गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, स्वास्थ्यभाषा बुझेकाले यातनाबाट बच्यौं

भाषा बुझेकाले यातनाबाट बच्यौं

August 28, 2015५२८ पटक

ganesh prasad lamsalगणेशप्रसाद लम्साल/धादिङ । भदौ ११ – बाँचेर नेपाल फर्कन सकिएला जस्तो लागेकै थिएन । राम्रो दाम र काम भनेर रोजगारको लागि मलेसिया गएँ, तर काम पनि भनेको पाइन, तलब पनि भने जति थिएन । प्लाईउड कम्पनीमा काम गर्ने शर्तमा गएका हामीलाई कम्पनीले ठुलो फर्निचरको काममा लगायो ।

हामीले भनेको काममा नलगाउने भए हामी काम गर्दैनौं भनेर प्रतिवाद गर्‍यौं तर हामीलाई काम नगरेको भन्दै यातना दिएर राखियो । मिलेनियम म्यानपावरमार्फत मलेसियामा प्लाईउड कम्पनीमा काम गर्ने गरी २०७१ सालको दसैँको मुखैमा भिसा लाग्यो । सबैतिर दसैँको उमंग छाउन थालेको थियो ।

तर एकपटक मलेसिया गएर फर्किएकाले मलाई फेरि पनि जाउँ भन्ने लाग्यो । कामको लागि मलेसिया पुगेपछि भनेको काम नभएपछि मसँगै गएका नेपाली कामदारले काम गर्न मानेनौं, तर कम्पनीले जबरजस्ती काममा लगायो । अटेर गर्नेलाई पिट्ने गर्न थाल्यो । हामीलाई पिट्ने चाहिँ नेपाली नै थिए ।

अझै पनि भनेको काम नदिए फर्कने भनेर अड्डि कस्ने गर्दै गर्दा एक दिन मालिकले घर जाने को को भन्दै गाडीमा बस्न आग्रह गर्‍यो । अब भने घर जान पाइने भयो भनेर सबैजना गाडीमा बस्यौं । गाडीमा बसेपछि कम्पनीका मालिकले मलाय भाषामा हामीलाई अर्कै ठाउँमा लाने र कडा यातना दिने भनेको मैले बुझें । पहिले पनि मलेसिया गएकाले मैले त्यहाँको भाषा राम्रोसँग बुझ्थें ।

त्यसपछि मैले काठमाडाैंको मेनपावरमा फोनमा कुराकानी नगरी आफुहरु नजाने अड्डी कसें । त्यसपछि कम्पनीले कुराकानी गर्न दियो । मैले मिलेनियम मेनपावरका मेनेजर सिताराम रेग्मीसँग कुराकानी गर्दै आफूहरुलाई कम्पनीले अभद्र व्यवहार गरेको, भनेजस्तो काममा नलगाई अप्ठ्यारो काम लगाएको र अहिले यातना दिन लान लागेकोले आफुहरुलाई तत्काल नेपाल फर्काउन आग्रह गरें, अनि भएन भने ठिक हुँदैन भनेर चेतावनी पनि दिएँ ।

त्यहिँबाट मैले काठमाडौंमा भएका आफन्तलाई पठाएर सिताराम रेग्मीलाई समाउन लगाएँ । त्यसपछि भने सितारामले कम्पनीमा फोन गरेर नेपाली कामदारलाई छाडिदिन आग्रह गरेपछि छुट्यौं । तर केही समयपछि भने मलाई कम्पनीले नेतागिरी गरेको भन्दै यातना दिन सुरु गर्‍यो । घरमा भएकी श्रीमतीले मलाई फर्काउन नेतादेखि चिने जानेसँग गुहार मागिछिन् । तर डेढ महिनासम्म पहल गर्दा पनि सकिनन । उनले मलाई मैले यता केही गर्न सकिन, अब त्यतैबाट नै केही उपाय लगाएर घर फर्कनुस् भनिन् ।

तर एक दिन धादिङवेसीमा विदेश गएर दुःख पाएकाहरुलाई सहयोग गर्ने सामी परियोजनाको बारेमा सुनिछन् र त्यहीँ गएर मलाई नेपाल फर्काउन पहल गरिछन । त्यसपछि सामि परियोजनाले उनलाई बैदेशिक रोजगार विभागदेखि मिलेनियम म्यानपावरसम्म पुर्‍याएछ । म पनि फर्किने बाटो हेरिरहेको थिएँ । दुवैतर्फ प्रक्रिया सुरु भएपछि अन्तमा कम्पनीले मलाई नेपाल फर्कायो ।

म मात्रै होइन मसँगै गएका अरु पनि नेपाल फर्किए । कमाई त परै जाओस उल्टै ३ लाख ६५ हजार खर्च भयो विदेश जाँदा र घर फर्किँदा । मैले पछि म्यानपावरले गलत काममा पठाएको भनेर डेढलाख रुपैयाँ त फिर्ता लिएँ । घर फर्कौंला भन्ने आशा मारेर बसेको थिएँ, तर फर्किन पाएँ । अहिले घरमा परिवारको साथमा खुसीसँग बसिरहेको छु ।

अहिले त मलाई श्रीमतीले पनि खान नपुगे खोले खाउँला, सिस्नु खाउँला, जे जस्तो दुःख परेपनि परिवारका सदस्य सबै एकै ठाउँमा हुँदा म खुशी छु भन्छिन् । म पनि यही चाहन्छु । तर भूकम्पले घर भत्काएपछि भने घर बनाउन फेरि विदेश नगई अर्को के उपाय लाग्ला र ?
– रामकुमार थापाले गरेको कुराकानीमा आधारित

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण