गृहपृष्ठ » साहित्यकविता – “बाआमा पुराना हुदैनन”

कविता – “बाआमा पुराना हुदैनन”

January 18, 2017८३ पटक

अघिल्लो दशैँमा किनेको कमिज जस्तो
पुरानो हुदैन बाआमाको अंगालो
गाग्रीमा भरेर राखेको पानी जस्तो बासि हुदैन
बाआमाको आँखाको आँसु
त्यति पुरानो हुदैन बाआमाको हाँसो
जति शान्ती छाउला जस्तो भएको बेला मुस्काएथ्यो देश
आदीम बस्ती जस्तो लथालिङ्ग हुदैन
बाआमाको काख
छुटेका प्रेमिहरूको याद जस्तो
पुरानो हुदैन बाआमाको प्रेम
हरेक पल हरेक क्षण नया हुन्छन
बाआमाका समयहरू।

हिजोको बादल जस्तो कालो कपाल
आज हिमाल जस्तो सेतो भएको छ
हिजोको अनार दाना जस्तो टम्म मिलेका दाँत
आज नाबालक भएका छन
हिजोको सल्लाको रुख जस्तो सिधा ज्यान
आज बाँस जसरी नुघेको छ
केही नलेखी राखेको कपिको पन्ना जस्तो
सलक्क परेको अनुहार
जिन्दगीका सिद्धान्त लेखिएर चाउरी परेको छ
बाआमा परिवर्तनका उदाहरण हुन
जसमा हरेक पल नवीनताले आगमन गर्छन ।

बाआमा त पतझडे रुख हुन
जहाँ हरेक बसन्तले पालुवा फेर्छ
बाआमा कहिल्लै नसुक्ने मुल हुन
जहाँबाट हरेक पिँढिले पुस्तौनी तिर्खा मेट्छ
बाआमा आस्था, बिश्वास ,भरोसा हुन
बाआमा जिवित भगवान हुन
बाआमा समय हुन
बाआमा रितु हुन
जसका आ-आफ्नै महत्व छन।

बाआमा सिमलको त्यो रुख हुन
जहाबाट हरेक छिमलमा
आशाका नया चल्लाहरू उड्छन।

©प्रज्वल अधिकारि 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण