गृहपृष्ठ » साहित्यकविता “कागहरूको शोक गीत”

कविता “कागहरूको शोक गीत”

January 24, 2017३२६ पटक

प्रज्वल अधिकरी

एकाबिहानै
अलि फरक आवाजले कराए कागहरू
गाउँ बीचको घुमाउने चौतारी नजिकैको
खिर्राको बोटमा बसेर ।

कराइरहे काँ! काँ !काँ !काँ!

थाहा छैन मलाई किन कराउछन्
कागहरू अन्धाधुन्ध यसरी ?

मान्छेहरू यसरी कराएको भए
अनुमान लगाउथे
कि बिहानै झगडा पर्यो!
कि मानिसहरू योगा गर्दैछन!
या आन्दोलन सुरु भयो !
कि कुनै नेताले कुर्सी जिते !
या कुनै किरानामा मूल्य वृद्धि भयो!
यस्तै यस्तै अनेक तर्कना गर्थेँ ।

तर
यहाँ कराएका थिए कागहरू
एकाबिहानै एकै स्वरमा ।

केही बेरमा हराए कागहरू ।
दिउँसो भेला भए मानिसहरू
आँ- आफ्ना बिचार लिएर।

बूढापाकाले भने-
बिहानै काग कराउनु अपसगुन हो
त्यसैले हामी तिर्थ यात्रा गर्न गएनौँ।

ब्यपारीहरुले भने-
आजबाट नया काम थालनी गरौँ भनेको
अलच्छिनी कागहरू कराए।

एक हातले नानी
अनि अर्को हातले भातको बटुको समाएर
आफ्ना नानीहरूको कलिलो दुधे ओठ
हेरेर मुस्कुराउदै
आमाहरूले भने-
आज बिहान कराएका कागको आवाज सुनेर
मेरो नानीको बोली फुट्यो!
काखका नानीहरुले
नरम आवाजले “का” “का” गरे ।

म भिडबाट फुत्त निस्केँ र पुगेँ
खिर्राको फेदमा र देखेँ
एउटा सालनाल सहितको
नाबालकको मृत शरीर!

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण