५१ किलो मालाबारे स्वास्थ्यमन्त्री गगनले दिए स्पष्टिकरण
काठमाडौं, १३ असोज : बुधबार बाँके, कोहलपुरमा पहिर्याइएको ५१ किलो फूलको मालाबारे स्वास्थ्यमन्त्री गगन थापाले स्पष्टिकरण दिएका छन् ।
मन्त्री थापाले बिहीबार विहान आफ्नो फेसबुक पेजमा स्टेटेस लेख्दै ‘ कोहलपुर बासिको तर्फबाट ठूलोमाला’ पहिर्याइए पनि आफूले हटाउन लगाएको बताएका छन् ।
मन्त्री थापा बुधबार स्वास्थ्य मन्त्रालयको क्षेत्रीय समीक्षा गोष्ठीका लागि कोहलपुर पुगेका बेला उनलाई ५१ किलोको माला पहिर्याइएको थियो । मन्त्री थापाको काँधमा ५१ किलाको माला देखिएपछि सामाजिक सञ्जालहरूमा उनको चर्काे विरोध भयो । मन्त्री थापाले पनि पूरानै परम्परालाई निरन्तरता दिइएको कतिपयले टिप्पणी गरे ।
त्यसपछि उनले बिहीबार फेसबुकबाटै स्पष्टिकरण दिएका हुन् ।
उनले भनेका छन्, ‘मध्यमांचलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वाथ्य चौकी पुगेँ ढोकामा हिँड्दा हिँड्दै अकस्मात ‘कोहलपुर बासिको तर्फबाट ठूलोमाला’ भन्दै माला पहिर्याइयो, मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ । मञ्चमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मञ्चमा बोलाएर मलाई सो कुरा मननपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्याउन आग्रह गरेँ ।’
आफू यस्तो बिषयमा अल्मलिएर, रमाएर नबस्ने उल्लेख गर्दै मन्त्री गगनले भनेका छन्, ‘तर यति सानो कुरालाई लिएर कोलाहल मच्चाउनेहरुले फेरी एकचोट प्रमाणित गरेका छन् कि मैले के बिराउँला र यसलाई देखाइदिउँला भनेर बसेको एउटा जमात छ । त्यसैले आफूले गल्ति नगरे पनि वरिपरीको कुरामा समेत ध्यान दिएर काम गर्नुपर्छ, नचुकिकन थप मेहनत गर्दै जानुपर्छ भन्ने पाठ पनि सिकाएको छ ।’