गृहपृष्ठ » देवदह-रत्नएउटा कर्मठ जनसेवक

एउटा कर्मठ जनसेवक

January 3, 2017४८ पटक
10583824_936698733094916_1645787357668412594_n

  लेखक :विनोद उदय

मिति २०७३ साल असोज ०३ गते केरवानी स्वास्थ्य चौकी, ढेकावर, देवदहमा एउटा कार्यक्रम थियो, उपस्थित सबैजना उदास उदास देखिन्थे । मुर्झाएका फुल जस्ता । त्यहाँ उदासीपन व्याप्त हुनु नितान्त स्वभाविक थियो किनभने त्यो कार्यक्रम विदाई कार्यक्रम थियो । तर त्यहाँ त मान्छेहरु बढ्तै उदास थिए । कतिपय रोईरहेका देखिन्थे । विदाई गीत गाउन गएका दिदिहरु त स्टेजमै बेस्सरी भक्कानिए । जागिरबाट सेवा निवृत्त हुँदाको विदाई पनि यस्तो ! यो कुनै ठुला राजनेताको विदाई थिएन । ति उदास मान्छेहरु कुनै अमुक राजनितिक पार्टीका कार्यकर्ता पनि थिएनन् । जनता थिए तिनीहरु । जनताको माया र श्रद्धा पाउनु त यस्तो । त्यो भावुक विदाई, त्यो माया, त्यो श्रद्धा, त्यो सम्मान पाउने भाग्यमानी व्यक्ति थिए, ईश्वरी ढुङ्गाना । केरवानी स्वास्थ्य चौकीका तत्कालिन प्रमुख ।
०००                                ०००                           ०००

यिनै भाग्यमानी व्यक्तिलाई भेट्न हामी पुगेका थियौ, मंसिरको दोस्रो  साता । हामी भन्नाले यो पंक्तिकार र लेखक मित्र बिष्णु विवश पोखरेल । हामी पुग्दा यि स्वास्थ्यकर्मी बेड रेस्ट गरिरहेका थिए । केही दिन पहिले यिनको हर्नियाको शल्यक्रिया भएको रहेछ । देवदह मात्रै नभएर यिनी जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ उत्तिकै सम्मानित र श्रद्धेय छन् । मैले पनि यिनको चर्चा सानै देखि सुन्दै आईरहेको थिए । एउटा इमान्दार र सत्यनिष्ठ व्यक्तित्वको रुपमा । भेट त हाम्रो भइ नै रहन्थ्यो । तर आजको भेट अलि बेग्लै थियो । मैले ‘देवदह रत्न’ स्तम्भ सुरु गरेदेखि नै देवदह, खैरेनीका स्थायी बासिन्दा ईश्वरी ढुङ्गानाको नाम धेरैले सिफारिस गरेका थिए मलाई । फलस्वरुप हामी उनको घरमा उपस्थित थियौ । हामी उनको विगततिर लाग्यौ ।
०००                                              ०००                                                 ०००

पातलो ज्यान, गोरो काया, ठिक्कको उचाई, चम्किलो अनुहार । यो हो उनको शारिरीक हुलिया । सरल, शान्त र निरन्तर काममा खटिरहने । इमान्दार । मुख भन्दा धेरै हात चलाउने । यो हो उनको स्वभावजन्य हुलिया । र यो हुलिया नै उनको खास परिचय हो ।  वि. सं. २०१३ असोज ०३ गते चिर्तुङधारा–८, चिलाङ्दी, पाल्पाको एउटा मध्यम वर्गीय परिवारमा पिता स्व. पद्मराज उपाध्याय र माता भूमाकान्ती उपाध्यायका जेठा सन्तानका रुपमा जन्मेका ईश्वरी ढुङ्गानाका तिनजना भाइहरु र एक बहिनी छन् । कक्षा ५ सम्म स्थानीय ग्राम्य प्रा. वि. मा पढेर थप पढाईका लागि उनी तानसेनतिर लागे । प्रवेशिका तानसेनबाटै सकाए । त्रिभुवन बहुमुखी क्याम्पसमा आइए अध्ययन गर्दैगर्दा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, पाल्पामै सिएमए पढ्न भर्ना भए । २ बर्षमा सिध्याए पनि । उता आईए पनि सिध्याए । उनी त्यतिबेला मिसन अस्पतालमा काम पनि गर्थे । यसैबाट थाहा हुन्छ, उनी कति परिश्रमी र लगनशील थिए भन्ने कुरा । पढाई पुरा गरे लगत्तै स्वास्थ्य सेवा विभागको अस्थायी नियुक्ति लिएर उनी तनहुँको रम्घा चुँदीबेसी गए । त्यहाँ रहदा हो नरहरी आचार्य, डा. जयराज आचार्य र क्षेत्रप्रताप अधिकारीजस्ता दिग्गजहरुसंग दोस्ती भएको । केही बर्ष पछि उनको सरुवा कैलालीको भजनी स्वास्थ्य केन्द्रमा भयो । यस बिचमा उनको नियुक्तिले स्थायित्व पनि प्राप्त ग¥यो । उनी कहिले जनकपुर पुगे, कहिले कपिलवस्तुको हतौसा पुगे । केही बर्ष बस्दै सरुवा हुदै गर्दा उनी काठमाडौ पुगे, रोग नियन्त्रण महाशाखामा । करिब दुई बर्ष महाशाखामा बसेर काम गर्दा उनी मनाङ र ताप्लेजुङ बाहेक ७३ जिल्ला पुगे । आवश्यकता अनुसार उनी कान्ति बाल अस्पताल, विर अस्पताल र मानसिक अस्पतालमा पनि खटाइए । उनी जहाँ पुगे पनि उनको एउटै काम थियो, जनताको सेवा । उनलाई स्वास्थ्य सेवामा यसरी मन बस्यो कि लोकसेवा आयोगबाट भूमिसुधारमा नाम निकाल्दा पनि उता गएनन् । यिनै दिनहरुकै बिचमा पाटन क्याम्पसबाट बिए पनि पास गरे ।
काठमाडौको बसाई पनि सकियो । उनी ललितपुर सरुवा भए । त्यहाँ तिन बर्ष सेवा गरे । पुनः सरुवा भयो, रुपन्देहीको छपियामा । पुनः रुपन्देहीकै मोतिपुरमा । पुनः रुपन्देहीकै सिक्टहनमा । पुनः रुपन्देहीकै केरवानीमा । पुनः पाल्पाको फेकमा । पुनः रुपन्देहीकै केरवानीमा । आम्मामा कति धेरै सरुवा ! पञ्चायतकालमा ‘बहुदलमा लाग्यो’ भनेर सरुवा गरेको ग¥यै । बहुदल आएपछि राजनितिक आग्रह–पुर्वाग्रहका कारण सरुवा गरेको ग¥यै । उनलाई भने वाल मतलब । भन्छन्, “जहाँ गएपनि जनताकै सेवा गर्ने हो । बरु उल्टै धेरै ठाउँ देख्न पाइने, धेरै मान्छेहरुसंग चिनजान गर्न पाइने, धेरै मानिसहरुको सेवा गर्न पाइने ।” यो हो नि समस्यालाई अवसरमा बदल्ने तरिका । ग्रेट थट । केरवानी स्वास्थ्य चौकी नै उनको जागिरे जीवनको अन्तिम स्वास्थ्य केन्द्र बन्यो । ४१ बर्षे सेवाअवधि मध्ये जीवनका महत्वपूर्ण १९ बर्ष उनले यही स्वास्थ्य चौकीमा बिताए ।

०००                                              ०००                                                 ०००

वि. सं. २०३३ सालमा पाल्पा भैरवस्थानकी सितादेवी ज्ञवालीसंग विवाह गरेका ढुङ्गाना दुई छोराहरुका पिता हुन् । “छोरी?” मेरो प्रश्न नटुङ्गिदै उनी बोलीहाले “छोरी छैनन् बाबु । जिन्दगीमा मैले केही पाएको छैन भने त्यो छोरी नै हो ।” उस्तै स्थितिबाट गुज्रिरहेको मैले हाम्रो इमोसनल स्टाटस मिल्छ भन्ने ठानेर यस बिषयलाई अझ कोट्याए । उनी भावुक बने । (मैले यतिबेला मेरा मातापितालाई सम्झे ।) भलै उनी आफ्ना छोराहरु र बुहारीप्रति सन्तुष्ट छन् । अझ अहिले त नातिनी पनि छिन्, जून जस्ती । मान्छेको मन न हो आफूसंग जे छैन त्यही खोजिरहन्छ । जीवनको राजमार्गमा ठमठम हिडिरेका हामी एकैछिन कुनै गोरेटो भित्र पस्यौ । थोरै विश्राम ग¥यौ र निस्कियौ । काममा मात्रै होइन विश्राम त इमोसनहरुमा, संवादहरुमा पनि आवश्यक छ नि । त्यसमाथि हामी सुख दुखका कुरा गर्न बसेका जो थियौ । खैर छाडौ यो कुरा । (म पनि भावुक बने कि?)
आफ्नो यात्रामा परिवारबाट यथेष्ट सहयोग पाएको उनी बताउँछन् । अझ जीवनसंगिनी सिताबाट पाएको साथले नै आफूलाई यहाँसम्म ल्याई पु¥याएको उनको ठम्याई छ । “छोराहरु र बुहारीबाट पाएको साथ र सेवाबाट जीवनमा अझै क्रियाशिल रहिरहने उत्साह मिलेको छ ।” उनी मख्ख परे ।
०००                                                           ०००                                                    ०००
केरवानी स्वास्थ्य चौकीमा हुँदा उनले उल्लेख्य काम गरे, स्वास्थ्य चौकीको पूर्वाधार निर्माण देखि गुणस्तरीय सेवा प्रदानसम्म । खासमा जनताहरुले माया गर्ने कारणहरु मध्ये यो पनि एक हो । उनी सरुवा भई आउँदा केरवानी स्वास्थ्यचौकी ढेकावर स्थित दलबहादुर थापाको घरको एउटा सानो कोठामा थियो । अस्थायी भवनको लागि जग हालेपनि खासै काम भएको थिएन । उनले प्राप्त जग्गाको व्यवस्था गरी पूर्वाधार निर्माणका लागि पहल गरे । तत्कालिन गा.वि.स अध्यक्ष निलकण्ठ पौडेलले धेरै सहयोग गरेकोले आफ्नो पहल सार्थक भएको उनी बताउँछन् । हाल स्वास्थ्य चौकीसंग बर्थिङ सेन्टर सहित उल्लेख्य पूर्वाधार र गुणस्तरीय स्वास्थ्य सेवाहरु उपलब्ध छन् । त्यसैले केरवानी स्वास्थ्य चौकीलाई यस क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा लिइन्छ । सरकारी स्वास्थ्य चौकीमा धेरैजसो गरिब जनताहरु आउने भएकाले होला उनी यस क्षेत्रका गरिब जनताहरुका प्यारा र आदरणीय ‘ईश्वरी सर’का रुपमा चिरपरिचत छन् । ‘हाँसी हाँसी उपचार गर्छन्’, ‘बिरामीहरुलाई सम्मान गर्छन्’, ‘रातबिरात नभनी सेवा गर्छन्’, ‘स्पस्ट सल्लाह दिन्छन्’, यहाँका सेवाग्राहीहरुमा उनको बारेमा यस्तै यस्तै किस्सा सुन्न पाइन्छ ।
नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीको संस्थापक अध्यक्ष भई ६ बर्ष काम गरेका उनी पछि ४ बर्ष सम्म केन्द्रिय सदस्य बने । स्वास्थ्यकर्मी साथीहरुको नेतृत्व गरे । हाल संचालनमा रहेको भरतपुर क्यान्सर अस्पतालको स्थापनार्थ कर्ण शाक्य, डा. सम्पूर्णानन्द ढुङ्गाना लगायतको स्थलगत अध्ययन टोलीमा उनी पनि सामेल थिए । देवदहमा पनि एक सरकारी अस्पताल खोल्ने सपना देखेका छन् उनले ।

०००                                                        ०००                                                    ०००

प्रश्न : सेवानिवृत्त जीवन अब कसरी बिताउनुहुन्छ? के छ योजना?
उत्तर : एउटा आफ्नै क्लिनिक छ सानो, त्यसैबाट स्वास्थ्यसेवा प्रवाह गरिरहन्छु ।
प्रश्न: कुनै सामाजिक संघसंस्थामा बसेर काम गर्नुहुन्न?
उत्तर” भन्न त मलाई धेरैले विभिन्न सामाजिक समितिहरुमा बस्नुस् भन्नुभएको छ तर म बस्दिन । मैले जानेको काम स्वास्थ्य क्षेत्रमा मात्रै हो । आफूले नजानेको क्षेत्रमा पदका लागि मात्रै बस्नुछैन मलाई । बरु अरु जानेको मान्छेले काम गरोस् ।
आहा ! कस्तो ईमान्दार अभिव्यक्ति, कस्तो महान् अभिव्यक्ति ।
वास्तवमा यस्ता मान्छे नै वास्तविक ठूला मान्छे हुन् । पद, पैसा र शक्तिलाई ठूलो मान्ने हाम्रो समाजमा यस्ता ‘वास्तविक ठूला मान्छे’ कति होलान्? म सोचमग्न छु ।
०००                                                   ०००                                                      ०००

म यस्तो बेलामा उनीसंग संवादरत छु जतिबेला डा. गोविन्द के. सी. स्वास्थ्य क्षेत्रका विकृतिहरुका विरुद्ध अनसनरत छन् । मैले उनलाई पनि यस बिषयमा सोधी बस्छु । प्रतिक्रिया स्वरुप उनी खिन्न देखिए । भने, “स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा निजी क्षेत्रले ब्रह्मलुट मच्चाएको छ, स्वास्थ्य क्षेत्रमा गरिब जनताको पहुँच कम हुदै गएको छ । सरकार पनि त्यति जिम्मेवार बन्न सकेको छैन । सेवा भनेर मेवा बढी लिने काम भएको छ ।” उनले कुरा टुङ्ग्याए “तर पनि हामी निराश हुन हुदैन । आफ्नो तर्फबाट जति सकिन्छ त्यति ईमान्दार भएर गर्नुपर्छ ।”
साँच्चै, समाजका लागि काम गर्ने र सोच्ने मानिसहरुलाई निराश हुने छुट छैन ।
समाजका लागि काम गर्ने र सोच्ने मानिसहरु निराश हुन मिल्दैन ।
समाजका लागि काम गर्ने र सोच्ने मानिसहरु निराश हुनु हुदैन ।

इतिश्री

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण