सर्वाधिक पुरस्कार राशीको कविता प्रतियोगिता हुने ।
काठमाडौं, २५ असार । आगामी भदौ २३ गते शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निख्खारता ल्याउने र नेपाली साहित्यमा नयाँ पुस्ताको खोजी गर्ने उद्धेश्यले कक्षा ८ देखि १२ सम्मका देशभरका इच्छुक विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने आयोजक उषा मिडिया प्रा.लि अन्तर्गत सँचालन भएको अनलाईन रेडियो नेपालीको अनलाईनले जनाएको छ । नेपालीको अनलाईनले शनिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै विद्यालयस्तरबाट नै नेपाली साहित्यमा लाग्ने अभिप्रेरणा दिलाउन प्रतियोगिता गर्न लागेको जनाएको छ । देशभरका विद्यार्थीहरु यस कार्यक्रममा सहभागी गराउने उद्धेश्य रहेको र विद्यालयस्तरको कविता प्रतियोगितामा अहिलेसम्म कविता प्रतियोगितामा दिइदै आएको भन्दा बढि रकमको पुरस्कार राशी रहने उषा मिडिया प्रा.लि.अन्तर्गत सँचालन भएको नेपालीको अनलाईका कार्यकारी प्रमुख एवं नेपाली चलचित्रका अभिनेता निर्मल सेञ्चुरीले बताए । उनले भने, ‘देशभरबाट विद्यार्थीले प्रतिस्पर्धा गर्नसक्ने भएकाले पुरस्कार राशी हामी चित्तबुझ्दो नै राख्नेछौँ । हामीले बुझेसम्म कविता प्रतियोगितामा विजेताले अहिलेसम्म ५० हजार रुपैया भन्दा बढि नपाएको भेटिएको छ । हामी अझै बुझेर यो भन्दा बढि नै पुरस्कार राशीका साथ प्रतियोगिता गर्नेछौँ ।’ साथै चलचित्र अभिनेता सेञ्चुरीलाई उषा मिडिया प्रा.लि. अन्तर्गत सँचालन भएकोे नेपालीको अनलाईनमा कार्यकारी प्रमुखमा केहि हप्ताअघि नियुक्त गरिएको उषा मिडियाका अध्यक्ष चन्द्र नेपाल ‘विकल्प’ ले बताए । उनले भने, ‘नेपाली चलचित्रका अभिनेता सेञ्चुरीलाई यस संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरिएको छ । हामी कविता प्रतियोगितापछि चलचित्रसँग सम्बन्धित कार्यक्रम पनि गर्नेछौँ ।’ पत्रकार भेटघाटमा अभिनेता सेञ्चुरीले आफुले आगामी महिनादेखि दुबईमा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । दशैँलगत्तै नयाँ चलचित्र निर्माणमा लाग्ने बताउदै उनले चलचित्र, व्यवसायसँगै समाजसेवातर्फ आफू लागिपर्ने बताए । यस्तै कार्यक्रममा चलचित्र कर्मि गजेन्द् सञ्जित, कबि तथा गितकार रिञ्जीसागर राई लगाएतको उपस्थिती रहेको थियो ।