छठलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छः गच्छदार
२२ असोज, मोरङ । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले छठलगत्तै सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
विराटनगरमा पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तराई–मधेसको समस्या चाँडै टुङ्ग्याएर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे ।
कांग्रेस र माओवादी केन्द्रले मात्र चाहँदैमा संविधान संशोधन नहुने भएकाले त्यसका लागि सरकारले सबै दलसँग छलफल गर्नुपर्ने बताउँदै उनले मुख्य दलबीच सहमति नभएसम्म संविधान कार्यान्वयन तथा मुुलुकको समस्याको समाधान नहुने भएकाले कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसवादी दल मिल्नुको विकल्प नभएको बताए ।