गृहपृष्ठ » समाचारहरु, साहित्यकबिता

कबिता

September 9, 2017० पटक
मलाई माफ गर
सुहागरातमा लजाएर शिर झुकाउनुको साटो
पारिवारिक योजना र व्यवस्थित भविष्यबारे
बहस गरेँ
तिमीलाई निद्रा लाग्दा आफ्नो रहर पोखेँ
कहिल्यै सम्झिनँ कि
तिम्रो मर्दाङ्गी भित्र म विलिन हुनुपर्छ
न त बिहान तिमी भन्दा पहिले उठेँ
न चिया पुर्याएँ तिम्रो बिछ्यौनासम्म
न त स्नानकक्षमा तौलिया पुर्‍याएँ !
तिमीले मर्दका दशवटी भनेर बोल्दा
म विरोधमा उत्रिएँ
डराइन तिम्रा आँखासँग,
सर्माइन तिम्रा अधरसँग,
कहिल्यै पिइनँ तिम्रा पाउको जल,
कहिल्यै बसिनँ तिम्रो दिर्घायूको निम्ति निराहार,
सदैव साथी बनेँ ,अर्धाङ्गिनी बनिनँ !
मैले पकाएको भातमा सधैं तिमीले
पकाएको तरकारी मिसियो
तिमीलाई कहिल्यै खाना खान पर्खिनँ
न त खाएँ तिम्रो थालमा नै
नानी रुँदा मसँगै तिमीलाई पनि रुनुपर्यो
तिमीले पखाल्नुपर्यो मैले साबुन लागाएका
कपडा
मिलाइन तिमी सुतेको बिछ्यौना
लगाइदिइन कपडामा स्त्री
कुरेर बसिन सोह्र शृङ्गारसहित तिमी फर्कने बेला
ढिला फर्किँदा छोडिरहेँ प्रश्नहरुको बाण !
तर
सुधारिदिएँ तिम्रा
विचारका वर्णमाला
मेटिदिएँ अँध्यारा भावना
फेरिदिएँ सपनाको रङ्ग
उतारिदिएँ लोकाचारको धोती
च्यातिदिएँ अहमको पर्दा
चिरिदिएँ कुचलनको मुटु
लागाइदिएँ सौहार्दताको चिसो मल्हम !
तर
कहिल्यै केही गरिनँ
तिम्रो अपेक्षा अनुसार,
म कलियुगमा जन्मिएँ
मलाई माफ गर प्यारा !
© सरु सुधा
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण