गृहपृष्ठ » पत्रपत्रीका, राजनीतिसंसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै

संसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै

October 6, 2016३७० पटक

ca-first-onlinekhabar-10 सरकारले साउन १ देखि नै लागू हुने गरी संसद्का पदाधिकारीदेखि सांसदसम्मको तलब भत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद् सचिवालयको प्रस्तावमा तलब सुविधा वृद्धिको निर्णय गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
सरकारले संसद् सचिवालयको तीव्र दबाबमा संसद्का पदाधिकारीदेखि सांसदहरूको तलब सुविधामा ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्न लागेको हो । मन्त्रिपरिषदको निर्णयसँगै साउन १ देखि लागू हुने गरी प्रतिनिधिसभाका सभामुख, प्रतिपक्षी दलका नेता, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक र सचेतक, समितिका सभापति, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका नेता, प्रमुख सचेतक, विपक्षी दलका नेता र सचेतक तथा समितिका सभापति र सांसदहरूको तलब सुविधा वृद्धि हुनेछ ।
सभामुख र अध्यक्षलाई तलब ६७ हजार २ सय ३०, आवास सुविधा २८ हजार २ सय ७५, विशेष भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय बन्दोबस्त २ हजार, गार्डघर सुविधा २ हजार, पेट्रोल २५० लिटर, अतिथि सत्कार खर्च २ हजार ५ सय, बिजुली र पानीको महसुल बिलअनुसार मासिक सुविधा दिइनेछ । दुवैले बैठक भत्ताबापत दैनिक ५ सय रुपैयाँ र त्रैमासिक रूपमा मोबिल १० लिटर पाउने छन् । सरकारी निवासमा बस्ने सभामुख र अध्यक्षलाई आवास सुविधाबापत पहिलोपटक थप रकम दिन लागिएको हो । यस अतिरिक्त सभामुख र अध्यक्षले स्वदेशमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ र विदेशमा २ सय ५० अमेरिकी डलर पाउने छन्, उनीहरूका परिचारकलाई समेत ४ हजार लुगा भत्ता दिइनेछ ।
सरकारले संसदका सबै पदाधिकारी तथा सांसद सबैलाई १० लाख रुपैयाँको यात्रा बिमा गरिदिनेछ भने पदाधिकारी सांसदको मृत्यु भए परिवारलाई २ लाख आर्थिक सहायता दिनेछ । अशक्त भए ५० हजार रुपैयाँ आर्थिक सहायता दिनेछ । सरकारले प्रतिनिधिसभाका प्रतिपक्षी नेतालाई तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गार्डघर सुविधा १ हजार ७ सय ५० र पेट्रोल २३० लिटर मासिक प्रदान गर्नेछ । यस अतिरिक्त भ्रमण भत्ता (दैनिक) ५ सय रुपैयाँ र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।
राष्ट्रियसभाका सत्तापक्षका नेता, प्रतिपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतकले तलब ६० हजार ९ सय ७०, आवास सुविधा २५ हजार ६ सय ८, सञ्चार सुविधा ३ हजार, अतिथि सत्कार खर्च २ हजार, बिजुली–धारा सुविधा २ हजार र पेट्रोल २३० लिटर मासिक पाउने छन् । यस अतिरिक्त भ्रमण भत्ता (दैनिक) ५ सय र मोबिल ५ लिटर त्रैमासिक रूपमा प्रदान गर्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण