गृहपृष्ठ » साहित्यकबिता : आत्महत्या – “यम बुद्धमा समर्पित”

कबिता : आत्महत्या – “यम बुद्धमा समर्पित”

January 18, 2017८० पटक

बधाई छ साथी ,
सुटुक्क मिति पला र घडी हेरेर
घाटीमा हरियो पासपोर्ट रुपी डोरी बेरेर
छातिभरि विस्फोट पछिको शून्यता समेटेर
तिमी त यो संसारबाटै परदेसिएछौ ,,
खबर मात्रै पाएको भए
म पनि फूलमाला ,अविर लिएर
अन्तिमपल्ट
विदाइको हात हल्लाउन
जरुर आउने थिएँ….

अचम्म लाग्छ,
आज पनि यो घाम फेरि किन उदाएको !
एकाविहानै चिरविर चिरविर गर्न
यी चराचुरुङ्गीलाई कस्ले पठाएको !
के यिनीहरुलाई तिम्रो बारे केही थाहा छैन…
हाम्लार्ई त केही नभनी गयौ प्यारा
यो घामलाई पनि केही नभनी गएका हौ ??
यी नदीनाला झरनाहरु
किन उसैगरी अझै पनि बगिरहेका छन् !!
मानौ, केही भएकै छैन
मानौ तिमी अझै जीवितै छौ
ए….कोही रोक न हो रोक यिनीहरुलाई
र बताइदेऊ तीतो यथार्थ,,
कोख त रित्तियो रित्तियो आमाको,
रित्तिन बाँकी अब अलिकति खहरे छ
आखाँको कन्दराभित्र,
दुधको भारा नपुगुञ्जेलसम्म
विन्ति बगिरहन देऊ……

र यी फूलहरुसंग पनि सोध्नु
फूलेर झर्दै गरेको बा’को केश र
जल्दै गरेको बूढेसकालको आढेस पछि,
कुन आशाको फूल फूल्न बाँकी रहन्छ !!!
जन्माउनु हुर्काउनु पढाउनु बढाउनु
अनि त्यही हातले दागबत्ती चढाउनु ,,
हे भगवान् !!! भनिदे
यो कतिसम्मको विवशता हो ???
आत्महत्या ! आत्महत्या ! आत्महत्या !
के तैले आजसम्म पशुहरुको
आत्महत्या सुनेको छस् !!!
मान्छेको पोल्टोमा तैले उनेको
यो तेरो कुन सृष्टिको कस्तो व्यवस्था हो ???

साथी , तिम्रो महान गल्ती
आफ्नै आत्माको वध गर्नु भन्दा
१ मिनेट अगाडि
वस् त्यही १ मिनेटको लागि
आफ्नै मृत्युको शोकमा ,,
मौनधारण मात्रै गरेको भए,
सायद आत्मबोध गर्ने थियौ,,
जूनी फेर्न शरीर नै फेर्नु पर्ने थिएन
र कसैले यस्तो दिन हेर्नु पर्ने थिएन ….
खेर, जून तलाई उर्दी छ
तारा भएको मेरो साथीलाइ,
मेरो इच्छाको दबाबमा
यो धर्तीमा फेरी भुलेर पनि नखसालेस् है ,,
किनकि उसले आत्महत्या गरेको हो….

© “ए.पी.” सुमन

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण