सीपमूलक काममा भैरहवा कारागारका कैदीबन्दीहरु
रबिन्द्र प्रताप गुप्ता/भैरहवा, असोज २०। रुपन्देहीको भैरहवा स्थित जिल्ला कारागार कार्यालयको मातहत अन्तर्गत रहेका कैदीबन्दीहरु पनि सीपमूलक काममा अग्रसर भएका छन् । कारागार भित्र आफ्नो सजाय भोगिरहेका उनीहरुले आफ्नो खाली समय सदुपयोग गर्नुका साथै केही मात्रामा आम्दानी समेत हुने भएका कारण कारागार भित्रै सिपमूलक कामको थालनी गरेका हुन् ।
उनीहरुलाई कारागार भित्र कुनै तालिमको व्यवस्था छ न कुनै काम गर्न बाध्य नै बनाइन्छ, तर आफ्नो इच्छा र मन भए जे पनि हुन्छ भन्ने कुरा उनीहरुले प्रमाणित गरेका छन् । कैदीबन्दीहरुले विना तालिम आफ्नो साथीहरुको सहयोगमै सिप सिकेर दैनिक रुपमा मुढा उत्पादनको काम गरिरहेका हुन् ।
जिल्ला कारागारमा रहेका ४०० जना बन्दीहरु मध्ये अहिले करिब ५० जना बन्दीहरुले सीपमूलक काम गरेको कारागार प्रमुख सुर्य बहादुर यादवले बताए । उनीहरुले घर तथा कार्यालयहरुमा समेत प्रयोग गरिने विभिन्न साइजका मुढाहरु बनाउने गरेको प्रमुख यादवले बताए । दैनिक रुपमा विभिन्न साइजका गरी कम्तीमा ५० पिस मुढाहरु उत्पादन गर्दै उनीहरुले आफ्नो खाली समयलाई सदुपयोग गरिरहेका छन् । यसरी जेल भित्र पनि सीपमूलक काममा पे्ररित भइ दैनिक रुपमा काम गरिरहँदा आफ्नो बन्दी जीवन पार गरेपछि उनीहरुलाई अरु कुनै विकल्प नआएपनि यसै पेशाबाट जिविकोपार्जन गर्न सक्ने हुँदा यो काम एकदमै उदाहरणीय रहेको कारागार प्रमुख यादव बताउँछन् । उनले थपे अहिलेको लागि पैसा नै कमाउनु भन्दापनि फुर्सदको समय सदुपयोग गर्न र भविष्यको लागि आफ्नो जीवनमा आइपर्ने समस्या समाधानमा यसले उनीहरुलाई सहयोग गर्ने छ ।
यसरी कारागारका बन्दीहरुलाई अहिले दैनिक कम्तीमा ५० मूढाहरु उत्पादन गर्दा पनि उनीहरुबाट उत्पादित ति मुढाहरु माग अनुसार उपलब्ध गराउन भ्याइ नभ्याई भएको कारागारको १ न. चौकीदार जोगेन्द्र कहारले बताए । ती मुढाहरु उनीहरुले अन्त कतै पठाउनको लागि मिहिनेत गर्नुपर्ने अवस्था नभई केवल बुटवल क्षेत्रमा मात्रपनि आवश्यक जति उपलब्ध गराउन सकिरहेका छैनन् ।
यसरी उत्पादित वस्तुको बजारमा व्यापक रुपमा माग भएपछि उनीहरुपनि काम गर्नको लागि थप प्रेरित हुने गरेको चौकीदार कहारले बताए । उनीहरुले उत्पादन गरेको मुढाको साइज अनुसार प्रतिमुढा ३ सय देखि ७ सय सम्म मुल्य तोकिएको समेत उनले बताए ।
यसअघि २०७२ साल बैसाख १२ गते नेपालमा गएको महाभूकम्पमा परी विभिन्न क्षेत्रमा भएका पीडितहरुका लागि उनीहरुले आर्थिक राहत संकलन गरी पठाएर कारागार मै बसे पनि सामाजिक कार्यमा लाग्ने गतिलो उदाहरण बनाएका थिए । साथमा विभिन्न समयमा आवश्यकता अनुसार रक्तदान कार्यक्रम समेत गरी सामाजिक कार्यको राम्रो सुरुवात रुपन्देही कारागारका बन्दीहरुले गरिसकेका छन् ।