गृहपृष्ठ » पत्रपत्रीका, समचारचालकबाट दसैं खर्च जुटाउँदै प्रहरी पोस्ट

चालकबाट दसैं खर्च जुटाउँदै प्रहरी पोस्ट

October 9, 2016१३३ पटक

काठमाडौं २३ असोज । आफ्नो गाउँठाउँ छाडेर जता गए पनि दसैंमा घर फर्कनेहरुको लर्को चलेको छ । भारतबाट फर्कने हुन् वा वैदेशिक रोजगारबाट फर्कने हुन् एकमात्र घर फर्कने बाटो नेपालगन्ज छिन्चु नै हो ।

traffic-police1अध्ययन गर्न गएका विद्यार्थी हुन् वा जागिरका लागि जिल्ला छोडेका सबै अहिले जीप र बस रिजर्भ गरी फर्कनेहरुको संख्या हजारौंमा छ ।
नेपालगज, छिन्चु, सल्लीबजार, हुँदै जाजरकोट आउने र चौरजहारी हुँदै रिम्ना जानेहरु पनि त्यत्तिकै हुन्छन् । यो सडक मुख्यतया, डोल्पा, रुकुम, सल्यान, जाजरकोट र सुर्खेतका उत्तरी भेकका बासिन्दाहरुले नियमित प्रयोग गर्छन् ।
नेपालगन्जबाट छिन्चु, सल्यानको सल्लीबजार र सुर्खेतको राकम हुँदै जाजरकोट जाने र सल्लीबजार हुँदै चौरजहारी जाने सडकमा प्रशस्तै प्रहरी विटहरु छन् । नेपालगन्जबाट जाजरकोट पुग्ने १ सय ७६ किलोमिटर सडकमा सेना र प्रहरीका ११ वटा ‘ईन्ट्री पोष्ट’ छन् । कोहलपुर चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुन्जको पहिलो पोष्ट र हर्रेको दोस्रो पोष्टको चेकिङ्गदेखि जाजरकोटको मटेलासम्मको ११ स्थानको चेकिङ्ग र ईन्ट्रीले अझै पनि द्वन्द्वकाल र संकटकालकै झझल्को दिन्छ ।
२०७१ मंसिर ४ गते भुरचौरमा ५३ जनाको ज्यान जाने गरी भएको यात्रुबस दुर्घटनापछि कडाई गरिए पनि पुन: खुकुलो गरिएको थियो । एक वर्ष अघिदेखि चुपचाप रहेका प्रहरी पोस्ट दसैं लागेलगत्तै फेरि सक्रिय भएका छन् । ट्राफिक प्रहरी छिन्चु, सल्लीबजार र राकममा मात्रै छन् ।
सरकारले सीटक्षमता भन्दा बढी यात्रु बोक्न नपाउने नियम कडाईका साथ लागू गर्नुअघि प्रहरी विटमा कमाई राम्रै हुने गरेको थियो । रुकुम, चौरजहारी, जाजरकोट सञ्चालन हुने बसमा खचाखच यात्रु कोच्ने व्यवसायीको फाइदा प्रहरीका नौ वटा ईन्ट्र्ी पोष्टहरुले पनि मनग्गे फाइदा लिएका थिए । ‘नेपालगन्जदेखि जाजरकोटसम्मको जीप भाडा १२ सय ५० हुनेबेला हरेक खेपमा ५ सय बुझाउनु पथ्र्यो’, सनराईज यातायात सेवाका जीप चालक धर्मु बुढाले भने, ‘अहिले ६ सयमात्रै भाडा हुँदा पनि माग्न छोड्दैनन्’
धर्मुले यो सडकमा बस र जीप चलाउन थालेको ७ वर्ष भैसक्यो, जति धेरै यात्रु कोच्यो त्यत्ति धेरै बुझाउनु पर्छ । ‘पोष्टमा गाडी नंबर, लाईसेन्स नंबर र चालकको नाम, यात्रु संख्या लेखाउने बेला कतिपयले कार्यकक्षमै बोलाएर यसो दसैं खर्च माग्छन्, कतिलाई त दिन्छु पनि’ बुढाले भने ।
प्रहरीले माग्ने रकमबारे पोल खोलेर चालकहरु प्रहरीसँग दुश्मनी पनि गर्न चाहँदैनन् । यही सडकमा आउनुपर्छ । प्रहरीसँग दुश्मनी मोलेर गाह्रो हुने चालकहरु बताउँछन् । नेपालगन्जबाट जाजरकोट पुग्दासम्म चीसापानी र हर्रे सैनिक पोष्टबाहेक, छिन्चु, वोटेचौर, मेहलकुना, बालुवासंग्रही, सल्लीबजार, राकम, छेडाखोला, कुदु, मटेलासमेत ९ स्थानमा गाडी ईन्ट्री गराउनु पर्छ ।
‘गाडीको ईन्ट्री र सुरक्षा जाँज गर्नु त राम्रो हो, तर दसैं खर्च उठाउनु नाजायज हो’ नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले भने । उनका अनुसार जिल्लाबाट लागुऔषध र मूल्यवान पत्थरको अवैध चोरी निकासीले जिल्लाकै निर्णयअनुसार सुरक्षा जाँचमा कडाई गरिएको छ । प्रहरीले सडक सुरक्षा र ट्राफिक नियमबारे चालकहरुलाई पनि चेतना जगाउनुपर्छ । गाडी ईन्ट्री गरेर मात्रै सुरक्षाको जिम्मेवारी पूरा भएको भन्न सकिन्न ।
‘हाम्रो जिल्लाको सडकखण्डमा पर्ने छेडा, कुदु र मटेला प्रहरी पोष्टलाई पर्वका नाममा कसैसँग पनि रकम नलिनु भन्ने कडाईका साथ सर्कुलर गरेका छौं’, जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक हिक्मत बोहराले भने, ‘यस्तो भएको भए छानबिन गरी तत्काल कारबाही गर्छु’
भेरी नदीमा पुल नभए पछि यातायात असुविधा भएको जाजरकोटमा १२ वर्षपछि बैशाखमा पक्की पुल निर्माण भएको थियो । वैशाख देखि यातायात सहज भए पनि सिण्डिकेटको जालो र मनपरी भाडा असुली रौकिएको छैन । नेपालगन्जबाट छुटेका बसमा सुर्खेत, सल्यान, जाजरकोटका दर्जनौं बस्तीमा पुग्ने यात्रुहरुले १ सय ७६ किलोमिटरको दूरी पार गर्न दिनभर कुर्नुपर्छ ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण