गृहपृष्ठ » साहित्यदशैँ – कविता

दशैँ – कविता

October 11, 2016४३२ पटक

dashain-ko-tikaलाग्न थालेपछी सयपत्रीमा कोपिला
मखमलीले चिरायूको सपना सजाएपछी
जमरामा आँकुरा आएपछी
दुबोले बर्खाको भेल चिरेर
आफ्नो बर्चस्व देखाएपछी
पहाडको गर्भाशयबाट शिशु घामले
आँखा उघारेपछी
डाँडाकाँडाहरुमा तितेपातिले बास्ना छरेपछी
गाउघरमा युवा युवतीको यौवन फक्रेपछी
लिङ्गे पिङ र रोटेपिङले उत्साह बोकेपछी
मेरो मनको दैलो उघारेर
प्रेयसीको आगमन जसरि सुटुक्क पस्छ दशैँ
दिल ,दिमाग र पुरै शरिरमा काउकुती लगाउदै ।
शहरको काँधमा उफ्रीरहेका पाइलाहरु
केहि दिनको लागी यसरि छिरलिन्छन
लाग्छ –
सुस्ताउछ शहर
शहर हलुङ्गो भएको महशुस गर्छ
आकासमा जब उड्न थाल्छन चङ्गाहरु
तब लाग्छ
चङ्गासंगै उडेको छ बाल मन
दिनहरुलाई पश्चिमको डाँडामा लुकाएर
जब जुनले घुम्टो उठाउछ
अनी मन्द हावाले शरिरका अङ्गहरुमा चुम्छ
लाग्छ –
साल जवान भएको छ ।
लाउरे दाइले लगाएको अत्तरको बास्ना
टाँसिन्छ गाउको पसिनामा
साउदी,कतारबाट फर्किनेको
हाँसोले उफार्छ गाउँ
युवा,युवतीको ठाँटबाँटले उज्यालिन्छ
चाउरिएको गाँउको गाला
आमाहरुको काख भरिन्छ
बाबाहरुको साहारामा कोही उभिन्छ
दाजु,भाइ,दीदी,बहिनीहरु
गफा गरेर रात बिताउछन
केटाकेटीहरु बाख्राका पाठा जसरि
यता उता फर्याक्फुरुक गर्छन
अनी आउछ दशैँ
कोईलीलाई बसन्त आए जसरि
हर्ष बोकेर मनको आँगनमा ।
दु:खहरुलाई मनको कुनामा सुकाएर
पिडाहरुमा मुस्कानको मल्हम लगाएर
नयाँ लुगामा शान्ती पोतेर
निधारमा बिजयको टिका पहिरिएर
जब हेर्छ एउटा सामान्य मानिसले
जिन्दगीको ऐना
तब भुल्छ
जिन्दगीको थकाइ र
अन्कमाल गर्छ
प्रेमले यो महान चाडलाई
अनी भन्छ
को भन्छ दशा हो दशैँ ?

प्रज्वल अधिकारी
लमजुङ,
हाल काठमाडौं ,

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण