गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार​अमेरिकी भिसा त्यागेर देशकै ठूलो गाईफार्मका मालिक, वार्षिक ५ करोड आम्दानी, ३० जनालाई रोजगारी

​अमेरिकी भिसा त्यागेर देशकै ठूलो गाईफार्मका मालिक, वार्षिक ५ करोड आम्दानी, ३० जनालाई रोजगारी

September 6, 2015५०३ पटक

काठमाडौं । नेपालजस्तो गरिब देशका जनताका लागि संसारकै धनी मुलुक अमेरिका जान पाउनु भाग्य मान्ने सोच अहिले पनि छ । आजभन्दा १५ वर्षअघि ममा पनि त्यस्तै सोच पलायो । त्यतिबेला म सरकारी विद्यालयमा स्थायी शिक्षकको जागिरे थिएँ, आफ्नै पेट्रोल पम्प पनि चलाएको थिएँ ।

बुटवलमा घरजग्गा भएकाले आर्थिक अवस्था पनि राम्रै थियो । तर, अमेरिका जानुपर्छ भन्ने भूतले सताएपछि सरकारी जागिरबाट राजीनामा दिएँ, पेट्रोल पम्प पनि बेचेर अमेरिका हान्निएँ । त्यतिबेला अमेरिकाले बिरलै नेपालीलाई मात्र एकैपटक ५ वर्ष अवधिको भिसा दिन्थ्यो, जसमा म पनि परें ।

नेपालीहरूका लागि सपनाको देश मानिने र हरेक कुराले सुविधासम्पन्न देश अमेरिका त पुगें तर त्यहाँको बसाइ २ हप्ता पनि बित्न नपाउँदै मनमा अनेक कुरा खेल्न थाले । त्यहाँका सफा सडक, आलिशान महल, चिल्ला गाडीजस्ता जे जति सम्पन्नता, वैभव र विकास देखें, ती विदेशीका लागि त होइन, अमेरिकीहरूकै लागि न हो भन्ने महसुस हुन थाल्यो । मैले अमेरिकामा जति पसिना बगाए पनि त्यो आफ्ना लागि हुन्न भन्ने महसुस गरें ।

श्रीमती र परिवार सबैलाई अमेरिका लैजाने सोचका साथ अमेरिका पुगेको मेरो मनले त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्न मानेन, मनमा देशभक्तिको भावना प्रबल भएर आयो । फलस्वरूप नेपाल फर्किएर स्वाभिमानपूर्वक आफ्नै माटोमा केही गर्ने अठोटका साथ ५ वर्षको भिसा त्यागेर तेस्रो हप्तामै नेपाल आएँ । कतिपयले मलाई बुद्धि बिग्रेको भने तर मैले वास्ता गरिनँ ।

नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि वा पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र छन्, यसलाई तोडेर व्यावसायीकरण र आधुनिकरण गर्न सके मात्र कृषिले काँचुली फेर्न सक्छ भन्ने लागेर आफूलाई त्यतै केन्द्रित गरें । व्यावसायिक ढंगबाट गाई पाल्ने निधो गरें । यसका पछाडि धेरै कारण छन् । सरकारले नेपाललाई कृषिप्रधान मुलुक भने पनि व्यवहारमा लागू भएको छैन । कृषिका लागि मुख्य आवश्यक प्रांगारिक मल नै छैन । यसका लागि पशुपालन गर्नुपर्छ । रासायनिक मलमा खर्च हुने वार्षिक अर्बौं रुपैयाँ जोगिन्छ र उत्पादन बढ्छ, माटोको उर्वराशक्ति पनि जोगिन्छ । प्रांगारिक मलबाट अर्गा्निक उत्पादनले स्वास्थ्य पनि राम्रो हुन्छ । अर्कातर्फ नेपालमा मासिक झन्डै ५ लाख लिटर दूध अपुग रहेको र भारतबाट आयात गर्नुपरेको अवस्थामा गाईपालन गर्दा बजारको कुनै समस्या थिएन । यही सोचले ०६५ मा गाईपालनतिर लागें ।

गाई पाल्न लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिमार्फत रुपन्देहीको टिकुलीगढमा १० बिघा जग्गा किनेर आधुनिक शैलीको गोठ बनाएँ । सुरुमा होलस्टन र जर्सी जातका २ सयभन्दा बढी गाई ल्याएँ । अहिले फार्मको क्षेत्रफल बढेर २० बिघा भएको छ । सुरुमा २५ करोड लगानी भएकोमा अहिले झन्डै ८० करोड रुपैयाँ पुगेको छ भने गाईको संख्या करिब ५ सय छ । अहिले दैनिक सरदर १ हजार लिटर दूध उत्पादन गर्छु, जसबाट वार्षिक ५ करोड रुपैयाँ आम्दानी हुन्छ । मेरो गाई फार्म अहिले नेपालकै ठूलो हो । यहाँ ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मेरो फार्ममा दूध दुहुने १२ वटा मेसिन छन् । एउटा मेसिनले एकपटकमा १२ वटा गाई दुहुन मिल्छ । यहाँ दूध चिस्याउने मेसिन पनि छ । गाईबाट बाच्छीमात्रै जन्माउन मिल्ने ‘सेक्समिन ब्रिडिङ’ प्रविधि पनि छ । घाँस काट्ने मेसिन, प्रांगारिक मल कारखाना, दाना उद्योग पनि छ । फार्ममा सीसीटीभी क्यामरामार्फत अनलाइन मनिटरिङ गरिन्छ ।

उत्कृष्ट काम गरेको भन्दै ०६७ मा राष्ट्रपतिबाट विकास रत्नले विभूषित भएँ भने ०६८ मा विश्व बैंकबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा छनोट भई उपविजेता भएँ । विश्व बैंकले मेरो फार्मलाई ७७ लाख अमेरिकी डलर अनुदान दिने गरी छनोटसमेत गरेको छ । त्यस्तै, ०७१ मा उत्कृष्ट कृषि सम्मान प्राप्त गरें ।

पशुपालनमा योगदान पु¥याएको भन्दै सरकारले हालै इजरायल र अस्ट्रेलिया भ्रमणमा पनि सहभागी गरायो । अहिले मेरो गाई फार्म हेर्न देशभरिबाट दैनिक सरदर २ सय जना आउँछन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, झलनाथ खनाल, अर्थमन्त्री, कृषिमन्त्री, योजना आयोगका उपाध्यक्ष, गभर्नर, मुख्य सचिवसँगै विभिन्न दलका शीर्ष नेताहरू आइसक्नुभएको छ । सहकारी, विश्वविद्यालय, कलेज, विद्यालयबाट पनि आइरहन्छन् ।

म अमेरिका बसेर त्यहाँको नागरिक नै बनेको भए पनि त्योभन्दा लाखौं गुणा बढी सन्तोष देशमै मिलेको छ । सरकारले अझै पनि कृषिमैत्री नीति बनाउन सकेको छैन । सरकारले भारतबाट प्रतिलिटर ५५ रुपैयाँमा दूध किन्छ तर नेपाली कृषकलाई ३५–३६ रुपैयाँमात्र दिन्छ । कमिसन खानका लागि गरिने यस्तो राष्ट्रघाती व्यवहारको अन्त्य हुनुपर्छ । अनिमात्र नेपाल दूधमा आत्मनिर्भर हुन्छ । सरकारले कृषकमैत्री नीति बनाउने र लागू गर्ने हो भने म एक्लैले ३ हजार गाई पालेर विश्वकै ठूलो गाई फार्म बनाउन सक्छु ।
प्रस्तुति स: टोपराज शर्मा/कारोबार arthadainik.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण