प्यूठानको बाढीप्रभावितहरुलाई भूकम्प पीडित सरह र राहत पुर्नस्थापनाको प्याकेज उपलब्ध गराइने घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले गत असार र साउन महिनामा प्यूठान आएको बाढीपहिरोबाट प्रभावितहरुलाई भूकम्प पीडित सरह राहत तथा पुर्नस्थापनाको प्याकेज उपलब्ध गराइने घोषणा गर्नु भएको छ । उहाँले पहिरो पीडित परिवारलाई दशै र तिहार चाडपर्व खर्चको लागि तत्कालै प्रति परिवार १५ हजार रुपैयाँ उपलब्ध गराईने पनि घोषणा गर्नुभयो ।
शनिवार प्रभावित क्षेत्रको हेलिकोप्टरबाट अवलोकन पछि वाहानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले दैवि प्रकोपका कारण पीडित भएकाहरुलाई राहत, पुनर्निर्माणकालागि आवश्यक बजेट उपलब्ध गराउने सरकारको निर्णय भएको भन्दै सोहीबमोजिमकाम प्यूठानका पीडितहरुलाई पनि राहत उपलब्ध गराइने बताउनुभयो । सरकारको काम जनताको सेवा गर्ने भएकाले जनताले दुःख पाउँदा सहयोग गर्नु सरकारको कर्तव्य भएको बताउँदै प्यूठानका बाढिपहिरो पीडितहरुलाई नआत्तिन आग्रह गर्नुभयो ।
गत असार तथा साउनमा प्यूठानमा बाढी पहिरोमा परि ५६ जनाको मृत्यु हुनुका साथै झण्डै एक हजार स्थानीयवासी पूर्णरुपमा विस्थापित भएका थिए ।