गृहपृष्ठ » बिचार/ब्लगघरभित्रै छैन सुरक्षा अन्त कहाँ जानु ?

घरभित्रै छैन सुरक्षा अन्त कहाँ जानु ?

September 6, 2015३८१ पटक

bishnu 2

विष्णु खत्री,रुपन्देही
सरल भाषामा महिला शब्द (मंहिंला ) तिन अक्षर मिलेर बनेको छ । महिलालाई नारी शब्दले पनि बुझने गरिन्छ । र हाम्रो समाजमा बुझने कुरा पनि यहि छ ।    यस्तै अधिकार पनि (अधिकार ) चार अक्षर मिलेर बनेको छ । महिला र अधिकार एक अर्काका परिपुरक हुन् । महिला शब्दको उच्चारण गर्ने बित्तिकै मानिसले यसलाई सरल भाषामै लिने गरिन्छ । तर यसको गहिरो भाव धेरै महिलाले वुझेका छैनन् ।

महिला अधिकारलाई अङ्ग्रेजी Women’s Right भन्ने गरिन्छ । अधिकार प्रत्येक व्यक्ति अर्थात् सबै मानिसहरुले मानव भएको नाताले पाउनै पर्दछ । अधिकार एक देशमा मात्र होइन हरेक देशमा विश्वव्यापीकरण रुपमै पाउनुपर्दछ भनी उल्लेख छ । तर हाम्रो समाजमा जति सेता पानामा लेखिएका महिला अधिकारहरुका कुरा छन् ती पानामा मात्र सीमित रहेका छन् ।यी पानामा लेखिएका अधिकांश विषयहरु नारा र कागजमै सिमित छन् । ती तथ्यलाई उजागर गर्ने संस्था नै चिम्लेर बसेपछि समाजमा महिला हिंसाले झनै सिमा नाघेको छ । नारी अधिकार सम्बन्धि काम गर्ने संञ्चारीका समूह, राष्ट्रिय महिला आयोग, माइति नेपाल, लगायत थुप्रै संस्थाहरु म्हिलाकै पक्षमा कार्य गर्ने उद्देश्यले खोलिएका संस्थाहरु हुन् । तर यी संस्थाको एउटै विषय अहिलेसम्म खड्कीरहेको छ त्यो हो कार्यन्वयन ।

महिलाको समस्यालाई मध्यनजर गर्दै हालै संसदबाट केही निर्णयहरु गरिएका छन् । त्यसै अनुसार संसदबाट महिला अधिकार विधेयक पारित पनि भयो । तर पनि नेपाली समाजको परम्परा र प्रवृतिलाई हेर्दा जबसम्म अधिकांश नेपाली पुरुषहरुमा महिलाहरु पनि उनीहरु समानकै प्राणी हुन् भन्ने चेतना विकसित हुँदैन तवसम्म महिलाहरुको विद्यमान स्थितिमा त्यति सहजै परिवर्तन आउने आशा राख्न सकिंदैन । महिलाहरुप्रति नेपाली पुरुषहरुले जसरी व्यवहार गर्छन् त्यसबाट उनीहरुलाई वास्तवमा लाज लाग्नुपर्ने हो ।

गाउँका महिलाहरुको त कुरै नगरौं । तिनको स्थिति कति दयनीय छ भन्ने कुरो गाउँ देखेकाहरुले मात्र महसुस गर्न सक्छन् । बिहान चार पाँच बजे उठेर गाई गोठ गर्नेदेखि दिनभरि घाँसपात र खेतवारी हेर्ने र साँझ बिहान भान्छाको बस्दोबस्त गर्ने सबै जिम्मा महिलाहरुकै हुन्छ । पुरुषहरुले दिनमा आठ दश घण्टा काम गरेका हुन्छन् । त्यसका साथमा जाँड खाएको श्रीमानको कुटाई सहनेदेखि लिएर थाकेर चुर भएको शरिर श्रीमानले चाहेको बेला उसको यौन तृप्तिका लागि सुम्पिदिनु पनि ती महिलाहरुको दायित्व र कर्तव्यभित्रै पर्दछ । अनि नेपालको परिप्रेक्ष्यमा शिक्षित र सम्पन्न भनिएका काठमाडौं र अन्य कतिपय ठाउँहरुको स्थिति पनि गाउँको भन्दा अलिकति मात्र भिन्न छ । उदाहरणका लागि हामी आआफ्नै घरटोलका कुरा गरौं र एकपल्ट श्रीमान् र श्रीमतीहरुका बिहानदेखिका दिनचर्यालाई विचार गरौं । त्यसैले अधिकारका कुरामा महिला अधिकारलाई सामान्य भाषामा वर्णन गर्दा महिलाहरुको हकहित, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, समानता लगायतका विषयहरु महिला अधिकारभित्र पर्दछन् । त्यसो त अधिकारका कुरामा भने जातजाति, भेषभुषा, संस्कृति, उमेर, लिंग, विचार, ज्ञान, सम्प्रदाय, राष्ट्रियता, अपाङ्गता राजनैतिक आदी जे नाम दिएतापनि फरक नपर्ला ?

शिक्षाको दृष्टिले पुरुष भन्दा पछाडि परेको स्थितीमा शिक्षित महिलाहरु पनि पढेका विषय भन्दा फरक क्षेत्रमा लाग्नु त्यति राम्रो होइन, तसर्थ महिलालाई रोजगारमुलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउनुलाई अहिलेको प्रमुख चुनौतिका साथ योजना बनाउनु सरकारको प्रमुख दायित्व हो । महिलाहरु आत्मनिर्भर भएमात्र अन्य कुराहरुको पनि समस्या समाधान हुने हुदा महिला शिक्षालाई महत्व दिनु अत्यावश्यक छ । आजको यो एक्काइसौ शताब्दीको युगमा महिलाका समस्यालाई पैतालामूनी कुल्चेर राष्ट्र निर्माण गर्न लागियो भने कदापि अगाडि बढ्न् सम्भव छैन ।

महिला अधिकार अन्र्तगत शिक्षा, स्वास्थ्य, संचार, कानुनी प्रत्याभुति समान, हकअधिकार, सुरक्षा–संरक्षण , रोजगार एंव महिला माथिका भेदभाव हटाउनुपर्ने, र हरेक क्षेत्रमा महिला प्रतिनिधित्व बनाउनुपर्ने जस्ता अधिकारहरु पर्दछन् । तर हाम्रो देशको शिक्षा नीति एंव पद्धती रोजगार मुलक छैन र भएको पनि पाइदैन । यसले गर्दा महिला स्वतन्त्रताका कुरा गफ मै सिमीत हुन पुगेका हुन् । किनभने – स्वतन्त्रता आत्मनिर्भर संग गासिँएको विषय हो । हाम्रो देशमा सिद्धान्तमुखी शिक्षाका कारण केही शिक्षित युवा युवती एंव अशिक्षित युवा वर्गहरु खाडीमूलक र विभिन्न देशहरुमा श्रमिकका रुपमा पलायन भैरहेका छन् । जुन हाम्रा लागि साह्रै लज्जास्पद कुरा पनि हो । तसर्थ महिलालाई रोजगारमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउनुलाई अहिलेको प्रमुख चुनौतिका साथ योजना बनाउनु सरकारको प्रमुख कर्तव्य होकि ? महिलाहरु आत्मनिर्भर भएमात्र अन्य कुराहरुको पनि समस्या समाधान हुने हुदा महिला शिक्षालाई महत्व दिनु अपरिहार्य छ । आजको यो एक्काइसौं शताब्दीको युगमा महिलालाई वेवास्ता गरेर राष्ट्र निर्माण गर्न लागियो भने कदापि अगाडि बढ्न् सम्भव छैन ।

माथि उल्लेखित महिला अधिकारका कुराहरु संविधान सभामा एंव विभिन्न पुरुष, महिला दुवैका कार्यक्रममा समान हकहितका बारेमा विचारहरु उठीरहन्छन् र उठीरहेका पनि छन् । तर संविधानमा लेखिएका कुराहरु र विचारहरुको कार्यन्वयन हुन्थ्यो भने हाम्रो गाउ, समाज, पुरा राष्ट्र नै कति फड्को मारिसक्थ्यो होला ? हामी महिलाहरु समान किसिमले पाउनुपर्ने हकअधिकार बाट बञ्चित र पछाडी छौ किन ? हामी महिलाहरु आफ्नै घर, आफ्नै गाउ, समाजमै सुरक्षित छैनौ, दिनानुदिन महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक एंव बौद्धिक रुपमा विभिन्न घटनाहरु बढीरहेका छन् । यी कुराहरुमा यौन शोषण, महिला हिंशा, बलात्कृत, यातना, दमन, तथा दुव्र्यवहार पर्दछन । यस्ता घटनाहरुबाट दिनानुदिन महिलाको ज्यान जाने गरेको छ । के यस्ता घटनाका दोषीहरुलाई महिलाहरुले कारवाही गर्न नसक्ने हो र सरकार ? नेपालमा महिलामाथि सम्बन्ध बिच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा , घुम्टो प्रथा, देउकी प्रथा, छाउपडी प्रथा, कुटपिट, गालि गलौज, अपहेलना, यातना तिरस्कार, बोक्सीको आरोप, जवरजस्ती करणी, बैवाहिक करणी आदिका, नाममा हिंसा हुने गरेका छन् । नेपाली महिलाहरु हिमाल, पहाड, देखी तराईमधेश सम्म उच्च घरानीया देखी सुकुम्बासी, झुुपडी सम्म, राजनेतादेखी मतदाता सम्म जहाँ सुकै जो सुकैबाट र जहिले पनि हिंसा हुने जोखिममा बाँच्न बाध्य छन् ।

गत बैशाख बाह्र गते गएको विनाशकारी भुकम्पमा ।परी मृत्यु हुनेको संख्यामा पुरुष भन्दा बढी महिला नै रहेका छन् । जसमा ४ हजार ९ सय ५६ जना महिलाले ज्यान गुमाए । भुकम्प प्रभावित क्षेत्रमा अहिले पनि मानिसहरु खुल्ला आकाशमुनि जोखिमपुर्ण जीवन बिताईरहेका छन । ती मध्ये महिला, बालबालिकाहरुलाई यौन शोषण, चेलिबेटी बेचबिखन, जस्ता क्षेत्रमा बढी त्रास छ । केही दलालहरुले प्राकृतिक प्रकोपको वाहनामा झुटा लान्छाना देखाएर महिलाहरुलाई बेचबिखनमा नलगेका पनि होइनन् । तर हामी महिलाहरु यी कुराहरुको समस्याहरुको समाधान, निराकरण गर्ने कुरामा पछि हट्द्छौ किन ? यस्ता घटनाहरुको समस्या समाधानको उपाय अपनाउन के हाम्रो देशमा महिलाको जनशक्ति कम छ र ?

यस्ता हिंसाले समग्र नेपाली समाजलाई मर्माहत बनाउँद्छ । यो देशमा संख्या बढी महिलाकै छ तर उनीहरु कै भागमा अधिकार थोरै छ । तसर्थ – महिला माथि हुने हिंसाको मुल जड पत्ता लगाई राज्यले महिलाको शरीर, श्रम सत्तामाथिको अधिकारलाई सुनिश्चित गर्नु आवश्यक छ । यसैगरी सचेतना कार्यक्रम संचालन गरेर विद्यमान कानुनका बारेमा आम महिलालाई जानकारी गराउनुका साथै तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ । यसका साथ साथै अनुसन्धान गर्न दक्ष महिला प्रहरी, महिला न्यायधिवक्ता, महिला कानुन व्यवसायी, महिला पत्रकार, महिला अधिकारकर्मी, आदी हरेक क्षेत्रमा महिलाहरु नतात्ने हो भने महिलाका अधिकारहरु प्राप्त गर्न असहज छ । यसर्थ पनि महिलाहरुले आफ्ना पिडाहरु सार्वजनिक गर्न पनि पछि पर्छन र भन्न पनि हिच्किचाउँछन् र पारिवारिक, सामाजिक, विभिन्न कुराहरुमा इज्जतको कुराले गर्दा पनि यी समस्याहरु उत्पन्न भएका छन् र कुनै घटनाहरु सार्वजनिक भएपनि उल्टो पिडित हुनुपर्ने स्थिति छ । जसका कारण दोषीहरु पक्राउ गरी कारवाही गर्न सकिएको छैन ।

वास्तवमा हामी महिलाहरुले पाउने हकअधिकारका बारेमा पुरुष, महिलाका हक अधिकार समान हुनुपर्छ भन्ने धारण राखिरहेका छौ । जसमा केही विचारकहरुको सर्मथन भएको छ, भने केही विचारकहरुको समर्थन छैन् । जसका कारण राष्ट्र अगाडि बढ्न सकिरहेको अवस्था छैन ।अब हामी महिलाहरु सरोकारवाला निकायहरु संग आफ्ना हकअधिकारका बारेमा आवाज उठाउनु जरुरी छ ।उठाएर कार्यन्वयनमा ल्याउनका लागी प्रत्येक घरका महिलाहरु शिक्षित भई एकजुट भएर अगाडि बढ्न सक्ने साहस हुनुपर्दछ । राष्ट्र निर्माणमा महिलाको सहभागिता सुनिश्चिता हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण