गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षाविदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा अनुमति पाउने

विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा अनुमति पाउने

September 10, 2015३०५ पटक

२४ भदौ, काठमाडौं । विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा सञ्चालन अनुमति पाउने भएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका पहिलो संशोधन गरी शिक्षा मन्त्रालयले अनुमतिमा कडाइ गरेको हो । निर्देशिकामा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूको जुनसुकै समयमा पनि अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

education-ministryअनुगमनका क्रममा कुनै कागजात नदिएमा वा तोकिएभन्दा कम गुणस्तरीय शिक्षा प्रदान गरेको पाइएमा त्यस्ता शैक्षिक संस्थाको अनुमति खारेज गर्ने व्यवस्थासमेत निर्देशिकामा छ । निर्देशिकाको परिच्छेद १ को प्रारम्भिकको संशोधित व्यवस्थामा भनिएको छ, ‘विदेशी शिक्षण संस्था’ भन्नाले सम्बन्धित देशको प्रचलित कानुनबमोजिम स्वीकृति–गुणस्तर सुनिश्चितता प्राप्त गरेको विश्वविद्यालय वा शिक्षण संस्था सम्झनुपर्दछ ।’ शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले नेपालमा स्तरीय कार्यक्रममा आऊन् भन्ने उद्देश्यले निर्देशिका संशोधन गरिएको बताए ।

निर्देशिकमा केही संशोधन र केही कुरा थप गरिएको उनको भनाइ छ । सकेसम्म नेपालकै विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिने निर्देशिकाको उद्देश्य रहेको पनि डा. लम्सालले जानकारी दिए । उनका अनुसार विदेशी शैक्षिक कार्यक्रम आउन चाहेमा कुनै विश्वविद्यालयसँग सम्झौता गरेको हुनुपर्ने र गुणस्तरीय विश्वविद्यालयका गुणस्तरीय कार्यक्रम मात्र नेपालमा आउन पाउने उनले बताएको नयाँ पत्रिकामा खबर छ ।

‘अब नेपालमा आउने कार्यक्रम सोही देशमा गुणस्तर प्रत्यायन भएको हुनुपर्छ,’ प्रवक्ता डा. लम्सालले भने, ‘यसअघि जस्तासुकै शैक्षिक संस्थाका कार्यक्रम पनि नेपाल भित्रिएका थिए ।’ यसअघि विदेशमा नचिनिएका शिक्षण संस्थाले नेपालमा आएर धेरै विद्यार्थीलाई झुक्याउने गरेको भेटिएपछि मन्त्रालयले नयाँ व्यवस्था गरेको हो । निर्देशिकामा निरीक्षण र अनुगमनलाई प्राथमिकता दिइएको छ । ‘मन्त्रालयले खटाएको अनुगमन टोलीले आवश्यक देखेको जुनसुकै अभिलेख उपलब्ध गराउनु शिक्षण संस्थाको कर्तव्य हुनेछ,’ नयाँ निर्देशिकामा भनिएको छ, ‘त्यस्तो अभिलेख उपलब्ध नगराएमा मन्त्रालयबाट प्रदान गरिएको सञ्चालन अनुमति खारेज गर्न सकिनेछ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण