जनताको आवाज नसुनेको भन्दै अखण्ड बागलुङको माग गर्दै जिल्ला स्थित राजनैतिक दलहरु आन्दोलनतर्फ ,अनिश्चितकालिन बन्दको घो्षणा ।।
बागलुङ भाद्र ७
संघीयताको सिमाङ्कनका विषयमा आफूहरुले गरेको आग्रह शीर्ष नेतृत्वले अटेर गरेको भन्दै बागलुङका राजनीतिक दलहरु आन्दोलित बनेका छन् । बागलुङलाई दुई प्रदेशमा राख्नेगरी गरिएको सिमाङ्कनका विषयमा असन्तुष्टी आएपछि शीर्ष नेतृत्वले बागलुङलाई ‘अखण्ड’नै राख्ने प्रतिबद्धता विपरित पुनः सात प्रदेशमा सहमति गरेको भन्दै दलहरु आन्दोलित भएका हुन् ।
बागलुङमा क्रियाशिल राजनीतिक दलहरुले अखण्ड बागलुङको माग गर्दै अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका हुन । बागलुङमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलका नेताहरुले शीर्ष नेताहरुले बागलुङवासीको भावना विपरित सिमाङ्कनको खाका तयार पारेकाले त्यो मान्य नहुने बताएका छन् । विरोधस्वरुप अहिले विहान ११ बजे बागलुङ सदरमुकाममा सर्वदलीय सर्वपक्षीय विशाल याली निकालिने पनि समितिले निर्णय गरिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले साउन २३ गते शीर्ष नेताहरुबीच भएको सहमतिका विषयमा नेताहरुलाई असन्तुष्टी जनाएपछि सबै शीर्ष नेताहरुले निर्णय सच्चाउने आश्वासन दिएपनि सात प्रदेशमा सहमति हुँदा कार्यान्वयन नभएकाले आफ्नै शीर्ष नेतृत्व विरुद्ध आन्दोलित हुनुपरेको बताउनुभयो ।
एमाले अध्यक्ष श्रीप्रसाद शर्माले जनताको माग पुरा गर्नका लागि बन्द हड्तालनै गर्नुपर्ने परिपाटीको विकास भएको प्रति दुःख व्यक्त गर्दै बाध्य भएर बन्द हड्तालमा उत्रनुपरेको बताउनुभयो । ‘बागलुङका सबै व्यापारिक केन्द्रहरुमा आन्दोलन भइरहेका छन्, शीर्ष नेतृत्वलाई शान्तिपूर्ण तरिकाले आफ्ना माग राखेका थियौं, सुनुवाई होला भनेको सुन्दै सुनेनछन्, त्यसैले आम हड्ताल गर्नुप¥यो ।’ शर्माले भन्नुभयो ।
सिमांकनका विषयमा असन्तुष्ट दलहरुले साउन २४ गते बागलुङ बन्दको आव्हान गरेपछि शीर्ष नेतृत्वले बागलु्ङलाई अखण्ड नै राख्ने प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धता पुनः सात प्रदेशमा सहमति हुँदा कार्यान्वयन नभएपछि आन्दोलित हुनुपरको एकीकृत नेकपा माओवादीका चन्द्रबहादुर थापाले बताउनुभयो ।
बागलुङलाई दुई भागमा टुक्राएको विषयमा जिल्ला सदरमुकाम लगायत गलकोटको हटिया बजार लगायतमा पनि आन्दोलन शुरु भएको छ । दलहरुले सात प्रदेशमा गरको सहमति अनुसार बुर्तिवाङ प्रदेश नम्बर पाँच, बागलुङ बजार प्रदेश नम्बर चार र गलकोट क्षेत्र दुई भागमा विभाजित हुने देखाइएको छ ।
बागलुङबाट छुट्टिने भनिएपछि बुर्तिवाङवासीले पनि आइतबार जिल्ला सदरमुकाम बागलुङमा पत्रकार सम्मेलन गरी जिल्ला टुक्राउने निर्णय कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् । ‘दाङ हामी गइदैन, बागलुङ टुक्राउँन पाइदैन’ भन्ने नारा सहित अब आन्दोलित हुने उनीहरुले बताएका छन् ।