गृहपृष्ठ » बिचार/ब्लगहेल्लो सरकार ! हामी जंगलीले स्थानीय तहको निर्वाचनमा किन भोट हाल्ने ?

हेल्लो सरकार ! हामी जंगलीले स्थानीय तहको निर्वाचनमा किन भोट हाल्ने ?

March 3, 2017२६ पटक

सम्माननीय प्रधानमन्त्री ज्यू,
भूमिसुधार मन्त्री ज्यू,
स्थानीय विकास मन्त्री ज्यू,
स्वास्थ्य मन्त्री ज्यू,
गृहमन्त्री ज्यू,
एक मुष्ट सबैलाई पत्र लेख्दै छु । जिल्ला रुपन्देही, रुद्रपुर गाविस साविकको गजेडी गाविस वडा नं. ९ को तर्फबाट यो पत्र कोर्दै छु । खुला रुपमा अभिवादनको साथमा । रुद्रपुर जिल्लाको सबै भन्दा कान्छो गाविस । अहिले पनि नेपालको नक्सामा सानो छिद्रबाहेक केही देखिँदैन् । सबै वन हो । हो हाम्रा पूर्खाले यही वनकोबीचमा बस्ती बसालेका हुन् । त्यही वनमा अहिले ठूला कंक्रिट विल्डिङ बनेको छ । यही वनको बीचमा हुर्किएको हुँ म । मलाई अलिकतिमात्र याद छ । सानैमा पहाड देखि यो वनको बीचमा हिड्दै मेरा बाआमाहरु यहाँ पुगेका हुन् । मलाई मैले पनि कतिपटक यो जंगलको बीच यात्रा गरेको छु आफ्नो बस्ती पुग्नका लागि । पहिलो पटक मलाई याद छ । म दुई कक्षामा पढ्दै गर्दा विहान बेलुका एउटा बस लाग्थ्यो यही जंगलको बीचमा कोरिएको फायरलाई जुन बाटोमा परिणत भयो । धुलो उडाउँदै गुड्थ्यो । त्यसैमा यात्रा गरेको बुटवल सम्म । ९ रुपैयाँमा बुटवल पुगिन्थ्यो अहिले झण्डै ८० रुपैयाँ पुगेको छ । यसबीचमा यो मंहगाई हामीले वेहोरिसकेका छौँ । यही वनमा बसेर मेरा बाले २०५१ सालको २०५४ सालको संसदीय चुनावमा मत खसाले २०५६ सालको स्थानीय निकायको चुनावमा पनि मत खासाले । त्यस भन्दा अगाडिको मलाई याद छैन् । मैले पनि यही सुकुम्वासी बस्तीमा बसेर दुई पटक सभासदहरु चुनेर पठाएँ । पहिलो पटक २०६४ सालमा । दोस्रोपटक २०७० सालमा । यसबीच संविधान बन्यो । विकास गर्छु भन्दै सांसद बनेर गएकाहरुले फर्केर हेरेनन् । हामीसँग घर छ । उब्जनी गर्ने जमिन छ । तर पनि हामी सुकुम्बासी हौँ । हाम्रो हामीसँग भएको जग्गा जमिन र घरको कुनै प्रमाण छैन् । तर पनि हामीले सरकारलाई वर्षेनी तिरो तिरी रहेका छौँ ।मलाई याद छ, म कक्षा चारमा पढ्दै गर्दा एक पटक नाम मात्रको नापी आएको थियो । त्यतिवेला जग्गा नापेर एउटा सानो चिर्कटोमा एउटा नम्वर दिएको थियो । कित्ता नम्बर रे । त्यो चिर्कटो हराउँछकी भनेर ढोकामा टाँसेको मैले नै हो । अहिले त्यो ढोका फेरी घरका रंगहरु कति दसैँमा फेरियो तर अँह लालपूर्जा भने आएन् ।२०७२ सालमा फेरी भूमिसुधार आयोगले लालपुर्जाका भन्दै हामीलाई झुक्यायो । गाँउमा टाँठाबाठाले प्रत्येक घर धुरीबाटा पाँचपाँच सय रुपैयाँ उठाए लालपूर्जा ल्याइदिने भन्दै । अहँ आएन् । त्यतिखेर ६ हजार ४ सय घरधुरीले लगत संकलन फाराम भरेका थिए । अदालतले रोक्का गरेपछि त्यो प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् ।पटक–पटक लालपुर्जाका लागि भन्दै नापी भए । त्यसपछि कैयौँ पटक ती जग्गाहरु एउटा कागजको खोष्टोमा नामसारी भइसकेका छन् । हिजो नापी हुँदा जसको घर थियो त्यहाँ आज अर्कैको छ ।यहाँ पञ्चायतकाल देखि नै बस्ती बसेको हो । इतिहासले यही भन्छ ।

२०३७ साल अगाडि देखि यहाँ राजनीति चलेको छ । पञ्चायत हटाउनका लागि राजनीति भयो । राजा फाल्ने आन्दोलनमा म पनि यहाँको धुलाम्मे सडकमा नारा लगाउँदै हिँडेको हुँ । अहिलेसम्म यहाँ लालपूर्जाको नाममा राजनीति भयो । सांसद बनेर गए । नेता बनेर उत्रिए । तर लालपूर्जा ल्याउन भने सकेनन् ।

हामी जनतालाई मिठो नारा दिएर नेता बन्न पल्केका हरु सुकुम्बासीका नाममा हुकुम चलाइरहेका छन् । अब सुकुम्बासी कसलाई भन्ने यहाँ विवाद पनि होला । हुन त तपाईँलाई यस वारेमा थाहा पनि होला तर पनि उल्लेख गर्दै छु । नेपाली शब्दकोषले के भन्छ भने, आफनो स्वामित्वको प्रमाणबिना सरकारी जग्गामा घरबास बनाई भोग चलन गरिआएका व्यक्तिहरु सुकुम्बासी हुन् । हो हामी त्यही सरकारी जग्गामा पुस्ता व्यतित गरिसकेका छौँ । २०५२ सालमा सरकारले दिएको परिभाषा अनुसार सुकुम्बासी भन्नाले जीविकाको लागि कुनै ठोस विकल्प नभएका, आफनो वा आफनो परिवार अंशियारको नाम वा कब्जामा कुनै घर वा जग्गा नभएका वा आफनो वा परिवार अंशियारको नाममा घर वा जग्गा जोड्न सक्ने कुनै साधन, स्रोत नभएका भूमिहीन तथा निस्सहाय (कृषि मजदुर, कमैया, हली, हरुवा, चरुवा आदि) व्यक्ति र दैवीप्रकोपबाट घर(जग्गाविहीन हुन पुगेका व्यक्ति एवं निजप्रति आश्रति परिवारका सदस्यसमेतलाई जनाउँछ । हामी पनि त्यस्तै छौँ । हामीसँग अहिले जग्गा छ तर आफ्नो छैन् । हामीसँग घर छ तर आफ्नो नाममा छैन् । बेलाबेलामा बैज्ञानिक भूमि सुधारको कुरा उठ्छ । रुद्रपुरेबासीको मनमा लड्डु फुटछ्छ । लड्डु फुट्छ छरिन्छ तर जिब्रोले मिठो स्वाद चाख्न पाउँदैन् । हो हामी त्यस्तै भएका छौँ । अब म रुद्रपुरको बारेमा केही जानकारी दिन चाहन्छु । विकासका पूर्वाधारले औषत रुपमा अगाडि छ । तर हामीसँग स्रोत हुँदा हुँदै पनि परिचालन गर्ने पहिचान छैन् । हामीसँग मुख्य सडक छ, महेन्द्र राजमार्गलाई लुम्विनी जोड्ने । विद्युतको सुविधा कुनाकुनामा पुगेको छ । शैक्षिक क्षेत्रमा अग्रणी छौँ हामी । एउटा बहुमुखी क्याम्पस छ । पाँच वटा उच्च मावि छ । मावि ६ वटा छन् । यी सबै सैक्षिक संस्थाहरु तपाईँको नक्सामा जंगलमा छन् । एउटा उपस्वास्थ्य चौकी छ । त्यो पनि नक्सामा जंगलमा नै छ । यहाँको इलाका प्रहरी कार्यालय पनि तपाईँको नजरमा जंगलमा नै छ । जंगलकै भूमिमा बनेको छ गाविस भवन । विकासका लागि छुट्यार्ईएका रकम हाम्रा लागि थिए । तर हामीसँग त्यो रकम लिन लालपूर्जा छैन् ।रुद्रपुर स्वास्थ्य चौकीको भवन निर्माणका लागि जनस्वास्थ्य कार्यालयमार्फत विनियोजन भएको बजेट समेत लालपूर्जाकै कारण रोकिएको छ । प्रधानमन्त्रीको रुपमा तपाईँ प्रचण्ड सत्तामा आसिन हुँदै गर्दा गाँउ गाँउमा चिकित्सक पठाउने उद्घोष गर्नुभएको थियो । अब तपाईँले पठाउने भनेका चिकित्सक कहाँ पठाउने गाँउमा की जंगलमा तपाईँले सोच्नुपर्छ । तपाईँका कार्यकर्ताहरु भोट माग्न जंगल पस्नेकी गाँउ ?

स्वास्थ्यमन्त्री गगन थापा ज्यू, तपाईँले भन्दै आएको स्वास्थ्य क्षेत्रको सुधार कसरी अगाडि बढ्न सक्ला । यहाँका करिब ४६ हजार जनसंख्या भएको बस्तीमा सुविधासम्पन्न स्वास्थ्य चौकी बन्न सक्दैन भने । भूमिसुधार मन्त्री विक्रम पाण्डे ज्यू । तपाईँ मन्त्री भइसके पछि आफ्नो गृहजिल्लामा पुगेर सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने कुरा धेरै गर्नुभयो । एक पटक रुद्रपुर तिर पनि नजर लगाउने की ?

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे ज्यू, यतिवेला तपाईँ स्थानीय तहको सिमा निर्धारण गर्दै हुनुहुन्छ । तपाईँले अब यसलाई मध्येनजर गर्नेकी नगर्ने ? रुद्रपुरका करिब ९० प्रतिशत जग्गाको लालपुर्जा छैन । गाउँ विकास समिति रहेको जग्गाको समेत लालपुर्जा छैन । तपाईँकै प्रतिनिधिको रुपमा रहेको गाविसका सचिव कृष्ण प्रसाद पन्थीलाई तपाईँले सोध्दा हुन्छ उहाँ कहाँ बसेर सरकारी काम गर्दै हुनुहुन्छ ? जंगलमा की गाँउमा । स्थानीय तहको सीमा निर्धारण गर्दा यसको जनसंख्या २० हजारको हाराहारीमा राखिएको छ । २०६८ को जनगणनालाई हेरेर अहिले जनसंख्या करिब ४५ हजार नाधेको गाविसको तथ्यांकले देखाउँछ । भौतिक पूर्वाधारका आधारमा भन्ने हो भने नगरपालिका हुने हैसियत राख्छ रुद्रपुर तर पनि राज्यले वेवास्ता गर्दा सुकुम्बासीको विल्ला भिरेर बसेका छौँ हामी । हामीले यहाँ ठूला व्यापार, उद्योग चाहेर पनि सञ्चालन गर्न सक्दैनौँ । त्यसको अनुमति हामीले पाउन सक्दैनौँ । हामीसँग धेरै छ सम्भावना पनि धेरै छ । तर धेरै हुँदा हुँदै पनि हामीसँग केही छैन् । हामीसँग वित्तिय कारोवारका लागि धरौटी राख्ने एउटा कागजको खोष्टो छैन् । त्यही कागजको खोष्टोको पर्खाइमा एउटा पुस्ता वितिसक्यो । अर्को पुस्ता पनि उत्तरार्धमा छ । म तेस्रो पुस्ताको हुँ । मेरो भावि पुस्ता पनि जन्मिसकेको छ । तर लालपूर्जा जन्मिन सकेन् । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल पुगेर नेकपा एमालेकाे क्षेत्रीय सम्मेलनमा भाषण गरेर अाए । जंगलमा बनेकाे श्री लुम्विन ज्ञान निकेतन उच्चमाविकाे जंगली भूमिमा पुगेर उनले भाषण गरे । उनी त्यहाँ उत्रिएको हेलिकप्टरले धुलो उडायो तर लालपूर्जा दिलाएन् । गत महिना मात्र हरैयाँ उच्च माविकाे वार्षिकोत्सवमा राष्ट्रपति विद्या भण्डारी पुगेर भाषण गरिन तर पनि लालपूर्जा पुगेन् ।

हेल्लो सरकार यो गाँउपालिका र नगरपालिकाको होडवाजी चल्दै गर्दा हामी कहिले सम्म सुकुम्बासी भइ बस्ने ?
रुद्रपुरको सुकुम्बासी
अल्टर कान्छो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण