गृहपृष्ठ » अन्तर्राष्ट्रिय, समचार, स्वास्थ्यकुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

August 16, 2017१० पटक

ज्ञानेश्वर भण्डारी/नवलपरासी

 श्रोत – उज्यालो नाइण्टी नेटवर्क

 

साउन ३२ – कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको बर्दघाट नगरपालिका १२ का भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेको छ । १४ महिना अघि कुवेत पुगेका भागिरथ सडक दुर्घटनामा परेपछि अस्पतालमा हुनुहुन्छ ।

 

उहाँलाई घर फर्काउने पैसा जुटाउन लागि परेका नेपालीसँगै परिवारले सहयोगका लागि अपिल गरेको हो । दुर्घटनापछि कुवेतको आदन अस्पतालमा पु¥याइएका भागिरथलाई लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमाल सहितका नेपालीले सहयोग गरेका थिए । ‘उहाँको पासपोर्ट थिएन, भिसाको म्याद पनि सकिएको रहेछ । दूतावासको सहयोगमा पासपोर्ट र साहुको सहयोगमा भिसाको म्याद पनि थपेका छौं अब उहाँलाई घर फर्काउन सबैको सहयोगको खाँचो छ,’ हमाल भन्नुहुन्छ । दुर्घटनामा भागिरथका दुवै खुट्टा दुई तीन ठाउँमा भाँचिएको छ । साथै फोक्सोमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ । उहाँलाई नेपाल फर्काउन डाक्टर र नर्स सहितको एयर एम्बुलेन्स चाहिने अस्पतालले जनाएको छ । त्यसका लागि तीन हजार कुवेती दिनार अर्थात झण्डै १० लाख रुपैयाँ चाहिने भएको भागिरथका भाइ दानबहादुरले बताउनुभयो । लुम्बिनी सेवा समाज सहित नेपालीले अहिलेसम्म दुई हजार दिनार अर्थात सात लाख रुपैयाँ सङ्कलन गरेपनि अझै एक हजार दिनार जम्मा गर्न सबैको सहयोग आवश्यक रहेको उहाँले जानकारी दियो ।

 

ऋण तिर्ने पैसा कमाउन कुवेत

 

भागिरथलाई दुई छोरा सहितको चार जनाको परिवार चलाउन मुस्किल थियो । त्यसैले केही गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका भागिरथलाई विदेश पठाउने दलालले विदेश जाने मान्छे खोज्न भने । मान्छे खोजे बापत उनलाई कमिसन दिने ती एजेण्टको प्रस्ताव थियो । मान्छे खोज्दा नै पैसा आउने भएपछि उहाँले गाउँबाट विदेश जाने व्यक्ति खोज्न थाल्नुभयो । भागिरथले खोजेका ६/७ जनाबाट झण्डै १५ लाख रुपैयाँ लिएका दलाल विदेश नपठाइ भागेपछि भागिरथको जीवनमा मात्रै होइन परिवारमै सङ्कट आइपर्‍यो । विदेश जान ठिक्क परेकाहरुले आफूहरुले भागिरथले भनेर पैसा दिएकाले भागिरथले नै पैसा फिर्ता दिनुपर्छ भन्दै प्रहरीमा निवेदन दिए ।

 

उनीहरुको पैसा फिर्ता गर्ने उपाय भागिरथसँग थिएन । उहाँको परिवारसँग एक कठ्ठा भन्दा धेरै जमिन थिएन । त्यसैले त्यही जमिन जिम्मा लाइदिनुभयो । जसरी पनि तिर्नुपर्ने भएपछि भागिरथकी श्रीमती रजिताले चाहिँ विदेश जाने निधो गर्नुभयो । उहाँ कुवेत जानुभयो । घरको काममा गएकी रजिताले केही कमाउनुभयो अनि लागेको ऋण तिर्नुभयो । तर ऋण तिरेर मात्रै हुने अवस्था थिएन भागिरथको परिवारलाई । त्यसैले रजिताले श्रीमालाई पनि कुवेत लानुभयो । कुवेतमा भागिरथले सेक्युरिटी गार्डको काम गर्नुहुन्थ्यो । श्रीमान् पुगेको झण्डै ६ महिनापछि रजितालाई साहुले कुवेतबाट ६ महिनाका लागि साउदी पुर्‍यायो । रजिता साउदीमै भएका बेला श्रीमानको दुर्घटना भयो । तर रजिताले भने ढिलो गरी मात्रै थाहा पाउनुभयो । भागिरथ दुर्घटनामा पर्दा उहाँका जेठा छोरा पनि भर्खरै कुवेत पुग्नुभएको थियो । सबै लागेर कमाउँदा केही गर्न सकिएला कि भन्ने आशमा रहेकी रजिताले श्रीमालाई पनि कुवेत लानुभयो । कुवेतमा सेक्युरिटी गार्डको काम पाएका भागिरथको कमाई ठिकै थियो । तर कुवेत पुगेको सात महिनामै दुर्घटनामा परेपछि अहिले अस्पतालमा हुनुहुन्छ । ‘दुई महिनासम्म त उहाँ बेहोस नै हुनुहुथ्यो रे त्यही भएर आइसियुमा राखेपनि अहिले चाहिँ उहाँलाई जनरल वार्ड सारिएको छ ’ दानप्रसादले भन्नुभयो । ऋणमाथि ऋण दलालले दिएर भागेको पैसा तिरे पनि अहिले अर्को ऋण थपिएको छ भागिरथको परिवारलाई । घरमा रहेका जेठो छोराले चलाएको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपरेपछि ऋण माथि ऋण थपिएको छ । मृतकका परिवारलाई गाउँमै आफन्तहरुबाट ऋण लिएर तिरेपनि त्यो ऋण जस्ताको तस्तै छ । भागिरथलाई कुवेतमा रहेका नेपालले घर पठाउन सहयोग सङ्कल गरिरहेपनि उहाँलाई नेपाल ल्याएर पनि उपचार गर्ने स्थिती नरहेको भाई दानप्रसादको भनाई छ । ‘हात खुट्टा नै त्यस्तरी भाँचिएका छन् अनि फोक्सोमा पनि समस्या भएकाले उपचार गर्न कति खर्च लाग्ने हो अनि कसरी जुटाउनु । उपाय केही छैन’ दानप्रसाद भन्नुहुन्छ ।

 

 श्रोत – उज्यालो नाइण्टी नेटवर्क

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण