तिहार नजिकिँदै गर्दा मादल बनाउने ब्यबसायी व्यस्त
सलिम अन्सारी, प्युठान– नेपालको सांस्कृतिक बाजामध्येको मादल पनि एक महत्वपूर्ण बाजाका रुपमा मानिन्छ । पश्चिमेलि संस्कृतिका कारण नेपाली सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेको भन्ने गुनासोकाबीच प्युठानमा भने मादलको बिक्री फस्टाइ रहेको पाइएको छ ।
तिहार सुरु भए सँर्गै देउसी भैलीका लागि आवश्यक मादल बनाउने व्यावसायीको व्यस्तता बढेको हो ।
जिल्लामा नेपालीसामत र बादी समुदायले मादल बनाउने पेशा अपनाउँदै आएका छन् । तिहार लगत्तै मादलको नयाँ ताल तुना कस्ने, खरी हाल्ने र स्वर मिलाउने कामले दिन बित्ने गरेको हँसपुर ६ कास्कोटका सुक बहादुर सामतले बताए उनले खयर जातको काठबाट मादल बनाउने जनाय ।उमेरले ६३को हारहारी पुगेका उनले बिगत ३० वर्ष देखी मादल बनाउदै आएका छन ।
अरु वेला भन्दा तिज र तिहारमा मादल बनाउन भ्याइ नभयाइ हुने उनले सुनाए । मादलको ढुंग्रीमा तालतुना हाल्ने र खरी हाल्ने कामबाट तिहारभरीमा ३० हजारभन्दा बढी कमाई हुने गरेको छ । ढुंग्रीमा तालतुना गरेर खरी हाले वापत १३ सय र खरी मात्र हाल्न परे ३ सय देखि आठ सय रुपैयां ज्याला लाग्छ । नयाँ मादल बनाउन ३५ सयदेखि ४ हजार सम्म लागछ।
हिजोआज उनको दिन मादलको ढुंग्रीमा गोरु र बाख्राको छाना मोहोर्न, खरी हाल्न, घाममा सुकाउन, स्वर मिलाउन र मादल धनीलाई जिम्मा लगाउनमै बितिरहेको छ । तिहारमा प्रयोग गरिने मादल बनाउने व्यस्तताले खाना खाने र विश्राम गर्नेसम्म फुर्सद नभएको सामतले बताए । गाउँघरमा तिहारमा देउसीभैली खेल्नेक्रममा प्रयोग गरिने मादल बनाउन लैजाने प्रचलन छ ।उनि कहाँ हँसपुर गाबिस र यस आसपासका गाउँबाट नया र पुराना मादल बनाउनका लागी लिएर आउने गरेका छन। यस्पाली रोल्पाबाट समेत नयाँ मादलको माग आएको सामतले बताए । तिजबाट नै मादलको माग आउने भएपनी तिहारको बेलामा बढि बिक्ने गरेको सामतको भनाइ छ ।राम्रो बिक्री हुँदा मादलबाट पनि राम्रो आम्दानी हुने गरेको छ । मादलमा तालतुना लगाउने र खरी लगाउने कामबाट राम्रो आम्दानी हुनेभएका कारण आफ्नोलागि तिहारको विशेष महत्व रहेको उनको भनाइ छ।