गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यचिकित्सकको लापर्बाहीका कारण एड्स सङ्क्रमित भएँ

चिकित्सकको लापर्बाहीका कारण एड्स सङ्क्रमित भएँ

October 2, 2016३९७ पटक
आइतवार, अशोज १६,
 4

रोल्पा, असोज १६: जथाभावी यौन सम्पर्क राख्दा एचआइभी सर्छ भन्ने सुनेको भए पनि आफू भने चिकित्सकको लापर्बाहीबाट कारण एचआइभी सङ्क्रमित भएको रोल्पा प्लसका अध्यक्ष राधा विकको आरोप छ । आजभन्दा करिब २९ वर्ष पहिले खुंग्री–५ रोल्पाका दामे विकसँग मागी विवाह गरेकी विकले श्रीमान्बाहेक अन्य कसैसँग शारीरिक सम्पर्कमा नरहेको उनको भनाइ छ ।

आफू पतिव्रता हुँदाहुँदै पनि एचआइभी सङ्क्रमित भएर जीवन बिताउनुपर्दा चिन्तित भएकी उनले प्रश्न गरिन्,‘श्रीमान् एचआइभी एड्स सङ्क्रमित हुनुभएको छैन, म पनि कुनै परपुरुषको सम्पर्कमा गएकी छैन भने कसरी सङ्क्रमित भएँ तपार्इं आफैँ भन्नुस् न ।’ उनका अनुसार १५ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी विक दोस्रोपटक सुत्केरी हुँदा २०५७ सालमा धेरै बिरामी परेकी थिईन् ।

चिकित्सकका अनुसार यसरी बिरामी परेकी विकको शरीरमा रगतको मात्रा एकदमै न्यून रहेकाले थप रगत दिनुपर्ने भयो । उनले आफ्नै श्रीमान् दामे विकबाट केही रगत लिए पनि अपुग भएपछि अन्य व्यक्तिको रगत पनि प्रयोग भएको थियो । त्यसैबेलामा आफूलाई एचआइभी एड्स सरेको हुन सक्ने उनको भनाइ छ ।

सुत्केरी भएका बेला करिब एक महिना निरन्तर रगत बगेपछि उपचारको क्रममा उनलाई नेपालगन्जको भेरी अञ्चल अस्पताल र काठमाडौँको टिचिङ अस्पताल उपचारार्थ लगिएको थियो ती मध्ये एक अस्पतालको लापरर्बाहीले सो रोग सरको हो उनलाई पत्तो छैन । आजभन्दा करिब १५/१६ वर्ष पहिले बिरामी हुँदा यसरी थप रगत लिएकी विक केही समयपछि निको भएकाले अस्पतालबाट निकै खुसी भएर घर फर्किन तर त्यसको करिब डेढ वर्षपछि लगातार पखाला लाग्ने, टाउको दुःख्ने र तारन्तार ज्वरो आउने बेथाले उनलाई छोडेन ।

नजिकैको औषधि पसलबाट औषधि किनेर खाएको १०÷१५ दिन ठीक भए पनि बेथा बल्झिरह्यो । यसरी दुई तीन वर्ष सामान्य उपचारमा दिन बिताएपछि राम्रो उपचारको खोजीमा विक घरपरिवार र जानेबुझेका मान्छेको सल्लाहमा काठमाडौँको टेकु अस्पतालमा थप उपचारका लागि गएकी थिईन् ।

त्यहाँ विकको दिसा, पिसाबका साथै रगत जाँच पछि आएको रिपोर्टमा एचआइभी सङ्क्रमण देखिएको कुरा चिकित्सकले सुनाएपनि यसबारे राम्रो ज्ञान नभएकी विकलाई यसबाट खासै प्रभाव पारेन । तर यस्को सङ्क्रमणका बारेमा चिकित्सकले केही जानकारी गराएपछि भने उनको होसहवास उडेको थियो।

अब श्रीमान्लाई यसबारे कसरी भन्ने भन्दै उनी निकै चिन्तित बनिन् । त्यतिबेला उनका श्रीमान् दामे विक रोजगारीका लागि पुनः दिल्ली पुगेका थिए । विसं २०५८ को दसैँमा घर आएका बेला श्रीमान् दामेसँग आफूले सबै कुरा गरेपनि उनले पनि एचआइभीलाई सामान्य रुपमा लिए । एक दुई हप्ता सामान्य उपचार गरे ठीक भइहाल्छ भन्ने उनको बुझाइ बनेको थियो ।

दोस्रो पटक आफूलाई जचाउन लैजादा यरबारे राम्रोसंग बुझेपछि मात्र दोधारमा परेका श्रीमान् दामे विकले भने,‘तीन तीनवटा बच्चा जन्मिसकेपछि श्रीमती छोड्न पनि मिलेन सँगै बस्न पनि गाह्रो हुनेभयो भनी निकै चिन्तित बनेको थिएँ । तर मलाई उनको चरित्रमाथि कहिल्यै शङ्का लागेन । म आफूभन्दा बढी उनलाई विश्वास गर्छु।’

यसै विषयमा दाङ प्लसको तालिममा दुवैजना सहभागी भएका थियौँ । त्यो तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको थियो । हिजो आजजस्तो त्यतिबेला एचआइभी एड्स सङ्क्रमणका बारेमा गाउँ सहरमा खासै चर्चा हुँदैनथ्यो तर समाजमा धेरै एचआइभी एड्स सङ्क्रमित रहेछन् भन्ने कुरा थाहा भयो र आफ्नो मन बुझाउन थालेँ श्रीमान् विकले भने ।
केहीदिनपछि सबैको सल्लाहमा काठमाडौँको टेकुमा पुगी श्रीमान् विकको पनि रगत जाँच भयो तर उहाँमा सङ्क्रमण देखिएन ।

मान्छे जीवनसँग हारेर मर्छन् । तर मलाई मर्ने रहर कहिल्यै लागेन श्रीमती विकले भनिन्,‘सङ्क्रमित हुनुमा मेरो के दोष ? उनको प्रश्न छ ।’ एचआइभी एड्स सङ्क्रमित भएको केही वर्षपछि विकलाई सङ्क्रमितको अधिवेशनमा काठमाडौँमा जाने मौका मिल्यो । हरेक जिल्लाबाट कम्तीमा दुई दुईजना बोलाइएको सो कार्यक्रममा ३०० जना जतिको सहभागितो थियो । त्यस कार्यक्रमबाट जीवनमा केही गर्ने ऊर्जा बोकेर विक रोल्पा फर्कनुभयो र उहाँलाई जिल्लामै अन्य एड्स सङ्क्रमितका हक अधिकारका लागि केही गर्ने मौका मिल्यो ।

त्यसपछि जिल्ला फर्किएर विकलगायत अन्य नौजना सङ्क्रमित मिलेर २०६४ सालमा आफ्नै अध्यक्षतामा रोल्पा प्लस स्थापना गरे । संस्था सञ्चालनपछि जिल्लाका सङ्क्रमितलाई खोजी गर्ने, उनीहरुलाई अस्पताल वा उपचारको पहुँचसम्म पु¥याउने, परामर्श दिने र सङ्क्रमितका परिवारजनसँग भेटघाट गराउने काम थाले ।

कतिपय गाविसमा सङ्क्रमितलाई नछुने, दुव्र्यवहार गर्ने, परिवारले पनि भेदभाव गर्ने भएका कारण सङ्क्रमित पशुवत तरिकाले जीवन जीउन बाध्य भएका थिए भने कसैकसैलाई गाउँबाटै निकाला गरिएको घटना पनि विकले सुनाए । चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा, एउटै लुगाफाटो लगाउँदा, एउटै ओछ्यानमा सुत्दा एचआइभी एड्स सर्दैन भन्नेबारेमा हामीले सबैलाई गाउँमा पुगी जानकारी गराएपछि जिल्लामा एचआइभी सङ्क्रमितहरु खुलेर आउन थाले र स्वेच्छिक परामर्श लिनेको सङ्ख्या पनि बढ्यो ।

विकका अनुसार २०६५ सालमा एनसार्क रोल्पाले जिल्लामै पहिलो पटक भिसिडी सञ्चालन सुरु ग¥यो भने २०६६ सालमा जिल्ला अस्पताल रेउघामा पनि भिसिडी सञ्चालन गरेपछि सङ्क्रमितलाई थप सुविधा हुन थालेको उनको भनाइ छ । हाल विक परिवार नातिनातिनी र तीन सन्तानसहित रोल्पाको सदरमुकाम लिबाङमा तरकारी र चियानास्ता पसल सञ्चालन गर्दै आएको छ । हामीले एड्स सङ्क्रमितका लागि जिल्लामा सके जति ग¥यौँ तर गत असारदेखि रोल्पा प्लसमा कार्यक्रम सकियो । अब फेरि कार्यक्रम थपिए सङ्क्रमितका लागि केही गर्ने सोच छ विक दम्पतीले एकै आवाजमा भने । छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई भने झैँ हामी त सन्तानको खुसीमा रमाउनुपर्छ ।

श्रीमान्–श्रीमती मिलेर खुलेर काम गर्न सके जिन्दगी रमाइलो छ । त्यसैले सङ्क्रमितलाई हेलाँ होइन माया गर्नुपर्ने उनीहरुको धारणा छ । मलाइ त सङ्क्रमित हुँ जस्तो लाग्दैन भर्खर त नातिनातिनी देखेकी छु पनाती पनातिनी हेरेर मर्ने मन श्रीमती विकले भनिन् ।

हाल जिल्लामा एचआइभीसङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । तर राज्यले सङ्क्रमितका लागि गर्नुपर्ने जति नगरेको उनीहरुको गुनासो छ । राज्यले हाम्रा लागि केही नगरेको भए पनि हामीले रोल्पाबाट धेरै नेता पठाएका छौँ उहाँहरुले त पक्कै केही गर्नुहुन्छ भन्ने आशा छ । नेताले हाम्रा लागि केही गरे सङ्क्रमितलाई जीवनमा थप केही गर्ने हौसला मिल्ने थियो अध्यक्ष विकले भने ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण