जीवित देवी कुमारीको सजिलै दर्शन गर्न पाउने
काठमाडौं २३ असोज । वसन्तपुरस्थित कुमारीघरमा जीवित कुमारीको दर्शनका लागि शनिबारदेखि सर्वसाधारणलाई सहज रुपमा खुला गरिएको छ ।
प्रत्येक वर्ष दसैंको सप्तमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कुमारीघरमा रहेकी कुमारीको दर्शन गर्न सकिने कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।
सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो । सोमबार नवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।