गृहपृष्ठ » देवदह विशेषनमरी स्वर्ग देखिने तीनवटा माध्यम मध्ये ज्ञान, ध्यान र योग मात्र हो भन्ने मेरो निश्कर्ष छ-

नमरी स्वर्ग देखिने तीनवटा माध्यम मध्ये ज्ञान, ध्यान र योग मात्र हो भन्ने मेरो निश्कर्ष छ-

January 17, 2017३४६ पटक

स्तम्भ – पाठक संवाद

देवदहको साहित्यिक वृत्तमा राम बहादुुर गुरुङ्ग सुपरिचित नाम हो । खासगरी लेखहरु मार्फत् आफ्नो कलमलाई जीवन्त बनाईरहेका उनी एक लगनशील पाठक पनि हुन् । देवदह साप्ताहिकका सम्पादक समेत रहेका उनी तमु भाषाको नियमित रुपमा औपचारिक अध्ययन हुने नेपालकै पहिलो र एक मात्र विद्यालय मदर टङ्ग्स एकेडेमीका प्रिन्सिपल पनि हुन् । विभिन्न सामाजिक संघसंस्थामा रहेर क्रियाशिल उनी पछिल्लो पटक देवदहमा गठित ‘देवदह रिडर्स क्लब’का अभियन्ता पनि हुन् । उनै अध्ययनशील राम बहादुुर गुरुङ्गसंग उनको पठन जीवनसंग केन्द्रित रहेर मैले संवाद गरेको छु । हाम्रो संवाद जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ । – विनोद उदय

प्रश्न : अहिले के पढ्दैहुन्छ ?
उत्तर : कार्ल माक्र्सको पूँजी धेरै पहिला नबुझी नबुझी पढेको थिएँ । अहिले त्यही विश्व विख्यात पुस्तकको सुक्ष्म अध्ययन गर्दैछु ।
प्रश्न : पछिल्लो पटक कुन पुस्तक पढ्नुभयो ? 
उत्तर : भर्खरै जोन हल्टद्वारा लिखित र शरच्चन्द्र वस्तीद्वारा अनुवादित पुस्तक ‘असफल स्कूल’ पढें । शिक्षाको उज्यालो प्रकाशद्वारा जीवन, समाज र राष्ट्र परिवर्तन गर्छु भन्नेहरुले धैर्यताका साथ पढ्नै पर्ने पुस्तक ।
प्रश्न : कस्ता पुस्तक प्रति विशेष रुची छ तपाईको ?
उत्तर: पुस्तकको छनौट समयको छाल सँगै बदलिदो रहेछ । क्याम्पसमा पढ्दा उपन्यास बढी पढिन्थ्यो । त्यसपछि जीवनीहरुमा रुची बढ्दै गयो । विश्वका महान व्यक्तिहरुको जीवनी खोजी खोजी पढ्न थालें । त्यसपछि जीवन रुपान्तरणका लागि आवश्यक उत्प्रेरणात्मक पुस्तकहरु पढ्न थालें । अहिले दर्शन र आध्यात्मिक पुस्तकहरुमा रुचि बढ्दै गएको छ ।
प्रश्न: तपाईलाई सबैभन्दा मनपर्ने लेखक र कृति ?
उत्तर : यस्ता धेरै लेखक र कृतिहरु छन् । कुनै एक दुई जनाको मात्र नाम लिंदा अन्य पुस्तक र कृतिहरुको अपमान हुन्छ कि भन्ने लाग्छ । पछिल्लो समयमा पनि यस्ता धेरै लेखकहरु जन्मिएका छन् । तर विश्व साहित्यको जग हल्लाउने लेखकहरु औंलामा गन्न सकिने मात्र छन् । पाठक कम भएको देशमा कृति र लेखक पनि कम जन्मन्छन् । अबको समय त्यस्तो नहोला । विश्व साहित्य र लेखकलाई टक्कर दिने लेखकहरु जन्मिनु पर्छ ।
प्रश्न : नयाँ पुस्ताका लेखक र पुस्तक नी ?
उत्तर : नयाँ पुस्ताका लेखकहरुका कृतिहरु पनि म उत्तिकै पढ्छु । धेरै अध्ययन र अनुभव प्राप्त लेखकहरुको पुस्तक पढ्दा कहिले काही पुस्तकको संसारमा नै हराईन्छ । भाषा, प्रस्तुती र आधुनिक समाजको चित्रण भएका पुस्तकहरु पुराना पुस्ताको लागि नयाँ हुन सक्छन् । हामी भन्दा हजारौं बर्ष पुराना साहित्यदेखि आधुनिक साहित्यहरुसँग पनि उत्तिकै परिचित हुन जरुरी छ । यसले मात्र तुलनात्मक अध्ययन गहकिलो हुन्छ । एउटा पुस्तामा मात्र सिमित हुँदा राम्रो र नराम्रोको तुलना हुनै सक्दैन ।
प्रश्न : विदेशी साहित्यमा ?
उत्तर : म साहित्य र पत्रकारिताको विद्यार्थी भएकोले अँग्रेजी साहित्य बढी पढ्छु । अहिले ओशोका पुस्तकहरु पढ्न थालेपछि हिन्दी भाषाका पुस्तक तथा साहित्य पनि मन पर्न थालेको छ । नेपाली साहित्यको स्तर कहाँनेर छ भनेर बुझ्न हामीले अन्य देशको साहित्य पनि पढ्न जरुरी छ । अधिकांश विदेशी साहित्य अनुवादित भएर आउँदा रस निचोरेर छोक्रामात्र पाएजस्तो लाग्छ । साहित्यको गहिराईमा पुग्न त वास्तविक भाषामा लेखिएको पुस्तक नै पढ्दा आनन्द आउँछ । अंग्रेजी, हिन्दी र नेपाली बाहेक अन्य माध्यम भाषा छैनन् । त्यसैले अरु अनुवादित नै पढ्नुपर्छ ।
प्रश्न : दोहोराएर पढेका पुस्तक ?
उत्तर : धेरै छन् । त्यस मध्ये खुब मनपर्ने मुना मदन पनि हो । प्रायः उपन्यास र आख्यानका पुस्तकहरु दोहो¥याएर पढ्न मन लाग्दैन । शिव खेडाका किताबहरु म सँधै पढिरहन्छु । गीता पनि धेरै चोटी पढें । जति पटक पढेपनि नयाँ कुरा भेटिने पुस्तक नै गीता हो । उमेर, अनुभव र ज्ञानको क्षितिजसँगै गीताका शब्दहरु फरक भएर जान्छन् ।
प्रश्न : तपाईसंग कति पुस्तक छन् र महिनामा पुस्तकमा कति खर्च हुन्छ ?
उत्तर : म सानै देखि पुस्तक तथा पत्रपत्रिका संकलन गर्थें । तर त्यसको राम्रो व्यवस्थापन हुन सकेन । कतिपय अरुले लगेका पुस्तकहरु फर्केर आएनन् । पुस्तकलाई म अति माया गर्छु । अहिले पनि मसँग एकहजार भन्दा बढी पुस्तक छन् । महिनामा यति खर्च गर्छु भन्ने निश्चित हुँदैन । पहिला म किताबको कभर हेरेर खरिद गर्थें । अहिले लेखक र विषय बस्तु बुझेर खरिद गर्छु । मन पर्दा एकैचोटी पाँच सातवटा पनि किन्छु । समय व्यवस्थापन गर्न गाह्रो छ । त्यसैमा किताबको संख्या र खर्च गर्ने रकम भर पर्छ । अहिले किताबको पनि सामाजिक सञ्जालहरुमा   विज्ञापन राम्रै आउँछ । कतिपय त आवश्यकता भन्दा बढी । गुदी नभएको स्याउजस्तो । कतिपयमा गुदी छ तर प्रचारप्रसार कम छ ।
प्रश्न : पढ्ने बानी कसरी बस्यो ?
उत्तर : म सानै देखि पढ्थें । कक्षामा म सँधै प्रथम हुन्थें । म सानै देखि आफुले जानेको कुरा गाउँका भाइबहिनीहरुलाई सिकाउँथे । पत्रिका किन्न दैनिक एक घण्टा साइकल चलाएर पनि गईन्थ्यो । पछि पेशाले म शिक्षक भएँ । पत्रकारिता पनि गर्छु । संस्थाको नेतृत्व गर्ने मानिस पक्कै पनि अध्ययनशिल हुनै पर्छ । नत्र पछि परिन्छ ।  धेरै सामाजिक संघ संस्थाहरुमा आवद्ध छु । त्यसैले अध्ययन त हुनै प¥यो । यी सबैमा आफु अब्बल हुन पढ्न थालें । पहिला धेरै पढेकोमा म नै जान्ने रहेछु भन्ने घमण्ड हुन्थ्यो । अहिले जति पढ्दै जान्छु उति धेरै जान्न बाँकी रहेछ भन्ने लाग्छ । नयाँ पुस्तक पाउन साथ कतिखेर पढौं झै लाग्छ । झोलामा एउटा पुस्तक त प्रायः हालेकै हुन्छु । अहिले त मोबाईल मै किताब जति पनि अटाउँछन् । नानी देखि लागेको बानी हो भन्नुपर्छ ।
प्रश्न : पढ्नु र नपढ्नुले जिन्दगीमा खास फरक के पार्दोरहेछ ?
उत्तर : जीवन भनेको हाम्रो भोगाइ, अनुभव र वरिपरिको वातावरण मात्र होईन रहेछ ।  म कर्णालीको दुर्गम बस्तीमा पुग्न सकेको छैन । स्टीभ जब्स नाताले मेरो कोही पनि पर्दैनन् । ओशो रजनीशसँग मेरो भेट कहिल्यै भएन । शेक्सपियरले नेपालमा हलो जोतेको देख्ने लक्ष्मी प्रसादको भाषा पहिला म बुझ्दिन थिएँ । नपढ्नुको जीन्दगी रथ तान्ने एक्का जस्तै हो । अध्ययनशिल मानिस भनेको सप्तरंगी इन्द्रेणी जस्तै हो । जीवनको सबै रसहरु अध्ययनमा भेटिन्छन् । आफ्नै कल्पनामा त तपाईं घण्टौं डुब्नुहुन्छ भने अर्काको कल्पनाको संसारमा भ्रमण गर्दा कति आनन्द आउला ? त्यसको स्वाद चाख्न त किताबको दुनियाँमा पस्नै पर्छ । स्टीभ जब्सले एप्पल कम्पनीमा गरेको संघर्ष, विनोद चौधरीले कमाएको नाम र दाम, कर्ण शाक्यको खोज, सोंच र मोज आदि व्यक्तिहरुको गराई र भोगाईले पनि हाम्रो जीवनलाई क्रियाशिल बनाई दिन्छ । त्यसैले सबैले पढ्नुपर्छ भन्छु म त ।
प्रश्न : पुस्तक पढिसकेपछिको अनुभुति सम्झनुस् न ?
उत्तर :जब म पुस्तक पढ्छु, पुस्तकको मुख्य पात्र नै आफु बन्छु । सायद प्रायः सबै पाठक त्यस्तै होला । मुख्य पात्रको सफलतामा आफु रमाउदै गईन्छ र दुःख पीडामा मन भारी हुन्छ र कनिपय बेला आँसु पनि आउँछ । शरीरमा कम्पन छुट्छ र गला अवरुद्ध हुन्छ । कलामा हुने नौवटै रस  म पात्रमा सवार हुन्छ । कतिपय अवस्थामा त पुस्तक सकिन्छ तर आफु भने पुस्तकमा नै अल्झिराखेको हुन्छ । कौतुहलतामा लगेर पुस्तकको बिट मार्ने लेखकहरु प्रति रिस पनि उठ्छ । पाठकको लागि त्यो अन्याय भए पनि ऊ भने सफल लेखक भईसकेको हुन्छ । पुस्तकले कहिले मन हलुको पार्छ भने कहिले भारी पनि बनाई दिन्छ । मेरो अनुभूतिमा पुस्तकका हरेक शब्दहरुको पनि मानिसहरुको जस्तै आकृति हुन्छ । म त्यही आकृति हेरेर कल्पनाको संसारमा सयर गर्छु ।
प्रश्न : नपढ्नेलाई के सुझाव दिनुहुन्छ ?
उत्तर : ज्ञानको सागर विशाल छ । हामी कुवामा बसेर सागरको आयातन मापन गर्न सक्दैनौं । तर मानव मस्तिष्क सबै सागरहरु एकैचोटी खन्याए पनि अटाउने रहेछ । ज्ञानको सागरमा पौडनु भनेको हरेक मनोदशाबाट आफुलाई उतार्नु हो । तपाई जति पढ्नु हुन्छ त्यती नुग्नुहुन्छ तर कहिल्यै भाँचिनु हुन्न । तपाईंको जीवनलाई डो¥याउने मार्ग भनेको नै तपाईसँग भएको ज्ञान हो । ज्ञान अनन्त छ । यसको लागि तपाईंले पढ्नै पर्छ । नमरी स्वर्ग देखिने तीनवटा माध्यम मध्ये ज्ञान, ध्यान र योग मात्र हो भन्ने मेरो निश्कर्ष छ ।
प्रश्न : हामीले देवदहमा भर्खरै रिडर्स क्लब गठन गरेका छौ । तपाई पनि त्यसमा सामेल हुनुहुन्छ । देवदहको पछिल्लो पठन संस्कृतिलाई कसरी हेरिरहनु भएको छ?
उत्तर :देवदहमा पठन संस्कृतिको बिकास भईरहेको छ । यो राम्रो पक्ष हो । यहाँ क्रियाशिल युगीन, अनुराग, कञ्चन दर्पण र उज्यालो लालटिनले बेला बेलामा साहित्यिक व्यक्तित्वहरुलाई देवदह क्षेत्रमा आमन्त्रण गरेर राम्रो कामको थालनी गरेको छ । यसले निरन्तरता पाउनुपर्छ । निरन्तरता पाउन साहित्यलाई सबैले मनपराउनु पर्छ । साहित्यलाई मन पराउन अध्ययन संस्कृतिको बिकास गर्नुपर्छ । यही कार्यलाई सहयोग होस भनेर नै यहाँहरु धेरैले यस रिडर्स क्लबको अवधारणा ल्याउनुभएको होला भन्ने हेतुले म यस क्लबमा आवद्ध भएको हुँ । यसको जस पनि तपाईंहरुलाई नै जान्छ । ज्ञानको फ्युजनबाट महाज्ञानको प्रदुर्भाव हुन्छ भन्ने विश्वासबाट म यो क्लबमा आवद्ध भएको हुँ ।

समाप्त

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण