स्वास्थ्यकर्मी माथि भएको दुव्र्यबहार प्रति चिकित्सकहरुको विरोध
रबिन्द्र प्रताप गुप्ता/भैरहवा, १९ असोज । गत असोज ७ गते दोलखा जिल्लाको चरिकोट स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बालक महादेव रिजालको मृत्यु भए पछि उत्पन्न गराइएको परिस्थिती प्रति भीम अस्पताल भैरहवाका चिकित्सकहरुले विरोध गरेका छन ।
विद्यमान कानूनको उल्लंघन गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासन माथि गरिएको दुव्र्यवहार तथा उनीहरुलाई निरीह बनाई माफी माग्न लगाई त्यसको भिडियो बनाई प्रचार गर्नु अत्यन्तै निन्दनीय काम भएको भन्दै अस्पतालका चिकित्सकहरुले सोमबार हातमा कालोपट्टी बाँधेर विरामीको उपचार गरेका छन ।
दोलखामा भएको उक्त घटनाले सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा तथा आत्मसम्मानमा प्रश्न चिन्ह खडा गरेको र यो घटना स्वास्थ्यकर्मी प्रति लाञ्छना लगाउने अहिलेको प्रतिनिधि घटना मात्र भएको सी.एम.ए संघ रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले बताए । उनले यस घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कानून अनुसार कारवाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कानूनी व्यवस्था गर्न र बिरामीको सेवामा रात दिन खटिने स्वास्थ्यकर्मीको सुरक्षा हुनु पर्ने समेत माग गरेका छन ।