामी आइपुग्यौ है । नजिकै छौ ।”हामीलाई दिइएको भन्दा अलिकति बढी भैसकेछ समय । घर नचिनेर अलमलमा थियौ । जे होस्, अलिकति ढिला भएपनि आइपुगियो । खासमा हामी पुगेका थियौ जीवलाल पराजुलीको घरमा । देवदह रत्न स्तम्भका लागि कथा उधिन्नु जो थियो । सामान्य शिष्टाचार पछि हामी लाग्यौ उनको जीवन कहानी तिर । पाठकवृन्दहरु, अब हामी सबै उतै लागौ ।

००० ००० ०००

जीवलाल पराजुली मुलतः समाजसेवी हुन्, राजनितीज्ञ हुन् । शक्ति र सम्पत्तिको राजनिती हाबी भईरहेको समयमा उनी निष्ठाको राजनिती गर्ने मानिस हुन् । नेपाली काङ्ग्रेसका महासमिति सदस्य उनलाई सबैले चिन्ने उनको सरल स्वभाव, असल नियत र स्वच्छ छविकै कारण हो । त्यसकारण देवदहमा उनी काङ्ग्रेसीजनका लागि मात्रै होइन सबैका लागि सर्वमान्य व्यक्ति हुन् । वि. सं. २००६ साउन २३ गते सिर्सेकोट–९, धनमुढा, स्याङ्जामा जन्मेका उनले गाउँकै पाठशालामा अक्षर चिने । विपन्न परिवारमा जन्मेपछि उही त हो सबैको कथा । उनी त अझ जेठो छोरा । तीन भाई र एक बहिनीका दाजु । कक्षा ९ मा पढ्दै गर्दा १४ बर्षको कलिलो उमेरमा दिल्ली हानिए । पैसा कमाउनु थियो, घर परिवारलाई सुख दिनु थियो । त्यसपछि उनका दुखका दिन सुरु भए । उनी दिल्ली पुगेको छ महिनापछि उनका बुवा पनि दिल्ली पुगे । बिडम्बना त्यसको छ महिनापछि दिल्लीमै उनको बुवाको मृत्यु भयो । परदेशी भूमिमा १५ बर्षे कलिलो केटोको लागि यो ठुलो बज्रपातथियो तैपनि उनले आफूलाई सम्हाले। उनी बुवाको दाहसंस्कार गरेर घर फर्किए । घरमा गएर क्रियामा बसे । ४५ दिनको पिण्ड दिएपछि नौ बर्षको माइलो भाईलाई घुम्टो दिएर उनी फेरि दिल्लीतिरै लागे । पापी पेटले मान्दैनथ्यो, दिल्ली हिड्नै पथ्र्यो ।

दिल्ली जाने बित्तिकै उनी कामकै खोजीमा भौतारिरहे केही दिन त । भोकभोकै दिल्लीका ताता सडकहरु नापे । केही दिनपछि काम मिल्यो, गाडी सफा गर्ने । उनले ४ वटा गाडीहरु सफा गर्थे । एउटा गाडीको मासिक ज्याला थियो, रु १५ । यसरी उनको कमाई भयो महिनाको रु ६० ।

jeeblal
दिल्लीमा उनले गरेको संघर्ष, भोगेको दुख र पाएको सफलताको कथा कुनै काल्पनिक कथा जस्तै छ । तर यो उनको वास्तविक कथा हो । दिल्ली जाने बित्तिकै उनी कामकै खोजीमा भौतारिरहे केही दिन त । भोकभोकै दिल्लीका ताता सडकहरु नापे । केही दिनपछि काम मिल्यो, गाडी सफा गर्ने । उनले ४ वटा गाडीहरु सफा गर्थे । एउटा गाडीको मासिक ज्याला थियो, रु १५ । यसरी उनको कमाई भयो महिनाको रु ६० । एउटा रोटिको १५ पैसा पथ्र्यो, दिनमा तिन वा चार वटा रोटिले गुजारा चलाउथे । मासिक ६० रुपैया खानमै ठिक्क हुन्थ्यो । कोठा भाडा के ले तिर्ने? त्यसैले उनले कोठा लिएकै थिएनन् । कहिले सडक पेटिमा, कहिले प्रतिक्षालयमा त कहिले राति बन्द हुने पसलको पेटिमा सुत्थे । हामीलाई सुन्दै कष्टकर । उनले त त्यो जीवन बाँचे । यसरी सुत्दा उनी कैयौ पटक पुलिस खोरमा समेत पुगेका छन् । उनको वास्तविकता थाहा पाएपछि फेरि छुटे पनि । यो सब सुनाइरहँदा उनका आँखा चम्किला भएका छन् । मैले सोध्छु “ति दिनहरु सम्झेर तपाईलाई कुनै दुःख लाग्दैन अहिले?”उनले चम्किला आँखा अझ चम्किला बनाउदै भने, “के दुःख लाग्नु नि बाबु, बरु म ति दिनहरु सम्झेर अहिले आनन्दित हुन्छु । तिनै दुःखहरुले सिकाएका हुन् मलाई जनताका दुःखहरु बुझ्न र आफूलाई आजसम्म ईमान्दार बनाईराख्न । दुःख बुझेको मानिसले नै जिन्दगी बुझेको हुन्छ । त्यसैले मेरो आजको जे जस्तो व्यक्तित्व बनेको छ, तिनै दिनहरुको कारणले बनेको हो ।”
म फेरि उनको जीवन यात्रामै पुग्छु । उनले त्यसरी गाडी पुछेर तथा पेटीमा सुतेर केही समय गुजारे । गाडी पुछ्ने क्रममै उनी ति गाडी मालिकहरुका प्यारा बने । गाडी चलाउन सिक्न पाए । उनले मज्जाले त्यसको फाइदा उठाए । सिके । गर्दागर्दै उनी त चालक बने । केही बर्ष उनी दिल्लीका सडकहरुमा ट्याक्सी चालक भएर कुदे । जीविका मज्जैले चलिरहेको थियो । उनी जे गरिरहेका छन् त्यसमै चित्त बुझाएर बस्ने खालका थिएनन् । झन् पछि झन् उत्कृष्ट बन्दै जाने स्वभावका कारण उनले अन्य सम्भावनाका ढोकाहरु खोजे ।

जब जीवलालले आमालाई कसैले यस्तो झुठो कुरा सुनाइदिएको थाहा पाए, तब रातदिन परिवारकै पालनपोषणमा खटिएका उनको मनमा ढ्याङ्ग्रो बज्यो । मुढी स्वभावका उनी त्यही झोकमा दिल्लीको घरघडेरी र ट्याक्सी सबै सस्तैमा बेचेर कहिल्यै नफर्किने गरी नेपाल आए

aa केही समयमै उनले दिल्लीको मंगोलपुरीमा जग्गा र घर किन्न सफल भए । लगत्तै मालिकको ट्याक्सी चलाइरहेका उनी आफै मालिक बने यानकी उनले ट्याक्सी पनि किने र चालक पनि राखे । यस बिचमा उनले नेपाल आएर २०२९ सालमा पर्वत, मर्दीखोलाकी सुमकलासंगबिहे पनि गरिसकेका थिए । श्रीमतीलाई पनि उतै लगेका थिए । एउटा छोराको बाबु समेत भैसकेका थिए । उनले उता घरघडेरी जोडेपछि यता घरमा आमालाई कसैले ‘अब तिम्रो छोरो उतै बस्छ, तिमीहरुलाई पनि हेर्दैन, आउदा पनि आउदैन’ भनेर सुनाइदिएछ । यस्तो सुनेपछि कुन चाहि आमाको मन थामिएला र? आमा छटपटिन लागिन् । जब जीवलालले आमालाई कसैले यस्तो झुठो कुरा सुनाइदिएको थाहा पाए, तब रातदिन परिवारकै पालनपोषणमा खटिएका उनको मनमा ढ्याङ्ग्रो बज्यो । मुढी स्वभावका उनी त्यही झोकमा दिल्लीको घरघडेरी र ट्याक्सी सबै सस्तैमा बेचेर कहिल्यै नफर्किने गरी नेपाल आए । यो घटना थियो २०३७ सालको । यसरी उनी करिब १७ बर्ष दिल्लीमा बसे । यहाँबाट उनको जिन्दगीको एउटा अध्याय सकियो । र अर्को अध्याय सुरु भयो ।

jeeblala

००० ००० ०००

दिल्ली अध्याय सकिएको केही समय पछि उनले सम्पुर्ण परिवार सहित स्याङ्जाबाट देवदह बसाईसराई गरे । देवदहको कलुवामा जग्गा किने । घर बनाए । अब आफ्नै ठाउँमा केही गरौ भन्ने मनसायले उनले देवदहमै पाउरोटी उद्योगसुरु गरे । २०४२ सालमा । ५ बर्ष सम्म चलाएर अर्को व्यवसायमा लागे । नयाँ व्यवसाय भाडा उद्योगले उनलाई ७ बर्षपछि हावा खुवाइदियो । उनले हिम्मत हारेनन् । फेरि अर्को स्टिल तथा फर्निचर उद्योग संचालन गरे । करिब २०÷२२ जनालाई रोजगारी पनि दिए । व्यवसाय राम्रै चलिरहेको थियो । यस बिचमा उनी पाँच छोरा र एक छोरी गरी छ सन्तानका पिता भईसकेका थिए भने सामाजिक कामका हात हालिसकेका थिए ।

उनले बहुदल प्राप्तिका आन्दोलनमा लाग्दा पटक पटक काराबास सजाय पनि भोगेका छन् । देवदह आदर्श बहुमुखी क्याम्पसका संस्थापक सदस्य हुदै हाल अध्यक्ष रहेका उनले देवदहमा थुप्रै विकास निर्माण र सुधारका काम सम्पन्न गरेका छन् ।

केरवानी मा.वि.को संचालक समिती सदस्यबाट उनको सामाजिक सक्रियता सुरु भयो भने राजनिती तर्फ भने नेपाली काङ्ग्रेसमा संगठित हुन पुगे । रेडक्रस, विद्यालय, सहकारीहरु, विकास समितीहरु, रुपन्देही सुकुम्बासी आयोग लगायतका संघसंस्थाहरु मार्फत् समाजसेवामा आफूलाई सक्रिय बनाइराखे भने नेपाली काङ्ग्रेस मार्फत् विभिन्न आन्दोलन र गतिविधीहरुमा पनि खरो रुपमा उत्रिए । फलस्वरुप उनी नेपाली काङ्ग्रेसको देवदह गाविस सभापति, महाधिवेशन सदस्य, रुपन्देही जिल्ला सदस्य हुदै अहिले महासमिति सदस्यजस्तो गरिमामय स्थानमा पुगेका छन् । उनले बहुदल प्राप्तिका आन्दोलनमा लाग्दा पटक पटक काराबास सजाय पनि भोगेका छन् । देवदह आदर्श बहुमुखी क्याम्पसका संस्थापक सदस्य हुदै हाल अध्यक्ष रहेका उनले देवदहमा थुप्रै विकास निर्माण र सुधारका काम सम्पन्न गरेका छन् । हामीले उनलाई भेटेको ठिक अघिल्लो दिन पनि उनको नेतृत्वको टोलीले शिक्षामन्त्रीसंग भेटेर फर्किएको थियो । प्रयोजन थियो, देवदह आदर्श बहुमुखी क्याम्पसमा कृषि विज्ञान (आईएसीएजी) को अध्ययन संचालन । त्यसका लागि भवन बनिसकेको र अध्ययन–अध्यापन स्वीकृती मात्र पाउन बाँकी रहेको तर त्यो पनि लगभग सुनिश्चित भईसकेको जानकारी गराए ।jeeblal1

००० ००० ०००

“ईमान्दार र चरित्रवान् भएर काम गर्न त निकै गाह«ो छ नि बुवा त्यसमाथि राजनितीमा । हजुरले कत्तिको दुख झेल्नुभयो?” मेरो प्रश्न सुन्ने बित्तिकै उनले भने, “हेर्नुस् असल चरित्रको शक्ति व्यापक हुन्छ । जब हामी ठिक हुन्छौ तब अरु हामीसंग डराउँछन्, खुट्टा तान्छन् । तर हामी ठिक भईराख्यौ भने ढिलो होला तर जीत हाम्रै हुन्छ ।”उनले अगाडि भने “मैले पनि धेरै समस्या भोगँे तर आफ्नो निष्ठाबाट कहिल्यै च्यूत भईन । असल मान्छेहरुलाई गाह«ो पक्कै छ तर समाज अगाडि बढ्ने भनेकै असल मान्छेहरुकै कारण हो र ति अति थोरै हुन्छन् ।”उनी भन्दैछन्, म सुन्दैछु, टिप्दैछु । उता भाई सन्तोष पनि अवाक भएर टाउको हल्लाउदै सुनिरहेको छ । “अलिकति दाग लागेको छ भने पो मान्छेले त्यसमा थपथाप पारेर भन्लान् तर दागै नलागिकन त कसरी औला उठाउन सक्छन् र? तर भित्र भित्र चलखेल त गर्छन् तर ति कायरहरु हुन्, पराजित हुन्छन् । त्यसैले असल बन्नु नै धेरै अर्थमा जित्नु हो ।” उनी बोल्ड सुनिए । म प्रवचन सुनिरहे जस्तो आनन्दित थिए । निष्ठाको आत्मविश्वास र बल देखिरहेको थिए । सुनिरहेको थिए ।

jeeblal22

००० ००० ०००

एउटा व्यक्ति मात्रै असल भयो भने त्यसको प्रभाव कता–कता र कसरी–कसरी पर्दोरहेछ भनेर जान्न देवदहका यि सर्वमान्य व्यक्तित्व जीवलाल पराजुलीलाई हेरे पुग्छ ।

उनी आफ्नो सफलताको श्रेय बुवा, आमा र श्रीमतीलाई दिन्छन् । बुवाले आफू सानै छँदा “सके सबैको भलो गर्नु, नसके कसैको कुभलो नगर्नु” भनेर दिएको उपदेश नै आफ्नो जीवन दृष्टिकोण भएको मान्छन् ।आमाले पनि संकटमा नआत्तिन र सुखमा नमात्तिन सिकाएको सम्झन्छन् । त्यसैगरी श्रीमतीले आफ्नो हरेक समस्यामा एक्लो हुन नदिएर, हरेक योजनामा साथ दिएर तथा परिवारलाई सम्हालेर आफ्नो सफलतामा मुख्य भुमिका खेलेको बताउँछन् । उनी असल र सफल राजनितीज्ञ र समाजसेवी त हुदै हुन्, असल अभिभावक पनि हुन् । उनका सबै सन्तान आज सम्म गलत बाटोमा छैनन् । उनको परिवार एउटा असल र उदाहरणीय परिवारको रुपमा चिनिन्छ ।
एउटा व्यक्ति मात्रै असल भयो भने त्यसको प्रभाव कता–कता र कसरी–कसरी पर्दोरहेछ भनेर जान्न देवदहका यि सर्वमान्य व्यक्तित्व जीवलाल पराजुलीलाई हेरे पुग्छ । हामीले उनीबाट सिक्नुपर्ने कुराहरु धेरै छन्, जस्तो किस्वच्छ आचरण, सरल स्वभाव, पारिवारीक व्यवस्थापन,ईमान्दार राजनिती, नैतिक समाजसेवा, सात्विक खानपिन, अतितबाट सिकाई, वर्तमानसंगको सर्मपण र भविष्यप्रतिको आशावादिता आदि इत्यादि ।
हामी बाहिर निस्कदा पनि घाम उसै गरी चर्किरहेको थियो तर हामीलाई त्यसको कुनै प्रवाह थिएन । किनकी हामी भर्खरै एउटा असल व्यक्तित्वसंग चाज्र्ड भएर निस्किएका थियौ । मेरो कानमा उनको भनाई मन्त्रजस्तो बनेर गुन्जीरहेको थियो, “असल बन्नु नै धेरै अर्थमा जित्नु हो ।”
इतिश्री

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण